गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको निधन, नेपालका नेताद्वारा दुख व्यक्त, शनिबार राष्ट्रिय शोक मनाइने
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ ।
गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको थियो। नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रवार बिहान गोली प्रहार भएको थियो ।
गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।
अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
मुलुकका लोकप्रिय नेता सिन्जे आवे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका व्यक्ति हुन्। आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए।
दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए। आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनु परेको हो ।
आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो ।
सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए। त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए।
राजनीतिमा भने उनि सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनि सन् १९९३ देखि निरन्तर नौ पटक सांसद रहेका थिए ।
उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए। मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए।
उनि पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनि जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनि चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सफल भएनन्।
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।
प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री अवेको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’
जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति एमाले अध्यक्ष ओलीले भने– जघन्य हत्याको घोर भर्त्सना गर्दछु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् ।
‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’












