स्पेन फिफा वरीयताको शीर्ष स्थानमा, नर्वेको ऐतिहासिक छलाङ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन फिफा पुरुष विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। ‘ला रोहा’ नामले चिनिने स्पेनले गत अप्रिलमा गुमाएको आफ्नो साम्राज्य फिर्ता गर्दै उपविजेता अर्जेन्टिनालाई पहिलो स्थानबाट विस्थापित गरेको हो।
न्यु योर्क न्यु जर्सी रंगशालामा आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले आफ्नो जर्सीमा दोस्रो ‘स्टार’ थपेको थियो। यो जितसँगै स्पेनले दोस्रो स्थानमा झरेको साबिक विजेता अर्जेन्टिनाभन्दा फराकिलो अंकको अग्रता समेत बनाएको छ।
विश्वकपका १०४ खेलसहित यस अवधिमा खेलिएका कुल १०५ अन्तर्राष्ट्रिय खेलहरूको नतिजाका आधारमा फिफाले मंगलवार नयाँ वरीयता सार्वजनिक गरेको हो। यस पटकको वरीयतामा विश्वकपका ४८ टोलीहरूको प्रदर्शनले गर्दा ठूलो फेरबदल आएको छ।
शीर्ष १० मा मेक्सिकोको पुनरागमन, जर्मनी बाहिरियो
नयाँ वरीयता अनुसार ब्राजिल पाँचौँ र मोरक्को छैटौँ स्थानमा उक्लिएका छन्। उनीहरूले अन्तिम १६ बाटै बाहिरिएको पोर्चुगल (सातौँ स्थान) लाई पछि पारेका हुन्। बेल्जियम आठौँ स्थानमा उक्लिँदा नेदरल्याण्ड्स नवौँ स्थानमा झरेको छ।
विश्वकपको सह-आयोजक मेक्सिको ४ स्थानको सुधार गर्दै १० औँ स्थानमा पुग्न सफल भएको छ। सन् २०२२ मार्चपछि मेक्सिको पहिलो पटक शीर्ष १० मा फर्किएको हो। अर्कोतर्फ, पूर्व विजेता जर्मनी २ स्थान तल झर्दै १२ औँ स्थानमा पुगेर शीर्ष १० को सूचीबाट बाहिरिएको छ।
नर्वेको ऐतिहासिक छलाङ
यस पटक विश्वकपको क्वार्टरफाइनलसम्म पुगेर सबैलाई अचम्ममा पारेको नर्वेले वरीयतामा सबैभन्दा ठूलो फड्को मारेको छ। नर्वे १२ स्थान माथि उक्लँदै १९ औँ स्थानमा पुगेको छ। यो सन् २०११ अगस्टपछिकै नर्वेको उत्कृष्ट वरीयता हो। अर्को क्वार्टरफाइनलिस्ट स्विट्जरल्याण्ड पनि ५ स्थान सुधार गर्दै १५ औँ स्थानमा पुगेको छ।
यस्तै इजिप्ट (२४ औँ), पाराग्वे (३४ औँ), कंगो डीआर (४१ औँ), दक्षिण अफ्रिका (५४ औँ) र घाना (६५ औँ) को वरीयतामा पनि राम्रो सुधार देखिएको छ।
यी देशलाई लाग्यो धक्का
विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेका टर्की (२७ औँ), दक्षिण कोरिया (३२ औँ), पानामा (४४ औँ) र चेकिया (४८ औँ) को वरीयता खस्किएको छ। सबैभन्दा ठूलो धक्का ट्युनिसियालाई लागेको छ, जुन १२ स्थान तल झर्दै ५७ औँ स्थानमा पुगेको छ। उज्बेकिस्तान (६० औँ) र ट्युनिसिया शीर्ष ५० को सूचीबाट बाहिरिँदा चिली (४९ औँ) र पेरु (५० औँ) ले शीर्ष ५० मा ठाउँ बनाएका छन्।
मुख्य तथ्याङ्कहरू:
- सबैभन्दा धेरै खेल खेल्ने टोली: अर्जेन्टिना, इङ्गल्याण्ड, फ्रान्स र स्पेन (प्रत्येकले ८ खेल)
- अंकका आधारमा बढी फाइदा: स्पेन (१२१.१७ अंक)
- अंकका आधारमा बढी घाटा: पानामा (६०.७५ अंक)
फोटो : फिफा
















