अमेरिकामा भेटिएका श्रवण कुमार
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया /
“आमा, थकाइ लाग्यो?”
ल्यानक्यास्टरका मकै र भटमासका खेतबीचबाट गाडी हुइँकिइरहेका बेला मैले ९२ वर्षीया देवी लक्ष्मी महर्जनलाई सोधेको थिएँ।
“घुम्न पाउँदा के थकाइ लाग्ने?”
जवाफमा उमेरको थकानभन्दा घुम्ने रहर ठूलो सुनिन्थ्यो।
तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन आफ्ना महिला दाई केशव सहित आफ्नी ९२ वर्षीया आमा र सासू आमालाई लिएर अमेरिकाको इस्ट कोस्ट घुमिरहेका थिए।
अमेरिकाको सुदुरपश्चिमी राज्य ओरिगनको पोर्टल्याण्ड शहरबाट शुरु भएको नौ दिने यात्रा न्युयोर्क, न्यु जर्सी, पेन्सिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया र डिसी मेट्रो क्षेत्रका विभिन्न ठाउँ पुगे।
कतिपय ठाउँमा आमालाई दिवाकर आफैंले ह्विलचेयरमा डुलाए।
खासमा यो पारिवारिक भ्रमण थियो। अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा तीन दशकभन्दा बढी समयदेखि बस्दै आएका दिवाकरको पारिवारिक योजना। ग्रान्डमास्टर डानलाई म सन् २००० देखि चिन्दै आएको हुँ। यसपटक संयोगले दुई दिन म पनि महर्जन परिवारको यात्रामा सहभागी भएँ।
एउटा पारिवारिक भ्रमणको पनि स्टोरी हुन्छ र?
सुरुमा मनमा यस्तो प्रश्न नखेलेको होइन।
तर दुई दिनको त्यो यात्रापछि लाग्यो—कहिलेकाहीँ पत्रकारले खोजेर होइन, संयोगले भेटेको कथाले पनि लामो समय पछ्याउँदो रहेछ।
‘तेल भिसा’देखि आमाको यात्रासम्म
‘तेल भिसा’ सरकारी दस्तावेजमा कतै देखिँदैन। तर प्रवासी नेपाली समुदायमा यो शब्द परिचित छ।
विशेषगरी युरोप र अमेरिकामा रहेका नेपाली युवायुवतीले सन्तान जन्मिएपछि आफ्ना बाबुआमालाई नेपालबाट बोलाउने क्रमसँग जोडेर यसलाई व्यंग्यात्मक रूपमा प्रयोग गरिन्छ।
सन्तानको भन्दा नातिनातिनाको माया झन् गाढा हुन्छ भनिन्छ। नेपालमा रहेका बाबुआमालाई पनि नातिनातिनाको अनुहार हेर्ने रहर हुन्छ। छोरा–बुहारी वा छोरी–ज्वाइँले विदेशबाट बोलाएपछि उनीहरू हजारौँ किलोमिटरको यात्रा गरेर विदेश पुग्छन्।
तर विदेश पुगेपछि कतिपय अभिभावकको अवस्था सोचेजस्तो हुँदैन।
नेपालमा गाउँ होस् वा सहर—आफ्नो ठाउँ, साथीभाइ र चिनेजानेका मानिसको बीचमा हुर्किएका अभिभावकलाई युरोप–अमेरिकाको जीवन फरक लाग्न सक्छ। सन्तान काममा गएपछि दिनभर घरभित्र एक्लै बस्नुपर्ने अवस्था आउँछ। बाहिर निस्कन खोज्दा भाषाको समस्या हुन्छ। बाटो नचिनिने, हराउने डर हुन्छ।
विदेशमा रहेका सन्तानका पनि आफ्नै बाध्यता छन्। पहिलो पुस्ताका नेपालीलाई आफ्नो जीवन स्थापित गर्नै हम्मेहम्मे पर्छ। काम र पारिवारिक जिम्मेवारीका कारण चाहेर पनि बाबुआमालाई पर्याप्त समय दिन नसक्ने अवस्था हुन्छ।
तर यही दुई वास्तविकताको बीचमा दिवाकर महर्जनको पारिवारिक यात्रा केही फरक देखियो।
“आमाको इच्छा हो”
दिवाकर अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपालीका रूपमा चिनिन्छन्। आजभन्दा ३२ वर्षअघि उनले अमेरिकाको ओरेगनस्थित पोर्टल्यान्डमा ‘यूएस वर्ल्ड क्लास हलिउड तेक्वान्दो स्कुल’ स्थापना गरेका थिए।
सन् २००० मा नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का परिकल्पनाकारसमेत रहेका उनी अहिले पनि तेक्वान्दो गतिविधिमा सक्रिय छन्। आईओएफटीसीको १६औँ संस्करण आगामी नोभेम्बर २८–२९ मा अस्ट्रेलियाको मेलबर्नमा हुँदैछ।
स्कुलको नियमित कक्षा, प्रतियोगिताको तयारी र आफ्नै व्यस्तताबीच करिब दुई महिनाअघि फोनमा कुरा हुँदा उनले भनेका थिए—
“आमालाई अस्ट्रेलिया लैजान अलिक गाह्रो होला। त्योभन्दा अगाडि उहाँलाई इस्ट कोस्ट घुमाउनु छ। तपाईंको समय के कस्तो छ, त्यो बेला भेट्नुपर्छ।”
त्यसपछि योजना बन्यो।
दिवाकर र उनका दाई केशवले ९२ वर्षीया आमा देवी लक्ष्मी महर्जन र सासू आमालाई लिएर नौ दिनसम्म अमेरिकाको इस्ट कोस्ट घुमाए।
कतिपय ठाउँमा आमालाई आफैंले ह्विलचेयरमा डुलाए।
यो यात्राको पछाडि घुम्ने रहर मात्रै थिएन। आमाको एउटा पुरानो जिज्ञासा पनि थियो।
दिवाकरका जेठा दाइ केदार महर्जन पहिले न्युयोर्कमा बस्थे। पछि नेपाल फर्किए। चार वर्षअघि जेठा छोराको नेपालमै निधन भयो। आमा भने अमेरिकामै रहिन्।
“आमा सन् २००६ मा पहिलो पटक अमेरिका आउनुभएको थियो। त्यसबेला एक महिनामै नेपाल फर्किनुभयो। सन् २०१८ मा दोस्रोपटक अमेरिका आएपछि उहाँ यतै हुनुहुन्छ। यो बीचमा सन् २०१९ र २०२५ मा दुई पटक नेपाल–अमेरिका आउजाउ गर्नुभयो,” दिवाकरले सुनाए, “गत वर्ष उहाँको तेस्रो जंकु भयो।”
जेठो छोराको अभाव भने आमाको मनमा थियो।
पोर्टल्यान्ड पुगेपछि उहाँले सम्धीनीसँग सोध्नुभयो—जेठो छोरा बसेको न्युयोर्क कस्तो होला?
त्यही जिज्ञासाबाट न्युयोर्कदेखि डिसीसम्मको यात्राको योजना बन्यो।
“घुम्न पाउँदा के थकाइ लाग्ने?”
उहाँहरुको यात्राको पाँचौ दिन, शनिबार बिहान ७ बजे न्युयोर्कबाट सुरु भयो।
म न्यु जर्सीस्थित अमेरिकाकै ठूलो हिन्दु मन्दिर पुगेँ। त्यसपछि यात्रा पेन्सिल्भेनियाको फिलाडेल्फियासम्म आइपुग्यो। अमेरिकाको पहिलो राजधानी फिलाडेल्फियाको स्वतन्त्रता घण्टी निहाल्दै हामी ल्यानक्यास्टर अमिस भिलेज आयौ ।

ल्यानक्यास्टरका खेतबीचबाट गाडी अघि बढिरहँदा मैले आमालाई सोधेको थिएँ—
“आमा, थकाइ लाग्यो?”
उहाँको जवाफ थियो—
“घुम्न पाउँदा के थकाइ लाग्ने?”
९२ वर्षको उमेर।
तर घुम्ने उत्साह उस्तै।
“दिवाकरले राम्रो गरेको छ,” उहाँले भन्नुभयो, “क्यालिफोर्निया घुमायो, फ्लोरिडा लग्यो, समुद्र हेरेँ। रमाइलो भएको छ।”
उहाँलाई भनेर छुट्टै परिकार बनाइरहनुपर्ने अवस्था पनि थिएन। पाहुना जाँदा अरूलाई जे पाकेको छ, त्यही उहाँलाई पुग्थ्यो।
“आमा, जाउलो बनाउने कि?” भन्ने प्रश्न पूरा हुन नपाउँदै जवाफ आउँथ्यो—
“पर्दैन, सबैलाई पकाएको हुन्छ।” यो उमेर आँखालाई चश्मा चाहिदैन्, कानले प्रस्ट सुन्छ ।
त्यसमा एउटा सहजता थियो।
र छोराहरूको अनुहारमा सन्तुष्टि।
भोलिपल्ट ह्यारिसबर्ग घुमेर मेरिल्यान्ड पुगियो। मलाई आफैं थकाइ लागिरहेको थियो। तर आमाको अनुहारमा उही चमक थियो।

फिलाडेल्फिया म्युजियम अफ आर्टका ७२ वटा ढुङ्गाका सिँढी उक्लिन गाह्रो होला कि भन्ने प्रश्न गर्दा पनि उहाँले भन्नुभयो—
“अलिअलि त म हिँड्छु।”
उमेरले शरीरलाई कमजोर बनाएको थियो। इच्छालाई भने होइन।
“जति गर्ने हो, अहिले नै”
दिवाकरका लागि यो यात्रा केवल आमालाई नयाँ ठाउँ देखाउने रहर थिएन।
समयसँगै कम हुँदै जाने आमाको यात्राको क्षमतालाई सम्झेर बनाइएको योजना थियो।
“समय त मिलाउनुपर्छ,” उनले भने, “आमाको इच्छा हो। अलि पछि नसक्नु होला। उहाँले जेठो छोरा अन्तिम समयमा हेर्न पाउनुभएन भन्ने पनि भयो। दाइ र मैले योजना बनायौँ।”
उनले एउटा छोटो वाक्य पनि भने—
“जति गर्ने हो, अहिले नै।”
त्यो वाक्यमा यात्राको कारण लुकेको थियो।
सन् २००६ देखि २०१८ को बीचमा उनी पटक–पटक नेपाल जान्थे।
“केही दिन आमा सँग बिताउँछु,” नेपाल जाने कारणबारे उनी भन्ने गर्थे।
आमासँग बिताउने समय उनका लागि यात्राको अर्को उद्देश्य हुन्थ्यो।
को हुन् श्रवण कुमार?
नेपाली समाजमा आमाबाबुप्रतिको समर्पणको कुरा गर्दा श्रवण कुमारको कथा सम्झिन्छौँ।
यात्राकै क्रममा मैले दिवाकरलाई भनेँ—
“गुरु, तपाईंलाई देखेर मलाई श्रवण कुमारको याद आयो।”
श्रवण कुमार पूर्वीय पौराणिक मान्यता र रामायणमा मातृ–पितृ भक्तिको प्रतीकका रूपमा लिइन्छन्। उनका आमाबुबा दृष्टिविहीन र वृद्ध थिए। उनीहरूको अन्तिम इच्छा तीर्थयात्रा गर्ने थियो।
आमाबुबाको अशक्तताका कारण श्रवण कुमारले बाँसको खर्पन बनाए। त्यसको एकातिर आमा र अर्कोतिर बुबालाई राखेर काँधमा बोकी तीर्थयात्रामा निस्किए।
नेपाली समाजमा श्रवण कुमार आज पनि ‘आदर्श छोरा’को प्रतीक हुन्।
समय बदलिएको छ।
काँधमा बोकेर हिँड्ने समयबाट हामी ह्विलचेयरमा आमाबाबुलाई घुमाउने समयसम्म आइपुगेका छौँ।
त्यसैले ९२ वर्षीया आमाको ह्विलचेयर आफैं धकेल्दै अमेरिकाको न्युयोर्कदेखि डिसीसम्म पुगेको यो यात्रा मलाई श्रवण कुमारको कथाको आधुनिक रूपजस्तो लाग्यो।
यो केवल आमालाई घुमाएको कथा होइन

नेपालमै पनि वृद्ध नागरिक घरबाट निकालिएका खबर बेला–बेला आउँछन्। सन्तान भएर पनि वृद्धाश्रममा जीवन बिताइरहेका ज्येष्ठ नागरिक भेटिन्छन्।
‘हजुरबालाई फाले पनि ढोको नफाल्नु’ भन्ने कथा पढेर हुर्किएको हाम्रो पुस्ताका लागि यो विरोधाभासपूर्ण दृश्य हो।
विदेशमा बाबुआमालाई बोलाउने तर उनीहरूलाई घरका चार भित्ताभित्र सीमित गर्ने प्रवृत्तिमाथि पनि यो यात्राले प्रश्न गर्छ।
आफ्ना सन्तान र नातिनातिना भेट्न हजारौँ किलोमिटर यात्रा गरेर आएका वृद्ध आमाबाबुलाई उनीहरूको परिचित संसारभन्दा बिल्कुलै फरक संसारमा एक्लै छोडिदिँदा उनीहरूको मनमा के बित्छ?
भाषा नबुझ्ने, बाटो नचिन्ने र बाहिर निस्कन डराउने अभिभावकलाई केही समय साथ दिनु मात्रै पनि उनीहरूका लागि ठूलो कुरा हुन सक्छ।
हो, विदेशमा रहेका सन्तानका आफ्नै व्यस्तता र बाध्यता छन्। सबैले दिवाकरले जस्तै आठ दिनको यात्रा निकाल्न नसक्लान्।
तर समय नहुनु र समय नै नदिनु फरक कुरा हो।
कहिलेकाहीँ आमाबाबुलाई ठूलो उपहार चाहिँदैन।
उनीहरूलाई छोरा वा छोरीको साथ चाहिन्छ।
एउटा घुमाइ चाहिन्छ।
एउटा संवाद चाहिन्छ।
र आफ्नो उमेरमा पनि आफू कसैको प्राथमिकतामा छु भन्ने अनुभूति चाहिन्छ।
यहाँ बाँचुञ्जेल धारे हात लगाउने, तर बितेपछि सामाजिक सञ्जालका भित्ता रंगाउने भीडमा दिवाकरले आमासँग बिताएको यो समय त्यसैले एउटा परिवारको निजी कथा भएर मात्र सीमित रहँदैन।
यो सन्तानका लागि एउटा सम्झना पनि हो—
बाबुआमालाई विदेश ल्याउनु मात्रै पर्याप्त छैन। उनीहरूलाई आफ्नो संसारमा ल्याउन पनि सक्नुपर्छ।
स्टोरीको बिट मार्दै गर्दा म आफैं केही भक्कानिएँ।
दिवाकरलाई हेर्दै मनमा एउटा कुरा खेलिरह्यो—यो एउटा भाग्यमानी आमाको कथा पनि हो। र भाग्यमानी छोराको पनि।
किनकि सबैलाई आमाबाबुसँग यसरी हिँड्ने अवसर कहाँ मिल्छ र?
कसैका लागि समय हुँदैन। कसैका लागि दूरी हुन्छ। कसैका लागि परिस्थिति।
अनि कसैका लागि त्यो अवसर आउँदा–नआउँदै आमा वा बाबुको हात छुटिसकेको हुन्छ।
मलाई भने थाहा छ—यस्तो यात्रा गर्ने अवसर मेरा लागि सायद कहिल्यै आउने छैन।
त्यसैले दिवाकरले आमाको ह्विलचेयर धकेल्दै हिँडेको त्यो दृश्य मैले देखेको एउटा पारिवारिक दृश्य मात्र थिएन। त्यो कताकता आफ्नै जीवनतर्फ फर्केर हेर्न बाध्य बनाउने दृश्य थियो।
समय छँदै आमाबाबुलाई समय दिन सक्नु नै सायद सन्तानको सबैभन्दा ठूलो भाग्य हो।
आमाबाबुलाई माया गर्नु र आमाबाबुसँग समय बिताउनु एउटै कुरा होइन।
माया मनमा हुन सक्छ।
तर समय दिएर देखाउनुपर्छ।














