ह्यारिसबर्ष प्रिमियर लिग : क्यापिटल स्ट्राइकर्सले जोगायो उपाधि
ह्यारिसबर्ग पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानीमा ह्यारिसबर्गमा सम्पन्न ‘ह्यारिसबर्ग प्रिमियर लिग’ (एचपीएल) को उपाधि क्यापिटल स्ट्राइकर्सले जोगाएको छ ।
साबिक विजेता क्यापिटल स्ट्राइकर्सले लोयर प्याप्सन टाउनसिप क्रिकेट मैदानमा शुक्रवार भएको फाइनलमा ह्यारिसबर्ग थन्डरहक्समाथि ४ रनको रोमाञ्चक जित दर्ता गर्दै उपाधि रक्षा गरेको हो ।
फाउन्डेशनले गत वर्ष देखि एचपीएल शुरु गरेको हो । एचपीएलमा नेपाली भाषी भूटानी समुदायका चार टिमले भाग लिएका थिए । फाइनल अगाडी यिनीहरूले एक आपसमा १२ खेल खेलेका थिए ।
यस सिजनको लिग गत मे महिना देखि शुरु भएको थियो ।
शुक्रवारको फाइनलमा क्यापिटल स्ट्राइकर्सको रोमाञ्चक जितमा समीप अधिकारीको घातक बलिङ र सागर राईको उत्कृष्ट अलराउन्ड प्रदर्शन निर्णायक बन्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यापिटल स्ट्राइकर्सले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७८ रन बनाएको थियो।
स्ट्राइकर्सका लागि सागर राई र खगेन्द्र धिमालले समान १७–१७ रन तथा पर्शु न्यौपानेले १३ रनको योगदान दिए।
क्यापिटल स्ट्राइकर्सका लागि प्रारम्भिक ब्याटर पर्शु न्यौपानेले १७ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाएर टोलीलाई सम्हाल्ने प्रयास गरे, तर उनी दिल पोख्रेल क्षेत्रीको बलमा बोल्ड भए।
त्यसपछि आएका एज्रा गुरुङ १३ बलमा १३ रन बनाएर अनिल न्यौपानेको बलमा उनकै हातबाट क्याच एन्ड बोल्ड आउट भए।
मध्यक्रममा सागर राईले १८ बलमा १ चौकासहित १७ रन र खगेन्द्र धिमालले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै आक्रामक १७ रन जोडेर टोलीको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याए।

सागर राईलाई अनिल न्यौपानेको बलमा नारायण खतिवडाले क्याच आउट गरे भने खगेन्द्र धिमाललाई धन गुरुङको बलमा बासु ढुङ्गानाले क्याच आउट गरे।
अन्य ब्याटरहरूमा छिरिङ तामाङ ३ रनमा रिटायर्ड नटआउट रहे भने समीप अधिकारी, स्वरुप आचार्य शून्यमै आउट भए।
भरत तिम्सिना २ रन र ड्यानी तमु ३ रनमा रनआउटको सिकार भए भने दिवस क्षेत्री ३ रनमा नटआउट रहे।
ह्यारिसबर्ग थन्डरहक्सका बलर धन गुरुङले ३ ओभरमा २० रन खर्चेर ३ विकेट तथा कप्तान अनिल न्यौपानेले २ ओभरमा ९ रन दिएर २ विकेट लिँदै क्यापिटल स्ट्राइकर्सलाई ठूलो स्कोर बनाउनबाट रोके। त्यस्तै दिल पोख्रेल क्षेत्रीले ३ ओभरमा १९ रन दिएर १ विकेट लिए।
७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको ह्यारिसबर्ग थन्डरहक्सले १५ ओभरमा ९ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो।
थन्डरहक्सको सुरुवात राम्रो हुन सकेन; प्रारम्भिक ब्याटर सिद्धार्थ रोका ११ बलमा ६ रन बनाउँदै ड्यानी तमुको बलमा सागर राईको हातबाट क्याच आउट भए।
अर्का प्रारम्भिक ब्याटर ढाका खरेलले १५ बलमा २ चौका र १ छक्कासहित १५ रनको आक्रामक इनिङ खेले पनि उनी सागर राईको बलमा उनकै हातबाट क्याच एन्ड बोल्ड आउट हुन पुगे।
मध्यक्रममा सागर ढुङ्गानाले १५ बलमा ९ रन बनाएर समीप अधिकारीको बलमा तारा क्षेत्रीको हातबाट क्याच आउट भए भने धन गुरुङ १ बल खेल्दै शून्यमै ड्यानी टामुको बलमा सब्सटिच्युट खेलाडीद्वारा क्याच आउट भए।
कप्तान अनिल न्यौपानेले १९ बलमा १५ रन बनाएर टोलीलाई जिततर्फ डोर्याइरहेका थिए, तर उनी समीप अधिकारीको बलमा सब्सटिच्युट खेलाडीकै हातबाट क्याच आउट भए।
खेलको १३ ओभर सकिँदासम्म थन्डरहक्स निकै बलियो स्थितिमा थियो र उसलाई जितका लागि मात्र १२ बलमा ९ रन आवश्यक थियो भने हातमा ४ विकेट बाँकी थियो।
तर, खेलमा जे भयो त्योो १४ ओभरमा नै भयो ।
१४औँ ओभरको त्यो तीन विकेट जसले बदलियो खेलको मोड
१४औँ ओभरमा क्यापिटल स्ट्राइकर्सका बलर समीप अधिकारीले खेललाई पूर्ण रूपमा उल्ट्याइदिए।
उनले उक्त ओभरमा घातक बलिङ गर्दै एकै ओभरमा ३ महत्वपूर्ण विकेट चट्काए। उनले बासु ढुङ्गानालाई २ रनमा ड्यानी तमुको हातबाट क्याच आउट गराए, तारा अधिकारीलाई १ बलमा शून्यमै खगेन्द्र धिमालको हातबाट क्याच आउट गराए र नारायण खतिवडालाई ३ बलमा शून्यमै बोल्ड आउट गरे।
समीपको यो ओभर नै खेलको मुख्य ‘टर्निङ प्वाइन्ट’ बन्यो।
अन्तिम ओभरमा थन्डरहक्सलाई जितका लागि ५ रन आवश्यक हुँदा ड्यानी तमुले कसिलो बलिङ गरे।
सो ओभरमा १३ रन बनाएर खेलिरहेका दिल पोख्रेल क्षेत्री एज्रा गुरुङको थ्रोमा रनआउट भए भने भिम सुनुवार ५ बलमा १६० को स्ट्राइक रेटमा ८ रन बनाएर नटआउट रहे पनि टोलीलाई जिताउन सकेनन्।
थन्डरहक्सले मात्र १ रन जोड्न सकेपछि क्यापिटल स्ट्राइकर्सले ४ रनको सनसनीपूर्ण जित सुनिश्चित गर्यो।
क्यापिटल स्ट्राइकर्सका समीप अधिकारीले ३ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने ड्यानीले ३ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर २ विकेट लिए। सागर राईले ३ ओभरमा १४ रन दिएर १ विकेट हात पारे।
व्यक्तिगत विधामा पनि क्यापिटल स्ट्राइकर्सका खेलाडीको दबदावा रह्यो । सागर राईले दुई विधाको उपाधि जिते । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषितका सागर सर्वाधिक रनकर्ता पनि घोषित भए ।
सागर राईले १३ खेलका १३ इनिङ्गमा कुल ४ सय ३५ रन बनाएका थिए ।

बलिङतर्फ फाइनलका नायक समीप अधिकारी ले १२ खेलमा ५.१० को उत्कृष्ट इकोनोमी राख्दै कुल २२ विकेटका साथ सर्वाधिक विकेट लिने बलरको उपाधि पाए।



खेल पछि विजेता क्यापिटल स्ट्राइकर्सका कप्तान तारा कौशिक उपाधि जोगाउन आफुहरुले राम्रो तयारी गरेको बताए ।
“पोहोरको तुलनामा यसपालि हामी धेरै प्रिपेर थियौँ। टिममा इरी, फिलि र ल्यान्कास्टरबाट समेत साथीहरू जोडिएकाले लिग अझ बेटर भयो।” कौशिकले भने ।
उनले समीपले १३ औ ओभरमा लिएको विकेट नै खेलको टर्नीङ प्वाइन्ट भइको बताए ।
‘क्रुसियल ओभरमा आएर एकै ओभरमा ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। फाइनल जस्तो म्याचमा एकै ओभरमा ३ विकेट लिनु सानो कुरा होइन। यो उसको कडा अभ्यासको नतिजा हो ।’
उपविजेता ह्यारिसबर्ग थन्डरहक्सका कप्तान अनिल न्यौपाने पनि १४ ओभर आफूहरु ब्रेक लागेको बनाए ।
“हाम्रो १४औँ ओभरमा लगातार ३ वटा विकेट गइदियो, जसले गर्दा खेलको मोमेन्टम ब्रेक भयो। नभए हामीलाई जति रन चाहिएको थियो, त्यो अनुसारै रन गइरहेको थियो।” अनिलले भने, “त्यहाँ क्रुसियल विकेट जाँदा रन पनि रोकियो र लास्ट ओभरमा एकैचोटि धेरै रन निकाल्न गाह्रो भयो।”
अनिलले एचपीएल खेल मात्र नभएर विषेश उदेश्यका लागि खेलिएको बताए ।
“बाहिरबाट हेर्दा यो कामपछिको टाइमपास जस्तो देखिए पनि यसको भित्री उद्देश्य ठूलो छ। यसले हामीलाई ‘प्ले फर लाइफ’ भन्ने कजमा जोडेको छ। काम वा जिन्दगीको जस्तो तनाव भए पनि फिल्डमा आएर साथीहरूसँग खेल्दा मानसिक तनाव हट्छ र दिमागमा हर्ष आउँछ।”
आयोजक क्रियामण फाउन्डेसनका अध्यक्ष तथा सीईओ भरत तिम्सिनालेखेलकुदमार्फत युवा तथा अभिभावकलाई सँगै ल्याएर मानसिक स्वास्थ्य सचेतना जगाउन यो लिग सुरु गरिएको बताए ।
“मे महिनादेखि सुरु भएको यस लिगमा ४ टिमले १२ खेल खेले। विक डेजको व्यस्तता, कामको थकान र परिवार हुँदाहुँदै पनि एक सय जना खेलाडीहरू प्रत्यक्ष रूपमा मैदानमा जोडिएर जुन उर्जा देखाउनुभयो, त्यो अतुलनीय छ।” तिम्सिनाले भने ।
उनले अब यो लिग एउटा ब्राण्ड बनिसकेको र यसलाई अर्को लेभलमा लैजाने कुरा खेलप्रेमीहरूकै हातमा भएको बताए ।
“यसपालि दर्शक र कम्युनिटी लिडर्सहरूको उपस्थिति पनि निकै राम्रो रह्यो। लिगलाई सफल बनाउन व्यवस्थापक (म्यानेजर) सुक तामाङको ठूलो श्रेय छ।” तिम्सिनाले भने ।
खेल पछि एक समारोहका बीच विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो।
खेलाडीहरूलाई भुटनिज कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (बीसीसीपीएका) का अध्यक्ष युवराज कोइराला, लोअर प्याक्सटन टाउनसिपका प्रतिनिधि, अन्नपूर्ण इन्स्योरेन्स एजेन्सीका प्रतिनिधि प्रताप मगर तथा स्थानीय सामाजिक व्यक्तित्व रोशन मिश्र लगायतले पुरस्कार तथा अवार्डहरू वितरण गरेका थिए ।

















