फिफा अध्यक्ष इन्फान्टिनो चौथो पटक अध्यक्ष बन्ने घोषणा
भ्यानकुभर, क्यानडामा फिफा सदस्य संघहरूको भेला; फिफा अध्यक्षद्वारा शान्ति र एकताको आह्वान; रङ्गभेद विरुद्धको अभियानमा भएको प्रगतिको स्वागत; सन् २०२७ मा पुनः निर्वाचन लड्ने इन्फान्टिनोको घोषणा
भ्यानकुभर, क्यानडा / विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अर्को वर्ष हुने निर्वाचनमा आफु पुन उम्मेदवार हुने घोषणा गरेका छन् ।
क्यानडाको भ्यानकुभरमा बिहिवार आयोजित फिफा कंग्रेस उनले चौथो कार्यकालका लागि अध्यक्ष बन्ने घोषणा गरेका हुन्। उनी सन् २०१६ देखि फिफा अध्यक्ष छन्।
७७औं फिफा कंग्रेस सन् २०२७ मार्चमा मोरक्कोको रबातमा हुने छ । त्यसअघि नोभेम्बर २३ मा सन् २०३१ र २०३५ को फिफा महिला विश्वकपको आयोजक राष्ट्रहरू नियुक्त गर्न भर्चुअल विशेष कंग्रेस आयोजना गरिनेछ।
भ्यानकुभर फिफा कंग्रेसले उत्तर अमेरिकामा हुन लागेको आगामी फिफा विश्वकपले विश्वभरका मानिसहरूलाई सद्भाव र सम्मानको भावनाका साथ एकै ठाउँमा ल्याउने कुरामा जोड दिएको छ। साथै, खेल क्षेत्रबाट रङ्गभेद उन्मूलन गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ।
७६औं फिफा कंग्रेस सन् १९७६ को मोन्ट्रियल बैठकपछि क्यानडामा आयोजना गरिएको दोस्रो कंग्रेस हो। यसको सुरुवात कोन्काकाफ अध्यक्ष भिक्टर मोन्टाग्लियानी र क्यानेडियन सकर एसोसिएसनका अध्यक्ष पिटर अग्रुसोको स्वागत मन्तव्यबाट भएको थियो।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो उद्घाटन मन्तव्यमा विभाजित विश्वमा सम्बन्ध सुधार्न फुटबलको अद्वितीय शक्तिको चर्चा गरे । यस वर्षको विश्वकपमा सहभागी हुने सबै ४८ सदस्य संघहरूले एकताको शक्तिशाली सन्देश दिने तयारी गरिरहेको उनले बताए ।
“निस्सन्देह, (आई.आर.) इरानले फिफा विश्वकप २०२६ मा भाग लिनेछ र पक्कै पनि इरानले संयुक्त राज्य अमेरिकामा खेल्नेछ। यसको कारण एकदमै सरल छ, प्रिय साथीहरू—किनभने हामी एकजुट हुनुपर्छ, हामीले मानिसहरूलाई एक ठाउँमा ल्याउनु पर्छ,” अध्यक्ष इन्फान्टिनोले भने ।
“यो मेरो र हाम्रो साझा जिम्मेवारी हो। फुटबलले विश्वलाई जोड्छ, फिफाले विश्वलाई जोड्छ। तपाईँहरूले विश्वलाई जोड्नुहुन्छ। हामीले सधैं सकारात्मक हुनुपर्छ र खुसी रहनुपर्छ भन्ने कुरा बिर्सनु हुँदैन। विश्वमा समस्याहरू र विभाजन ल्याउन खोज्ने मानिसहरू धेरै छन्। यदि कसैले पनि एकताको प्रयास गरेन भने हाम्रो संसार के होला? हामीले यो गर्नैपर्छ।” उनले भने।
रङ्गभेद विरुद्धको विश्वव्यापी अभियानको पछिल्लो अवस्था
अध्यक्ष इन्फान्टिनो र ‘प्लेयर्स भ्वाइस प्यानल’ का सदस्यहरूले सन् २०२४ मा बैंककमा भएको ७४औं कंग्रेसबाट सर्वसम्मतिले स्वीकृत ‘रङ्गभेद विरुद्धको विश्वव्यापी अडान’ को कार्यान्वयनमा भएको प्रगतिको बारेमा जानकारी गराए ।
त्यसयता फिफाले अनुशासन नियमावली संशोधन गर्नेदेखि सबै प्रतियोगिताहरूमा ‘नो रेसिजम जेस्चर’ लागू गर्नेसम्मका महत्वपूर्ण कदम चालेको छ।
साथै, फिफा सोसल मिडिया प्रोटेक्सन सर्भिसमार्फत १२ हजार भन्दा बढी व्यक्ति र ५ सय ७० भन्दा बढी टोलीलाई सुरक्षित गरिएको छ। प्यानलका मानार्थ क्याप्टेन जर्ज वेहले भिडियो सन्देशमार्फत भने, “यो आन्दोलन समुदायको गहिराइसम्म पुग्नुपर्छ र जातीय भेदभावको नकारात्मक प्रभावबारे चेतना जगाउनुपर्छ। रङ्गभेद एउटा रोग हो।”
फुटबलमा अभूतपूर्व लगानी
कंग्रेसले फिफाको सन् २०२५ को वार्षिक प्रतिवेदन र २०२७-२०३० को चक्रको बजेट स्वीकृत गरेको छ, जसमा १४ अर्ब अमेरिकी डलर बराबरको कीर्तिमानी राजस्व सङ्कलन हुने अनुमान गरिएको छ।
यसबाट फिफाका २११ सदस्य राष्ट्रहरूका लागि फुटबल विकास कोषमा भारी वृद्धि हुनेछ। ‘फिफा फरवार्ड’ कार्यक्रमको लगानी २.७ अर्ब डलर पुग्नेछ, जुन सन् २०१६ भन्दा अघिको तुलनामा आठ गुणा बढी हो।
प्यालेस्टाइन र इजरायल फुटबल संघको भनाइ
कंग्रेसले प्यालेस्टाइन फुटबल संघ (पीएफए ) र इजरायल फुटबल संघ (आइएफए ) को भनाइ पनि सुनेको थियो।
अध्यक्ष इन्फान्टिनोले क्षेत्रमा जारी हिंसाका निर्दोष पीडितहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फुटबललाई सम्बन्ध विस्तारको माध्यम बनाउनु पर्नेमा जोड दिए । उनले भने , “तपाईँका दुवै संघहरूको समान अधिकार छ—आफ्नो क्षेत्रमा फुटबल आयोजना गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने र बालबालिकामा फुटबलप्रतिको प्रेम र आपसी सम्मान जगाउने।”

















