तीज मनाइरहेका छौँ कि तीजको नाममा आफूलाई प्रदर्शन गरिरहेका छौँ?
त्रिविक्रम नेउपाने
ल्यानक्यास्टर,पेन्सिल्भेनिया / तीज नेपाली समाजको एउटा यस्तो पर्व हो, जसलाई केवल एउटा धार्मिक वा सांस्कृतिक उत्सव भनेर बुझेर पुग्दैन। तीजसँग हाम्रा आमा–हजुरआमाका कथा जोडिएका छन्, माइतीको बाटो जोडिएको छ, दिदीबहिनीको भेटघाट जोडिएको छ, वर्षौँदेखि मनमा थन्किएका सुख दुःख पोख्ने अवसर जोडिएको छ।
तीज आउनु भनेको कुनै एउटा दिन पात्रोमा थपिनु मात्र थिएन; तीज आउँदा गाउँको वातावरण नै बदलिन्थ्यो।
घर आँगनमा चहलपहल बढ्थ्यो, टाढा भएका आफन्तलाई बोलाउने तयारी हुन्थ्यो र वर्षभरि भेट्न नपाएका मानिसहरू एकअर्काको घरमा पुग्थे। त्यो समय साधन कम थियो, तर सम्बन्ध बलिया थिए; सुविधा कम थियो, तर खुसी बाँड्ने मन प्रशस्त थियो।
हिजोको तीज सम्झिँदा सबैभन्दा पहिले अभावभित्र पनि बाँचेको त्यो खुसी सम्झिन्छु। खरको छानो भएको घर थियो, घरभित्र धेरै सामान थिएनन्, भान्सामा सधैँ प्रशस्त अन्न नहुन सक्छ, तर तीज आउँदा मनमा एउटा छुट्टै उत्सव हुन्थ्यो।
तीन दिन पुगोस् भनेर जोगाएर राखेको अन्नले एक दिन काटिन्थ्यो। वर्ष दिनमा नयाँ लुगा पाउनु ठूलो कुरा हुन्थ्यो। राति चामलमा पानी थपेर, त्यसमा नुन वा प्याज मिसाएर खाँदा पनि त्यो खाना परिवारसँग बसेर खाँदा मीठो लाग्थ्यो।
आज हामीसँग रोजेर खाने धेरै कुरा छन्, तर कहिलेकाहीँ लाग्छ, त्यो अभावको खानामा मिसिएको आत्मीयताको स्वाद भने अहिलेको प्रशस्ततामा भेटिँदैन। तीजको वास्तविक खुसी पाहुनाको आगमनसँग जोडिएको हुन्थ्यो। बाबा फुपू लिन जानुहुन्थ्यो।
फुपू आउँदा घरमा नयाँ कथा आउँथ्यो, नयाँ हाँसो आउँथ्यो, नयाँ चहलपहल आउँथ्यो। फुपूले आफ्ना दुःख सुख सुनाउनुहुन्थ्यो, आमाले पनि आफ्ना मनका कुरा खोल्नुहुन्थ्यो। मामा आमालाई लिन आउनुहुन्थ्यो।
केही दिनका लागि भए पनि आमा फेरि आफ्नै माइतीकी छोरी बन्नुहुन्थ्यो। त्यतिबेला नाता केवल बोलाउने शब्द थिएन; नाता भनेको दुःखमा पुग्नु, खुसीमा सहभागी हुनु, बाटो लाग्दा साथ दिनु र वर्षौँसम्म सम्झिरहनु थियो।
मधेसदेखि पहाडसम्मका आफन्तहरू तीजलाई भेटघाटको अवसर बनाउँथे। कसैले चुरा ल्याउँथ्यो, कसैले पोते, कसैले झुम्का, कसैले आफ्नै खेतबारीको कोसेली। सामान सानो हुन सक्थ्यो, तर त्यसको भाव ठूलो हुन्थ्यो। आज बजारमा सबै कुरा सजिलै किन्न सकिन्छ।
पैसा तिरेपछि मनपरेको सामान घरमै आइपुग्छ। तर पहिले टाढाबाट कसैले आफ्नो हातले बोकेर ल्याएको एउटा सानो कोसेलीमा बाटोभरिका थकान, सम्झना र माया मिसिएको हुन्थ्यो। त्यसैले त्यो सानो वस्तु पनि वर्षौँसम्म मनमा बसिरहन्थ्यो। त्यो समय तीजका गीतहरू पनि केवल गीत थिएनन्। गीतभित्र जीवन थियो।
महिलाहरूले आफ्नो मनका कुरा गीतमार्फत सुनाउँथे। घरका दुःख, माइतीको सम्झना, श्रीमान्सँगका गुनासा, परदेशिएका प्रियजनको प्रतीक्षा, परिवारप्रतिको माया र समाजका अनेक अनुभूति तीजका भाकामा मिसिन्थे। एउटीले गीत सुरु गर्थी, अर्कीले समात्थी, अनि आँगनमा बसेका सबैको मन एउटै लयमा जोडिन्थ्यो।
कसैले कलाकार बन्न खोजेको थिएन, कसैले दर्शक बन्न खोजेको थिएन। त्यो आफ्नै जीवनको कथा थियो, आफ्नै मानिसहरूको बीचमा सुनाइएको। तर आजको तीज हेर्दा हामीले केही गम्भीर प्रश्न पनि गर्नुपर्ने समय आएको छ। आज तीज पहिलेभन्दा धेरै भव्य भएको छ।
महँगा सारी, गहना, मेकअप, ठूला कार्यक्रम, होटलका भोज, स्टेज, म्युजिक र सामाजिक सञ्जालले तीजलाई नयाँ रूप दिएका छन्। यसमा खराबी छैन। समय बदलिन्छ, संस्कृति पनि बदलिन्छ। नयाँ पुस्ताले नयाँ शैलीमा रमाउन पाउनु स्वाभाविक हो।
समस्या आधुनिक हुनुमा होइन; समस्या आधुनिकताको चमकभित्र तीजको आत्मा हराउँदै गएको हो कि भन्ने चिन्तामा छ। आज तीजमा हामीसँग सजिनका लागि धेरै विकल्प छन्, तर एकअर्काका लागि समय कम छ।
हामीसँग टाढा भएका आफन्तलाई तुरुन्त भिडियो कल गर्ने सुविधा छ, तर एउटै घरमा भएका मानिससँग मन खोलेर कुरा गर्ने समय छैन। हामी सामाजिक सञ्जालमा सयौँ जनालाई तीजको शुभकामना पठाउँछौँ, तर आमाको छेउमा बसेर उहाँको हात समातेर केही बेर कुरा गर्न भ्याउँदैनौँ। हामी तीजका सुन्दर तस्बिर राख्छौँ, तर ती तस्बिर खिच्नुअघि र पछि परिवारसँग बाँडिएको वास्तविक समय कति छ भनेर सोच्दैनौँ।
आजको तीजमा एउटा अर्को परिवर्तन पनि देखिन्छ। पर्वभन्दा प्रदर्शन ठूलो बन्ने खतरा। कुन सारी महँगो, कुन गहना आकर्षक, कुन ठाउँको कार्यक्रम भव्य, कसको फोटो राम्रो र कसको भिडियो धेरै मानिसले हेरे भन्ने कुराले कहिलेकाहीँ तीजको मूल भावनालाई पछाडि पारिरहेको देखिन्छ। सामाजिक सञ्जालमा आफ्नो खुसी बाँड्नु गलत होइन।
सजिनु, रमाउनु र नाच्नु पनि तीजकै सुन्दर पक्ष हुन्। तर जब पर्वको सफलता सम्बन्धको न्यानोपनले होइन, प्रदर्शनको स्तरले मापन हुन थाल्छ, त्यतिबेला हामीले आफूलाई एकपटक रोक्नुपर्छ। तीजमा गीत गाउनु राम्रो हो, तर गीतभित्र आफ्नो समाजको आवाज पनि हुनुपर्छ।
नाच्नु राम्रो हो, तर नाचसँगै आफ्नो संस्कृति पनि पुस्तान्तरण हुनुपर्छ। सुन्दर कपडा लगाउनु राम्रो हो, तर त्यस कपडाभन्दा सुन्दर व्यवहार हुनुपर्छ। भोज गर्नु राम्रो हो, तर त्यही भोजको टेबलमा एक्लै बसेको कुनै वृद्ध आमाबुबालाई पनि सम्झिनुपर्छ।
आफ्ना लागि गहना किन्नु राम्रो हो, तर आर्थिक अभावमा तीज मनाउन नसकिरहेका दिदीबहिनीको पीडा पनि समाजले बुझ्नुपर्छ। आजको तीजलाई हामीले अझ अर्थपूर्ण बनाउन सक्छौँ। तीजलाई केवल मनोरञ्जनको कार्यक्रमबाट सामाजिक सम्बन्ध पुनर्जीवित गर्ने अवसर बनाउन सक्छौँ। वृद्ध आमाहरूलाई सम्मान गर्न सक्छौँ।
एक्लै बसिरहेका महिलाहरूलाई कार्यक्रममा सहभागी गराउन सक्छौँ। आर्थिक रूपमा कमजोर परिवारका दिदीबहिनीलाई सहयोग गर्न सक्छौँ। नयाँ पुस्तालाई पुराना तीजका भाका सिकाउन सक्छौँ। विदेशमा हुर्किरहेका बालबालिकालाई हाम्रा संस्कृति, भाषा र तीजका कथासँग जोड्न सक्छौँ। यसो गर्दा तीज केवल मनाइने पर्व हुँदैन, बाँचिने संस्कृति बन्छ।
हामीले तीजका केही पुराना विकृति र असमानतामाथि पनि सोच्नुपर्छ। कुनै महिलाले तीज कसरी मनाउने भन्ने निर्णय उसको आफ्नै अधिकार हुनुपर्छ। व्रत बस्नु उसको आस्था हो भने त्यसलाई सम्मान गर्नुपर्छ; स्वास्थ्य वा व्यक्तिगत कारणले व्रत नबस्ने निर्णय गरे पनि त्यसलाई सम्मान गर्नुपर्छ।
तीजलाई महिलामाथि थप सामाजिक दबाब सिर्जना गर्ने माध्यम होइन, उनीहरूको भावना, स्वतन्त्रता, सम्मान र आत्मीयता अभिव्यक्त गर्ने अवसर बनाउनुपर्छ। परम्पराको सम्मान गर्नु भनेको हरेक पुरानो अभ्यासलाई प्रश्न नै नगरी दोहोर्याउनु होइन।
राम्रो परम्परा जोगाउँदै समयअनुसार आवश्यक सुधार गर्नु पनि संस्कृतिको संरक्षण नै हो। हामी विदेशमा बसेका नेपालीका लागि तीजको अर्को जिम्मेवारी छ। हाम्रा छोराछोरीले हाम्रो बाल्यकालको तीज देखेका छैनन्। उनीहरूले खरको छानो देखेका छैनन्, गाउँको आँगन देखेका छैनन्, माइतीको बाटोमा आफन्तलाई पर्खिएको अनुभव गरेका छैनन्।
उनीहरूका लागि तीज रातो कपडा, नाच, खाना र सामाजिक सञ्जालको एउटा कार्यक्रम मात्र बन्न सक्छ। त्यसैले हामीले उनीहरूलाई तीजको कथा सुनाउनुपर्छ। आमाले आफ्नी आमाको कथा सुनाउनुपर्छ। बाबाले आफ्नो बाल्यकालको तीज सम्झाउनुपर्छ।
उनीहरूलाई नेपाली गीत गाउन लगाउनुपर्छ, आफन्तसँग नेपालीमा बोल्न प्रोत्साहित गर्नुपर्छ र तीजलाई आफ्नै पहिचानसँग जोड्नुपर्छ। किनकि संस्कृति एउटा पुस्ताले अर्को पुस्तालाई नदिएसम्म आफैँ बाँच्दैन। हामीले जोगाएनौँ भने हाम्रो पुस्तासँगै धेरै स्मृतिहरू हराउन सक्छन्।
हामीले केवल तीजको बाहिरी स्वरूप हस्तान्तरण गर्यौँ भने भोलिका पुस्ताले रातो सारी त लगाउलान्, तर त्यो सारीभित्रको कथा बुझ्न नसक्लान्। उनीहरूले गीत त गाउलान्, तर गीत किन गाइयो भन्ने थाहा नहोला। त्यसैले तीजको कपडाभन्दा कथा, गीतभन्दा भावना र कार्यक्रमभन्दा सम्बन्ध पुस्तान्तरण गर्नु आवश्यक छ।
आज हामी जहाँ छौँ, त्यहाँबाट हिजोलाई जस्ताको तस्तै फर्काउन सम्भव छैन। समय फर्किँदैन। ती पुराना आँगनहरू सबै बाँकी छैनन्। ती चुलाहरू सबै बल्दैनन्। तीजमा हामीलाई लिन आउने बाबा, मामा वा फुपू सबै सधैँ रहन सक्दैनन्।
कुनै दिन आमाको हातको खाना पनि सम्झनामै सीमित हुन सक्छ। त्यसैले तीज आउँदा केवल सजिएर तस्बिर खिच्ने होइन, बाँकी रहेका आफ्ना मानिसहरूलाई हेर्ने समय पनि निकालौँ। किनकि मानिसहरू हराएपछि सम्झना धेरै आउँछ, तर उनीहरू हुँदा दिएको समय भने फेरि फर्केर आउँदैन।
हिजोको तीजमा अभाव धेरै थियो, तर अपनत्व प्रशस्त थियो। आजको तीजमा प्रशस्तता धेरै छ, तर अपनत्वका लागि समय कम हुँदै गएको छ। यही ठाउँमा आजको तीजले हामीलाई सचेत गराउनुपर्छ। हामीले आधुनिक तीजलाई अस्वीकार गर्नु पर्दैन, तर त्यसलाई केवल प्रदर्शनको उत्सव बन्न पनि दिनु हुँदैन। हामीले नयाँ गीत गाउन सक्छौँ, नयाँ नाच गर्न सक्छौँ, आधुनिक पहिरन लगाउन सक्छौँ, ठूलो कार्यक्रम गर्न सक्छौँ; तर त्यससँगै आमाको कथा, माइतीको सम्झना, दिदीबहिनीको आत्मीयता, परिवारको साथ र नेपाली संस्कृतिको जरा पनि बोकेर हिँड्नुपर्छ।
तीज वर्षैपिच्छे आउँछ। रातो रंग फेरि चम्किन्छ, चुरा फेरि बज्छन्, गीत फेरि गुञ्जिन्छन्। तर हरेक वर्ष हामीसँग भएका मानिसहरू उस्तै रहँदैनन्। त्यसैले तीजलाई केवल एउटा पर्वको रूपमा होइन, सम्बन्धहरूलाई फेरि एकपटक नजिक ल्याउने अवसरको रूपमा मनाऔँ।
सामाजिक सञ्जालमा शुभकामना दिनुअघि आमालाई फोन गरौँ। फोटो पोस्ट गर्नुअघि परिवारसँग केही समय बसौँ। कार्यक्रम सुरु गर्नुअघि एक्लै बसेको कसैलाई बोलाऔँ। नयाँ पुस्तालाई नाच सिकाउँदा पुरानो कथा पनि सुनाऔँ।
सायद तीजको वास्तविक सुन्दरता यही हो, समय बदलिँदै जाँदा पनि हामीलाई आफ्नै मानिसतिर फर्काइरहनु। तीजले हामीलाई सम्झाइरहोस् कि जीवनमा सबैभन्दा महँगा गहना सम्बन्ध हुन्, सबैभन्दा सुन्दर पहिरन अपनत्व हो र सबैभन्दा ठूलो उत्सव आफ्ना मानिसहरू साथमा हुनु हो।
तीज बदलिन सक्छ, यसको स्वरूप बदलिन सक्छ, गीतको लय बदलिन सक्छ, मनाउने तरिका बदलिन सक्छ; तर तीजभित्रको माया, माइतीको सम्झना, दिदीबहिनीको आत्मीयता र परिवारलाई जोड्ने त्यो भावना कहिल्यै बदलिनु हुँदैन। यही हो आजको तीजलाई दिनुपर्ने सबैभन्दा ठूलो शुभकामना।
हामी आधुनिक बनौँ, तर आफ्ना जरा नहराऔ, उत्सव ठूलो बनाऔँ, तर सम्बन्ध सानो नबनाऊँ; तीज भव्य बनाऔँ, तर त्यसको आत्मा झन् भव्य बनाऔँ।















