अमेरिका निवासी कराते प्रशिक्षक सिहान शान्त थोकरलाई ‘सातौँ डान’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिका निवासी कराते प्रशिक्षक सिहान शान्त थोकरले ‘सातौँ डान’ प्राप्त गरेका छन् ।
जुलाई १७ तारिख अमेरिकाको वासिङ्गटन सियाटलमा सम्पन्न नेश्नल कराते च्याम्पियनसिपमा थोकरले यो उच्च स्तरको सफलता पाएका हुन् ।
सन् २००७ देखि अमेरिकाको न्यु योर्कमा कराते स्कुल सञ्चालन गर्दै आएका थोकरले सन् २०१६ मा छैटौँ डान लिएका थिए ।
‘कराते-डो को कलामा पुर्याउनुभएको योगदान र तपाईँको उपलब्धिहरूको कदर गर्दै
७ औँ डान प्रदान गरिएको छ।’ यूएसए नेशनल कराते-डो फेडरेशनकी अध्यक्ष एलिसा अउद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
‘छैटो पछि सातौँ सात पर्छ लिनु पर्ने हो । तीन वर्ष ढिला भयो । खुसी छु ।’ सातौँ डान प्राप्त गरे पछि समाज टाइम्स सँगको कुराकानीमा सिहान थोकरले भने ।’
अमेरिकामा सातौँ डान प्राप्त गर्ने थोकर पहिलो नेपाली हुन । त्यसो त नेपालमा पनि औलामा भाँच सकिने प्रशिक्षकहरूले मात्र यो सफलता पाएका छन् ।
‘मेरो लामो यात्रा, ४५ वर्षको मेहनत । ढिलै भए पनि यहाँ पुगे । मेरो परिश्रम निरन्तरता । विश्व कराते महासंघको यो तहमा पुग्नु यो गौरवकै कुरा हो ।’ थोकरले भने ।

करातेमा डान भनेको के हो ?
करातेमा ‘डान’ भनेको ब्ल्याक बेल्ट प्राप्त गरिसकेपछिका उच्च प्रगतिका तहहरू हुन्।
साधारण भाषामा, ‘क्यु’ले ब्ल्याक बेल्टभन्दा अगाडिका तहहरू जस्तै: सेतो, पहेँलो, हरियो, खैरो बेल्ट लाई बुझाउँछ भने ‘डान’ ले ब्ल्याक बेल्टभित्रको विशेषज्ञता र सिनियर स्तरलाई बुझाउँछ।
करातेमा सामान्यतया १ देखि १० डान सम्मका तहहरू हुन्छन्। पहिलो डानबाट यो यात्रा सुरु भएर १० औँ डानमा पुग्दा यो विधाको सर्वोच्च शिखर मानिन्छ।
डान कसरी प्राप्त हुन्छ ?
करातेमा डानको वर्गीकरणलाई मुख्यत तीनवटा चरणमा बुझ्न सकिन्छ ।
योदांशा १ देखि ४ डान : यो चरणलाई ‘प्रविधिको चरण’ भनिन्छ। यसमा खेलाडीको शारीरिक क्षमता, लडाइँको कौशल र काताको शुद्धताको कडा परीक्षा लिइन्छ।
कोदांशा ५ से ७ डान : यो ‘मास्टर’ वा विशेषज्ञको चरण हो। यसमा ६ डानलाई ‘रेन्सी’ र ७ डानलाई ‘क्योसी’ को उपाधि दिइन्छ।
यहाँ पुगेपछि शारीरिक कला मात्र नभएर करातेको दर्शन, शिक्षण क्षमता, र खेलको विकासमा पुर्याएको योगदान हेरिन्छ।
सुआन्शा ८ देखि १० डान: यो ‘ग्रान्ड मास्टर’ को उच्च मानार्थ दर्जा हो, जसलाई ‘हान्सी’ भनिन्छ।
यो तह पाउन जीवनभर (कम्तीमा ५०-६० वर्ष) करातेमा योगदान दिएको हुनुपर्छ।
डान प्राप्त गर्ने प्रक्रिया र कडा मापदण्ड
करातेमा माथिल्लो डान प्राप्त गर्न केवल खेल जित्नु मात्र पर्याप्त हुँदैन। यसका लागि विश्व कराते महासंघ (डब्लुकेएफ) वा सम्बन्धित आधिकारिक एशोसिएशनहरूले निश्चित नियमहरू तोकेका हुन्छन् ।
‘टाइम इन ग्रेड’ अर्थात् अनिवार्य प्रतीक्षा अवधि । जतिसुकै राम्रो खेलाडी भए पनि एक डानबाट अर्को डानमा जान निश्चित वर्षहरू निरन्तर अभ्यास गर्दै पर्खिनुपर्छ। सामान्य नियम यस्तो हुन्छ।
पहिलोबाट दोस्रो डानमा जान कम्तीमा १ देखि २ वर्षको निरन्तर अभ्यास चाहिन्छ । दोस्रोबाट तेस्रोमा दुई देखी तीन वर्ष समय लाग्छ ।
यस्तै छैटौबाट सातौमा जान कम्तिमा ६ देखि सात वर्ष सम्म निरन्तर करातेको साधना गरेको हुनु पर्ने हुन्छ ।
त्यसो त डान पाउन उमेरको हदबन्दी पनि हुन्छ । विशेष गरी ५ औँ डानभन्दा माथिका लागि मार्सल आर्ट्सको इतिहास, सिद्धान्त, मानव शरीरको संरचना, र कराते दर्शनमा आधारित लिखित निबन्ध बुझाउनुपर्छ।
थोकरले सन् १९९७ को नोभेम्बरमा नेपाल शोतोकान कराते एशोसिएशनबाट र सोही वर्षको डिसेम्बरमा जापान कराते एशोसिएशनबाट पहिलो डान लिएका थिए ।
यस्तै सन् २००० मा जापान कराते एशोसिएशनबाट दोस्रो डान, सेप्टेम्बर २००३ मा केडब्लुएफ जापानबाट तेस्रो डान, अक्टोबर २००५ मा फुनाकोशी शोतोकान कराते एशोसिएशन अमेरिकाबाट चौथो डान, र त्यसपछि इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएशन यूएसए बाट क्रमशः सन् २००८ मा चौथो डान, २०१३ मा पाँचौँ डान तथा २०१६ मा छैटौँ डान हासिल गरेका थिए ।
खासमा ‘डन‘ बन्न चाहन्थे थोकर
शान्त थोकर दोलखा जिल्लका हुन् । जसै उनी तन्नेरी हुँदै थिए, देखासिकीमा उनलाई ‘डन’ बन्ने रहरले छोएको थियो । हुन पनि चालिसको दशक अघिको नेपाली गाउँले समाजमा युवाहरूको अनौठो सोख हुन्थ्यो । आफू बलियो कसरी हुने । अर्थात् गाउँ टोलमा डन कसरी बन्ने ।
मनोरञ्जनका साधन भनेकै समय समयमा लाग्ने हाट बजार, मेला पर्दथे । मेलामा जाँदा ओल्लो गाउँ र पल्लो गाउँ बिचमा झैँ झगडा हुनु सामान्य । त्यस्ता झगडामा कुन गाउँले जित्यो त्यसमा पनि कुन केटाले खतरा कुट्यो त्यो त्यस क्षेत्रकै चर्चित व्यक्ति । अहिलेको परिभाषामा “डन” ।
दोलखाको भेडपुका १५ बर्षे ठिटो शान्त थोकरलाई पनि त्यस्तै डन बन्ने हुटहुटी जाग्यो । कसरी बलियो बन्ने ? गाउँमा पुलिस आर्मीमा जागिर खाने धेरै थिए । उनीहरू छुट्टीमा आउँदा हुस्…. हा… हु…..को आवाज निकाल्दै कसरत गर्दथे । शान्त थोकरले चासो दिए, उनीहरूले कराते खेलेका रहेछन् ।
काका धनबहादुर र भीम लामा व्याल्कवेल्ट। उनीहरू गाउँमा आउँदा करातेका बारेमा गफ गर्थे । दुई चार वटा किक पनि देखाउँथे । किकले शान्ता थोकरलाई आकर्षित बनायो । ओहो बजार गएको बेलामा पनि यस्तै किक हानियो भने त दुई चार जना त्यसै ढालिन्छ, गम्दै उनी पनि कराते किक हान्न सिक्न थाले । डोरी टाँगेर कसले माथि हान्ने भन्ने साथीहरू बिचमा होडबाजी नै ।
जे सोचेर शान्त थोकरले कराते सिक्न शुरु गरेका थिए, त्यसको प्रयोग उनलाई गर्न परेन । तर कराते शुरु गर्दा जुन कुरा उनले सोचेका पनि थिएनन् त्यो अहिले भोग्दै छन् । शान्त थोकर डन होइन डानको सिडी चढ्दै गए ।
र अहिले अमेरिकामा एक पछि अर्को सफलता सात पर्दै सातौँ डानको प्रमाण पत्र पाएका छन् ।
अमेरिकामा कराते स्कुल स्थापना. गर्ने पहिलो नेपाली
थोकर अमेरिकामा कराते स्कुल सञ्चालन गर्ने पहिलो नेपाली हुन् । त्यो मात्र होइन । उनी कराते प्रतियोगिता सञ्चालन गर्ने पहिलो नेपाली पनि बनेका छन्।
थोकरले यो यात्रा सजिलै नापेका होइनन् । चरिकोट स्थित कालिङचोक माविबाट २०४२ सालमा एसएलसी परीक्षा दिए पछि उच्चशिक्षाका लागि शान्त हानिए काठमाडौँ । भीम लामा प्रहरी तालिम केन्द्रमा कराते प्रशिक्षक थिए । उनकै सिफारिसमा शान्त पशुपति वनकाली लागे, जहाँ मानबहादुर तामाङले डोजो सञ्चालन गरेका थिए ।
दोलखा हुँदा शान्तलाई कराते भन्ने थाहा थियो । काठमाडौँ आए पछि कुन कराते भन्ने प्रश्न तेर्सियो। सितोरियो र क्योकिसिन मात्र राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको थियो । वनकालीमा वादोरियो सिकाइन्थ्यो । उनी वन काली नै लागे ।
“गाउँमा हुँदा पनि सेल्फ डिफेन्सका लागि भनेर करातेमा लगाव बढेको हो, सितोरियो सेमीकन्ट्याक्ट थियो, त्यति धेरै चर्चामा पनि थिएन, मलाइ फुलकन्टयाक्ट मन पर्ने, त्यसैले वादोरियोमा जाने निर्णय गरे।” कराते रोजाइका बारेमा थोकरले प्रस्टाए।
“गाउँमा आफू बलियो हुनका लागि सिकियो, जात्रा जाँदा बलियो हुने भन्ने हुन्थ्यो, तर जब कराते पढ्दै गए त्यस्तो होइन, कराते भनेको हा… हु … गर्ने होइन अनुशासन हुन्छ भन्ने थाहा भयो।”
६ वर्ष जतिको प्रशिक्षण पछि उनले ब्याल्कबेल्ट पाए । वादोरियो कराते पनि परिषद्मा दर्ता भयो । शान्त आफै पनि कराते प्रशिक्षक बने । २०४९ सालमा पहिलो पटक वादोरियोको राष्ट्रिय प्रतियोगिता आयोजना भयो । दुई सय जनाले भाग लिएका थिए । सबैलाई खुला तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो । शान्तले स्वर्ण पदक जिते । जीवनको पहिलो ठुलो स्वर्ण । गणेश खड्का, मणि लामा लगायतलाई हराएका थिए।
त्यो स्वर्ण पछि शान्तले वादोरियो सँगको साइनो तोडे, सोतोकानमा लागे । पेम्वा तामाङ प्रमुख प्रशिक्षक थिए । जापानमा सिकेर आएका थिए पेम्वाले कराते । “पेम्वा गुरुबाट नयाँ कुरा सिक्न पाइन्छ भन्ने लायो, उनले जापानमा सिकेको राम्रो सिकाउँछन् भन्ने लाग्यो।” उनले भने।
वादोरियोमा व्याल्कबेल्ट लिएका शान्तले सातोकानमा शून्यबाटै शुरु गरे । “नयाँ“ कराते भएकाले मैले फेरी शुरुबाट नै सिक्नु पर्ने भयो, ६ महिनामा ग्रिन र एक वर्षमा ब्राउनवेल्ट लिए, एक पटक कराते सिकिसकेको भएर अप्ठेरो भएन।”
सातोकान सिकेको एक वर्षमा २०५१ सालमा राष्ट्रिय प्रतियोगिता भयो । त्यसमा पनि खुल्ला तौलमा उनले स्वर्ण पदक जिते । “ग्रिन बेल्ट लिए पनि म आफै जुनियर प्रशिक्षक पनि थिए त्यसले पनि मलाइ खेल्न सजिलो भयो ।”
सन् २००० मा काठमाडौँमा नै भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सोतोकान च्याम्पियनसिपमा शान्तले दोहोरो स्वर्ण जिते । उनले एकल र टिम स्पर्धामा स्वर्ण पाएका थिए । दुई पटक विश्व च्याम्पियनसिप खेल्ने क्रममा उनले काश्य पदक हात पारे । सन् २००५ मा अमेरिकाको लसभेगासमा भएको विश्व च्याम्पियनसिपमा ३५ वर्ष उमेर माथि काता कुमुते दुबैमा कास्य पदक जितेका थिए ।
सन् २००७ देखि अमेरिका बस्दै आएका थोकरले कराते स्कुल स्थापना गर्दै सन् २०२४ देखि प्रतियोगिता पनि सञ्चालन गर्दै आएका छन् ।
निर्णायकमा पनि खुड्किलो
थोकर नेपाल कराते महासंघको राष्ट्रिय रेफ्री, यूएसए नेशनल कराते-डो फेडरेशन र प्यान अमेरिकन कराते-डो फेडरेशन रेफ्रि तथा विश्व कराते महासंघ डब्लुकेएफको जज लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली पनि हुन् ।
नेपाल शोतोकान कराते एशोसिएशनको प्रमुख प्रशिक्षक र महासचिव, नेपाल कराते महासंघको केन्द्रीय सदस्य, तथा केडब्लुएफ (जापान) र एफएसकेए (यूएसए) को लागि कन्ट्री रिप्रिजेन्टेटिभ जस्ता महत्त्वपूर्ण नेतृत्वदायी भूमिका सम्हालिसकेका छन्।
हाल, ‘आइएमए निहोन कराते डो यूएसएका ‘ को अध्यक्ष र मुख्य प्रशिक्षकको रूपमा कार्यरत छन् ।
















