पेन्सिल्भेनिया ल्यानक्यास्टरमा सम्पन्न नेपाली मैत्रीपूर्ण टेनिसको उपाधि बाल्टिमोरका राजन र किरणको जोडीलाई
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आइतबार सम्पन्न ‘नेपाली मैत्रीपूर्ण टेनिस’ प्रतियोगिताको उपाधि बाल्टिमोरका राजन ढकाल र किरण भट्टराईले जितेका छन्।
हेम्पफिल्ड रेक सेन्टरमा आइतबार सम्पन्न फाइनलमा राजन र किरणको जोडीले गृह नगरकै ज्ञानहरि घिमिरे र दिलीप श्रेष्ठको जोडीलाई ६-० र ६-२ को सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् ।
चार स्टेटका आठ टिमले भाग लिएको प्रतियोगिता दुई दिने चलेको थियो । सहभागि टिमलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटको आधारमा खेलाइएको थियो । प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल भएका थिए ।
आइतबार नै भएको सेमिफाइनलमा राजन र किरणको जोडीले राज घिमिरे र नवराज पौडेलको जोडीलाई ६-४ र ६-२ को सेटमा हराएको थियो।

यस्तै अर्को सेमिफाइनलमा ज्ञानहरि र दिलीपको जोडीले बाल्टिमोरकै मनोज शर्मा र नीर क्षेत्रीको जोडीलाई ६-३ र ६ -४ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगिता आयोजक मध्येका एक डा. राज घिमिरेका अनुसार नेपाली समुदायबिच भाइचारा र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सुनिल नेपाल, ओजेश उपाध्याय, डा. राज घिमिरे, दिपक भट्ट र झुलेन्द्र भट्टराई लगायतको सक्रियतामा आयोजना भएको हो ।
प्रतियोगिताका विजेता तथा उप विजेता खेलाडीलाई आयोजक टिमका सदस्य तथा स्थानीय व्यवसायी संजीव घिमिरेले ट्रफि प्रदान गरेका थिए ।


















