पछिल्लो १८ महिनामा ३० लाख बढी अवैध आप्रवासीहरूले अमेरिका छोडे, ८४ बिलियन जरिवाना
वासिङ्टन / राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको १८ महिनामा ३० लाख भन्दा बढी अवैध आप्रवासीहरूले अमेरिका छोडेको र ८४ बिलियन अमेरिकी डलर जरिवाना गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अमेरिकी गृह विभाग डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) द्वारा बिहीबार जारी विज्ञप्तिमा अमेरिका छोड्न अस्वीकार गर्ने गैरकानुनी आप्रवासीहरूलाई ८४ बिलियनभन्दा बढीको जरिवाना जारी गरेको घोषणा गरेको छ।
ट्रम्प प्रशासनको सुरुवातदेखि नै डीएचएसले गैरकानुनी आप्रवासीहरूलाई कुल एक लाख तीन हजार बढी जरिवाना जारी गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस जरिवानामा निष्कासनको अन्तिम आदेश पाएपछि पनि स्वेच्छाले देश नछोड्ने कुनै पनि गैरकानुनी आप्रवासीका लागि दैनिक ९९८ को जरिवाना समावेश छ।’ विज्ञप्तिमा भनिएको छ,
‘राष्ट्रपति ट्रम्प र सचिव मुलिनको नेतृत्वमा, डिएचएसले हाम्रो देशबाट आपराधिक गैरकानुनी आप्रवासीहरूलाई हटाउन पहिलेभन्दा धेरै तीव्र गतिमा काम गरिरहेको छ,’ सहायक सचिव लरेन बिसले भने ‘गैरकानुनी आप्रवासीहरूका लागि हाम्रो सन्देश स्पष्ट छ: तुरुन्तै देश छोड्नुहोस्। यदि तपाईँले त्यसो गर्नुभएन भने, तपाईँले जरिवाना, पक्राउ, र देश निकाला सहितका परिणामहरूको सामना गर्नुपर्नेछ।’
उनले गैरकानुनी आप्रवासीहरूसँग ‘सीबीपी होम’ एप प्रयोग गरेर घर फर्कनका लागि निःशुल्क हवाई टिकट र २६ डलर प्राप्त गर्ने वा जरिवाना, पक्राउ र देश निकालाको सामना गर्ने मध्ये एक विकल्प रहेको बताए ।
ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई देश छोड्न प्रोत्साहित गर्नका लागि विभिन्न उपायहरू सार्वजनिक गरेको हो ।
जुन २०२५ मा, डीएचएस र अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस ( डिओजे) ले गैरकानुनी आप्रवासीहरूलाई जरिवाना गर्ने प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउने घोषणा गरेका थिए। यस अन्तर्गत जरिवाना जारी गर्ने मनसाय घोषणा गर्ने ३० दिने सूचना अवधिलाई खारेज गर्ने, डिएचएसका अध्यागमन अधिकारीहरूलाई साधारण हुलाक मार्फत गैरकानुनी आप्रवासीहरूलाई जरिवाना पठाउने अधिकार दिने, र गैरकानुनी आप्रवासीहरूले आफ्नो जरिवाना विरुद्ध उजुरबाजुर गरेमा लागू हुने प्रक्रियालाई छोटो बनाउने कुराहरू समावेश थिए।
डिएचएसले आफैँ देश नछोड्नेहरूले “ठूलो आर्थिक दण्ड” भोग्नुपर्ने चेतावनी दिएको छ ।
डिएचएसका अनुसार आपराधिक रेकर्ड नभएका र स्वेच्छाले अमेरिका छोड्ने अवैध आप्रवासीहरूले अमेरिकामा रहँदा कमाएको पैसा राख्न पाउने बताएको छ । यस्तै भविष्यमा कानुनी रूपमा आप्रवासन प्रक्रिया अगाडि बढाउने योग्यता सुरक्षित राख्न सक्नेछन्।
‘केही व्यक्तिहरू, जो घर फर्कने यात्रा खर्च ब्यहोर्न सक्दैनन्, उनीहरूले सहुलियतपूर्ण उडानहरूको लागि पनि योग्यता पाउन सक्छन्।’ डिएचएसले उल्लेख गरेको छ ।
डिएचएसले ट्रम्प कार्यालयमा फर्किए पछि अहिले सम्म ३० लाखभन्दा बढी अवैध आप्रवासीहरूले अमेरिका छोडेको बताएको छ । विभागले तीमध्ये अनुमानित २२ लाख आप्रवासीहरू आफैँ देश छोडेर गएको भनेको छ । डिएचएसका अनुसार बाँकीलाई देश निकाल गरिएको हो ।















