ट्रम्प प्रशासनले अमेरिकी नागरिकता खारेज गर्ने अभियान तीव्र बनायो, सन् २०२५ मा झन्डै ९० मुद्दा दायर
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरूको अमेरिकी नागरिकता खारेज गर्ने अभियानलाई तीव्र बनाएको छ।
अमेरिकी न्याय विभाग ‘डीओज’ का अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म झन्डै ९० जनाविरुद्ध नागरिकता खारेजको मुद्दा संघीय अदालतमा दायर गरिएको छ। प्रशासनले आगामी अक्टोबरसम्म कम्तीमा २५० वटा यस्ता मुद्दा दायर गर्ने लक्ष्य लिएको जनाएको छ।
ट्रम्प प्रशासनले यस अभियानलाई व्यापक आप्रवासन नियन्त्रण नीतिको हिस्सा बनाएको छ। प्रशासनका अनुसार झूटो विवरण, गलत पहिचान वा आपराधिक इतिहास लुकाएर अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नागरिकता खारेज गरिने जनाएको छ ।
अमेरिकी संघीय कानुनअनुसार कसैले नागरिकता लिने प्रक्रियामा धोखाधडी, गलत विवरण वा महत्त्वपूर्ण तथ्य लुकाएर नागरिकता लिएको प्रमाणित भएमा सरकारले अदालतमार्फत उक्त नागरिकता रद्द गर्न सक्ने व्यवस्था गरेको छ ।
न्याय विभाग ‘डीओज’ का तथ्यांक अनुसार ट्रम्प प्रशासनले अघिल्ला कुनै पनि आधुनिक प्रशासनभन्दा धेरै नागरिकता खारेजका मुद्दा अघि बढाइरहेको जनाएको छ ।
पूर्व राष्ट्रपति जो बाइडेनको चार वर्षे कार्यकालमा २४ वटा मात्रै यस्ता मुद्दा दायर भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा भने १०२ वटा मुद्दा दायर गरिएको थियो।
सन् २०२५ मा मात्रै ८९ भन्दा बढी मुद्दा दायर भइसकेकाले यो सङ्ख्या विगतका सबै प्रशासनको तुलनामा उच्च हुने अनुमान गरिएको छ।
केस वेस्टर्न रिजर्भ विश्वविद्यालयकी कानुन प्राध्यापक कासान्द्रा रोबर्टसनले यसलाई दशकौँयताकै सबैभन्दा ठुलो नागरिकता खारेज अभियान भएको बताएकी छिन् ।
ट्रम्प प्रशासनले आफूले अपराधी, ठगी गर्ने व्यक्ति तथा झूटो विवरणका आधारमा नागरिकता लिएका व्यक्तिलाई मात्रै लक्षित गरेको जनाएको छ।
अमेरिकी गृह सुरक्षा विभाग ‘डिएचएस’ ले नागरिकता लिने प्रक्रियामा धोखाधडी गर्ने व्यक्तिले अमेरिकी नागरिकता कायम राख्ने अधिकार गुमाउने जनाएको छ।
‘डिएचएस’ का सचिव मार्कवेन मुलिनले एक वक्तव्यमा भनेका छन्, ‘यदि कसैले नागरिकता लिने प्रक्रियामा धोखाधडी गरेको छ भने उसले अमेरिकी नागरिकता कायम राख्ने अधिकार गुमाउँछ। उपलब्ध सबै कानुनी माध्यम प्रयोग गरेर त्यस्ता व्यक्तिको नागरिकता खारेज गरिनेछ।’
सन् २०२५ मा पदभार ग्रहण गरेको केही दिनमै राष्ट्रपति ट्रम्पले नागरिकता खारेज प्रक्रियाका लागि पर्याप्त स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका थिए।
पछि न्याय विभागले आफ्नो नागरिक शाखालाई नागरिकता खारेजसम्बन्धी मुद्दालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको थियो । साथै देशभरका अमेरिकी सरकारी वकिलका कार्यालयलाई समेत यस्ता मुद्दा अघि बढाउन परिचालन गरिएको थियो ।
ह्वाइट हाउसले जुलाई २० मा सामाजिक सञ्जाल ‘एक्स’मार्फत यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठुलो नागरिकता खारेज अभियान भनेको थियो।

न्याय विभागले दायर गरेका अधिकांश मुद्दामा सम्बन्धित व्यक्तिले नागरिकता लिने क्रममा झूटो विवरण दिएको, आपराधिक इतिहास लुकाएको वा गलत नाम प्रयोग गरेको आरोप लगाइएको छ।
कतिपय मुद्दामा यौन दुर्व्यवहार, हुन्डीमार्फत हुने ठगी, लागु औषध कारोबार, युद्ध अपराध तथा विदेशी आतङ्कवादी सङ्गठनसँग सम्बन्ध रहेको आरोप पनि समावेश गरिएको छ।
सरकारका अनुसार यी व्यक्तिहरूले असल नैतिक चरित्रको कानुनी मापदण्ड पूरा नगरेकाले उनीहरूलाई सुरुदेखि नै अमेरिकी नागरिकता दिन नहुने जनाइएको छ ।
आप्रवासन कानुनका विज्ञहरूले हाल दायर गरिएका अधिकांश मुद्दा कानुनी रूपमा अघिल्ला प्रशासनका मुद्दाभन्दा धेरै फरक नदेखिए पनि यति ठुलो सङ्ख्यामा मुद्दा दायर गरिनु चिन्ताको विषय भएको बताएका छन्।
सन् १९९० देखि २०१७ सम्म अमेरिकामा वार्षिक औसत ११ वटा मात्रै नागरिकता खारेजका मुद्दा दायर हुने गरेको थियो ।
सन् १९६७ मा अमेरिकी सर्वोच्च अदालतले धोखाधडी वा जानाजानी गलत विवरण दिएको अवस्थामा मात्रै नागरिकता खारेज गर्न सकिने फैसला गरेपछि यस्ता मुद्दाको सङ्ख्या निकै घटेको थियो।
त्यसअघि दोस्रो विश्वयुद्ध र शीतयुद्धको समयमा हजारौँ आप्रवासीको अमेरिकी नागरिकता खारेज गरिएको इतिहास छ।
पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनका बेला नयाँ डिजिटल फिंगरप्रिन्ट प्रणालीमार्फत फरक पहिचान प्रयोग गरेर नागरिकता लिएका व्यक्तिहरू पहिचान भएपछि केही मुद्दा अघि बढाइएको थियो ।
ट्रम्प प्रशासनको पहिलो कार्यकालमा भने कार्यक्रमलाई अझ विस्तार गर्दै ठगी तथा हिंसात्मक अपराधसम्बन्धी मुद्दासमेत समावेश गरिएको थियो। अहिले दोस्रो कार्यकालमा सो अभियानलाई अझ व्यापक बनाइएको छ।















