ल्यानक्यास्टरमा ‘पहिलो प्रेम’ का लागि दुई घण्टा, १६ वर्षे तन्नेरीदेखि हजुरबुवासम्म
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पछाडिको भित्तामा कालो पर्दा छ। त्यसको अगाडि बैजनी रङको बत्ती बलिरहेको छ। ठिक अगाडि एउटा कुर्सी र माइक राखिएको छ। दाहिनेतर्फ ‘मनदेखि मनसम्म’ को बोर्ड।
कुर्सीमा बस्ने व्यक्तिमात्र देखिने गरी कोठामा प्रकाशको व्यवस्था गरिएको छ। त्यही कुर्सीमा शनिबार साँझ दुई दर्जनभन्दा बढी व्यक्तिले ‘पहिलो प्रेम’ शीर्षकमा कविता सुनाए।
त्यसरी कविता सुनाउनेहरूमा १६ वर्षे तन्नेरीदेखि हजुरबुवासम्म थिए। कतिले आफ्नै कविता सुनाए, कतिले अरूका।
हरेक कविका पहिलो प्रेम फरक थिए। कसैले आमाको काँखमा पहिलो प्रेम देखे भने केहीले बुवाको काँधमा।
कोही आफ्नी श्रीमतीको ‘ओठ’ मा पहिलो प्रेम झल्काउँदै थिए। केहीले पठ्यारै लाग्ने गरी लामा कविता सुनाए। केहीका छोटा र मिठा कविता थिए।
गजलकार त्रिविक्रम नेउपाने आफ्ना माइला छोरासहित कविता वाचनका लागि पुगेका थिए।
‘यसलाई पनि बानी पार्नुपर्यो भनेर ल्याएको छु।’ वाचन सुरु हुनु अगाडि नेउपानेले भने।
उनीहरू दुवैले कविता सुनाए। लगभग दुई घण्टा निरन्तर कविता सुनाउने क्रम चलिरह्यो।
कार्यक्रम सुरु हुनु अगाडि कविता वाचनको सूचीमा रहेका मध्येका एक गोविन्द अधिकारीले नियमहरू सुनाए।
‘हामीकहाँ उद्घोषक हुने छैनन्। कविहरूको क्रम हामीले निर्धारण गरेका छौँ। एकले वाचन गरेपछि तपाईंहरू पालैपालो आउनुहोला।’ अधिकारीले थपे, ‘कृपया यो अवधिभर आवाज ननिकाली, सकभर फोन पनि नचलाइदिनुहोला। हामीले हजुरहरूबाट त्यही अपेक्षा गरेका छौँ।’
पृष्ठभूमिमा मधुरो सङ्गीत बजिरहेको थियो। त्यही धुनमा सहभागीहरूले एकपछि अर्को गर्दै कविता वाचन गर्दै गए।
आफ्ना राम्रा गुणहरू खोज,
कमजोरीहरू निकाल्नका लागि त मान्छेहरू छन्।
यदि राख्नै छ भने पाइला अगाडि राख,
पछाडि तान्नका लागि त मान्छेहरू छन्।
अमेरिकामा जन्मिएकी १६ वर्षीया सृष्टिका ढकालले कविता वाचन गर्दै जाँदा उनको प्रस्तुति कुनै अनुभवी कविकै जस्तो देखिन्थ्यो।

‘मैले स्टेजमा पहिलो पटक कविता वाचन गरेकी हुँ।’ कार्यक्रमपछि सृष्टिकाले समाज टाइम्ससँग भनिन्, ‘यो कार्यक्रम हुँदै छ भन्ने थाहा पाएपछि मलाई पनि मनमा लागेको थियो, केही सुनाऊँ कि भनेर। बुवाले पनि भन्नुभयो र आएँ।’
उनले सुरुमा आफूलाई डर लागेको तर अब आफैँले पनि लेख्नुपर्ने भन्ने भएको बताइन्।
‘आज वाचन गरेको रचना मैले सामाजिक सञ्जालमा भेटेको हो। मानिसहरूको अगाडि आउन र बोल्न कस्तो हुन्छ भन्ने लागेको थियो। अब डर हट्यो।’ ढकालले भनिन्, ‘अब फेरि पनि कविता भन्ने हो।’
‘मनदेखि मनसम्म’ को आठौँ शृङ्खलामा पहिलो पटक कविता वाचन गर्ने सृष्टिकादेखि यसै क्षेत्रमा ख्याति कमाएका नामहरू पनि थिए।
साहित्य परिषद् भुटानको ‘सुकरा पुरस्कार’ द्वारा उत्कृष्ट गीतकारका रूपमा सम्मानित गोविन्द हुमागाई पनि ह्यारिसबर्गबाट ल्यानक्यास्टर झरेका थिए।
उनले आफ्नो हालसालै प्रकाशित ‘फूलको आँसु’ गीतसङ्ग्रहबाट रचना सुनाए।

नयाँ र पुरानाहरूको सङ्गम नै कार्यक्रमको सौन्दर्य भएको हुमागाईले बताए।
“हामीले लेखेका सिर्जनाहरू कापीमै मात्र सीमित राख्ने कि कतै गएर सुनाउने? ‘मनदेखि मनसम्म’ जस्ता मञ्चहरूले नयाँ पुस्तादेखि स्थापित सर्जकहरूलाई आफ्ना भावना पोख्ने अवसर दिएका छन्।” उनले भने।
हुमागाईले जब कुनै पनि सर्जकले आफ्ना सिर्जना र मनका कुरा मञ्चमा पोख्न पाउँछ, त्यो नै उसका लागि सबैभन्दा ठूलो खुसी हुने बताए।
हुमागाईले ‘मनदेखि मनसम्म’ का आठमध्ये दुई संस्करणमा आफूले पनि कविता वाचन गरेको बताए।
‘मनदेखि मनसम्म’ कार्यक्रमका परिकल्पनाकारमध्येका एक तथा विश्व भूटान साहित्य परिषद् (जीबीएलओ) का अध्यक्ष पातलो अन्तरेले आफूहरूले सोचेअनुसार नै कार्यक्रम अगाडि बढिरहेको बताए।
‘समाजमा अरू विधाका कार्यक्रम धेरै भइरहेका थिए, तर विशुद्ध कविताका लागि मात्रै एउटा मञ्च बनोस् र यसले समाजका घटनाक्रमलाई समेट्दै एउटा मनदेखि अर्को मनसम्म जोड्न सकोस् भनेर हामीले यो अवधारणा ल्याएका हौँ।’ अन्तरेले भने, ‘आज आठौँ शृङ्खलासम्म आइपुग्दा हामीले सोचेको त्यो उद्देश्य पूरा हुँदै गएको अनुभव भइरहेको छ।’
पातलो अन्तरेका अनुसार ‘मनदेखि मनसम्म’ चार जनाको संयुक्त परिकल्पना हो।
‘सुरुमा भरत तिम्सिना, मदन दुलाल, शेखर कोइराला र म बसेर विशुद्ध कविताको मञ्चबारे सल्लाह गरेका थियौँ। अन्तिम चरणमा “मनदेखि मनसम्म” नाम तय गरेर यसलाई ट्रेडमार्कका रूपमा अघि बढायौँ। आज अरू स्रष्टा र प्रस्तोताहरूले पनि हाम्रो यो मूल भावना बुझ्दै जानुभएको छ। जुन उद्देश्यले सुरु गरेका थियौँ, कार्यक्रम त्यही गतिमा अगाडि बढिरहेको छ र हामीले पछाडि फर्केर हेर्नुपरेको छैन।’
हुन पनि ‘मनदेखि मनसम्म’ जुन–जुन सहरमा पुगेको छ, त्यहाँ आत्मीयता पाएको छ। हरेक सहरमा फरक–फरक संस्था आयोजक हुने गर्छन्।
‘मनदेखि मनसम्म’ को आठौँ शृङ्खलाको आयोजना साहित्य कला सङ्गम ल्यानक्यास्टरले गरेको हो।
‘कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु।’ अलि अगाडि स्रष्टाका रूपमा त्यही कुर्सीमा देखिएका साहित्य कला सङ्गमका अध्यक्ष दीपेश चापागाईँ कार्यक्रमको बिट मार्न त्यही कुर्सीमा फर्किएका थिए।
त्यही बेला चापागाईँका परिवारका सदस्यहरूले सहभागीहरूलाई सेलरोटीसहितका खाजाका प्लेट थमाउँदै थिए।
कविता पछि सेलरोटीको स्वादले कार्यक्रमको मैजारो गरियो ।
‘मनदेखि मनसम्म’ को पहिलो संस्करण २०२५ को फेब्रुअरी दोस्रो सातामा ह्यारिसबर्गबाट सुरु भएको हो।
त्यसपछि पेन्सिल्भेनिया र ओहायोका विभिन्न सहरहरूमा यो कार्यक्रम हुँदै आएको छ।
र यो पनि…















