मेसीलाई दश वर्षमा दोस्रो पटक रुवाउने मेटलाइफ रङ्गशाला
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / विश्व फुटबलका महान खेलाडी लियोनेल मेसीका लागि अमेरिकाको न्यु जर्सी स्थित मेटलाइफ रंगशाला फेरि एक पटक पिडादायी बन्यो ।
एउटा यस्तो रंगशाला जसले मेसीलाई दश वर्षमा दुई पटक आँसु दियो। ठ्याक्कै १० वर्ष अगाडी सन् २०१६ मा मेसी यो रंगशालामा भक्कानिएर रोएका थिए । आइतवार फिफा विश्व कपको फाइनल पछि उनी भलभली रोए । मेसीका दुबै आँखाबाट भलभलि आँशु बगेको क्यामेरामा कैद भए।
३९ वर्षका मेसी लगातार दोस्रो पटक फिफा विश्व कपको उपाधि जित्ने अभियानबाट मात्र एक कदमले टाडा भए ।
सन् २०१६: पेनाल्टी मिस, निराशा र संन्यासको त्यो रात
१० वर्षअघि सन् २०१६ को जुन महिनामा मेटलाइफ रङ्गशालामा कोपा अमेरिकाको फाइनल खेल । अर्जेन्टिना र चिलीबीचको उक्त भिडन्त निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलियो।
अर्जेन्टिनाका लागि पहिलो पेनाल्टी प्रहार गर्न कप्तान मेसी अगाडि सरे। तर, उनको प्रहार क्रसबारभन्दा निकै माथिबाट बाहिरियो। अर्जेन्टिना फेरि एकपटक फाइनलमा पराजित भयो।
खेल सकिएलगत्तै मेसी मैदानको बीचमै घुँडा टेकेर भक्कानिए। त्यतिबेला उनको आँसुमा हारको पीडा मात्र थिएन, देशका लागि लगातार फाइनल गुमाउनुको चरम ग्लानि थियो।
त्यही रात रङ्गशालाबाट बाहिरिनुअघि उनले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा समेत गरे ।
भलै पछि उनका समर्थक, यति सम्म कि अर्जेन्टिनाका अर्का महान खेलाडी डिएगो आर्मान्डो म्यारोडोना र अर्जेन्टिनाका तत्कालिन राष्ट्रपतिको अनुरोधमा उनी टिममा फर्किए ।
क्लब फुटबलमा जादु चलाउदै आएका मेसीलाई राष्ट्रका लागि भने खेल्न नकेको भनेर आलोचना हुने गरेको थियो । सन्यास फिर्ता पछि मेरीले अमेरिकालाई कोपा अमेरिका र विश्व कपको उपाधि दिलाए ।
ठीक १० वर्षपछि, सन् २०२६ जुलाई १९ मा मेसी तिनै समर्थक र त्यही मेटलाइफ रङ्गशालामा फर्किए। तर यसपटक उनी पुराना मेसी थिएनन्, उनी विश्वकप र दुई पटकका कोपा अमेरिका च्याम्पियन भइसकेका महान् ‘लिजेन्ड’का रूपमा मैदान उत्रिएका थिए। फाइनलमा प्रतिद्वन्द्वी थियो बलियो स्पेन।
३९ वर्षका मेसीका लागि यो खेल जीवनकै सम्भवत अन्तिम विश्वकप खेल थियो र उनी उपाधि रक्षा गर्दै सुखद बिदाइ चाहन्थे। खेल निकै प्रतिस्पर्धात्मक रह्यो, ९० मिनेटसम्म दुवै तर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा गयो। तर अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले गोल गरेपछि अर्जेन्टिना १-० ले पछि पर्यो र खेल त्यही नतिजामा सकियो।
रेफ्रीको अन्तिम सिट्ठी बज्ने बित्तिकै मेसी मैदानमा थचक्क बसे र आफ्नो अनुहार हातले छोपे। यसपटकको दृश्य झनै मार्मिक थियो। टेलिभिजनका ठूला स्क्रिन र क्यामेराहरू मेसीको अनुहारमा केन्द्रित थिए, जहाँ उनको दुवै आँखाबाट आँसु भलभली बगेर गाला हुँदै खसिरहेको प्रस्ट देखिन्थ्यो।
उपविजेताको मेडल थापेर जब उनी रङ्गशालामा उपस्थित अर्जेन्टिनी समर्थकहरूतिर फर्किए, उनको रोदन थामिनसक्नु थियो। उनीसँगै संसारभरिका करोडौँ फुटबल प्रेमीहरू पनि भावुक बने।
भाग्यको अनौठो चक्र मेटलाइफ रङ्गशाला र मेसीको सम्बन्ध फुटबल इतिहासकै एउटा अनौठो र वियोगान्त संयोग बन्न पुग्यो।
















