विश्वकप क्रिकेटमा अफगानिस्तानको तेस्रो जित, इंग्ल्याण्ड र पाकिस्तानपछि श्रीलंका पनि स्तब्ध
पुणे । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले तेस्रो जित निकालेको छ । यसअघि इंग्ल्याण्ड र पाकिस्तानलाई हार चखाइसकेको अफगानिस्तानले सोमबार पुणेमा भएको खेलमा श्रीलंकामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो ।
जितसँगै अफगानिस्तान तालिकाको पाँचौं स्थानमा आइपुगेको छ । उसको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । उता श्रीलंका भने छैटौं स्थानमा झरेको छ ।
श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । अफगानिस्तानलाई जिताउनका लागि अज्मतुल्लाह ओमरजाई र कप्तान हस्मतुल्लाह साहिदीले नटआउट १११ रनको पारि खेलेका थिए । जसमा अज्मतुल्लाह ओमरजाईले ७३ तथा हस्मतुल्लाह साहिदीले ५८ रनको नटआउट पारि खेले ।
इब्राहिम जर्दानले ३९ रन बनाएर हुँदा रहमत साहले भने सुरुमा अर्धशतकीय पारि खेल्दै टिमलाई जितको बलियो आधार दिएका थिए । श्रीलंकाका दिलसन मधुसनकाले २ विकेट लिँदा कसुन रन्जिताले एक विकेट हात पारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा २४१ रन बनाएर समेटिएको थियो । श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेलेनन् । अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिए । श्रीलंकाका पथुम निसनकाले ४६ रन बनाउँदा कप्तान कुशल मेन्डिसले ३९ रन बनाएका थिए ।
सदिरा समरविक्रमाले ३६ रनको योगदान गरे भने महेश तिक्षणाले २९ तथा एंगेलो म्याथ्युले २३ रन बनाए । चरिथा असलंकाको ब्याटबाट २२ रन बनाउँदा दिमुथ करुणारत्नेले १५ रन बनाए । धनञ्जय डी सिल्भाले भने १४ रनको योगदान गरेका थिए । श्रीलंकाले अन्तिम ३ विकेट ११ रनमा गुमायो र तीन बल बाँकी रहँदा अलआउट भयो। फजलहक फारुकीका अलावा मुजिब उर रहमानले २ तथा राशिद खान र अजमातुल्लाह ओमरजाईले एक एक विकेट लिए ।














