पेन्सिल्भेनियामा ल्यानक्यास्टरमा नेपाली मैत्रीपूर्ण टेनिस प्रतियोगिता, आठ टिम सहभागी
ल्यानक्यास्टर पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा नेपाली मैत्रीपूर्ण टेनिस प्रतियोगिता हुने भएको छ।
नेपाली समुदायबिच भाइचारा र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मे ९ र १० तारिखमा (शनिवार र आइतबार) हुने प्रतियोगितामा तीन राज्यका आठ टिमले भाग लिने छन्।
आयोजक मध्येका एक डा. राज घिमिरेका अनुसार हेम्पफिल्ड रेक सेन्टरमा प्रतियोगितामा आयोजना हुने छ । घिमिरेका अनुसार प्रतियोगितामा मेरिल्यान्डबाट चार, पेन्सिल्भेनियाबाट दुई र डेलावेयरबाट दुई गरी कुल आठ टिमको सहभागिता रहने निश्चित भएको छ।
प्रतियोगिता दुई दिनसम्म चल्नेछ। शनिबार (मे ९) बिहान ८:०० बजेदेखि समूह चरणका खेलहरू सुरु हुनेछन् भने आइतबार (मे १०) नकआउट चरण र फाइनल खेलहरू सञ्चालन गरिनेछन्।
प्रतियोगिता ‘ओपन लेभल’ विधामा सञ्चालन हुने र प्रथम तथा द्वितीय हुने टोलीलाई आकर्षक ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन्।
सुनिल नेपाल, ओजेश उपाध्याय, डा. राज घिमिरे, दिपक भट्ट र झुलेन्द्र भट्टराई लगायतको सक्रियतामा आयोजना हुन लागेको यस प्रतियोगिताले टेनिस खेलमार्फत नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ।
“यो केवल एउटा खेल मात्र नभई समुदायबिचको एकता र उत्सव पनि हो,” डा. घिमिरेले भने।
प्रतियोगिता हेर्न र खेलाडीहरूको हौसला बढाउन आयोजकले स्थानीय नेपाली समुदायलाई हार्दिक निमन्त्रणा समेत गरेका छन्।दर्शकका लागि टिकट निःशुल्क गरिएको आयोजकको भनाई छ ।

















