मध्यपश्चिम समाज मेरिल्यान्ड गठन, अध्यक्षमा कृष्ण चन्द सर्वसम्मत

मेरिल्यान्ड/ अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका नेपाली मध्यपश्चिम समाज मेरिल्यान्ड गठन गरेका छन्।
सामाजिक, सांस्कृतिक र समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता सहित स्थापना भएको समाजको कार्यसमिति समेत गठन गरिएको छ।
पूर्व सांसद एवं कृषि अभियन्ता ऋषिकेश तिवारी तथा स्टार स्कलर नेटवर्कका प्रेसिडेन्ट प्रा. डा. उत्तम गौली को उपस्थितिमा गठित कार्यसमितिका पदाधिकारीहरूले शनिवार शपथग्रहण समेत गरेका छन्।
संस्थाको अध्यक्षमा कृष्ण चन्द सर्वसम्मत भएका छन्। उनले संस्थाको नेतृत्व पाउँदा खुसी व्यक्त गरे।
“मेरो भूमिका अब समुदायलाई अझ सङ्गठित, सचेत र सक्रिय बनाउने हुनेछ,” चन्दले भने । उनले सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवा–आधारित कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर समुदायको हितमा काम गर्ने अठोट व्यक्त गरे।
संस्थाको वरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल चयन भएका छन्। कुमालले समुदायप्रतिको माया, निष्ठा र सक्रियताका साथ काम गर्ने बताएका छन्।
‘मेरो कर्तव्य संस्था र सदस्यबिच एकदमै असल खालको बिर्सनै नसकिने भूमिका निर्वाह गर्नु हो।’ कुमालले भने, ‘जसले हामीलाई अझ नजिक ल्याउँछ।’
महासचिवमा लोकेन्द्र वली चयन भएका छन्। “सुनियोजित कार्यशैली र समर्पित भावनाले संस्था अझ व्यवस्थित र सक्षम बन्नेछ।’वलीले भने, ‘सञ्चार, अभिलेख र कार्यक्रम व्यवस्थापनलाई प्रभावकारी बनाउनु मेरो प्राथमिकता हुनेछ।”
कोषाध्यक्षमा तिला खत्री चयन भएका छन्। खत्रीले संस्थाको वित्तीय पारदर्शिता र जिम्मेवार खर्च व्यवस्थापन आफ्नो प्रमुख कर्तव्य हुने बताएका छन्।
‘ समुदायको विश्वासमा खोट नआओस् भन्ने जिम्मेवारीलाई म आत्मसात् गर्दै, प्रत्येक आर्थिक गतिविधिमा स्पष्टता र जबाफदेहिताको अभ्यास गर्नेछु।” खत्रीले भने।
कार्यसमितिमा उपाध्यक्ष राजन देवकोटा, सचिव खेमराज थापा, र सदस्यहरूमा रमेश क्षेत्री, योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, वसन्त गिरी र केशव देवकोटा रहेका छन्।
नयाँ कार्यसमितिबाट शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, महिला सहभागिता, र कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका अभियानहरू सञ्चालन गरिने योजना बनाइएको छ। नेपाली भाषा, भेसभुसा, लोकसंस्कृति र मौलिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिइएको छ।
त्यस्तै, खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित, सृजनशील र सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ। नियमित फुटबल, भलिबल तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।
संस्थाले नेपालका संघसंस्थासँग सहकार्य गर्दै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको पहिचान अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने सोच बनाएको छ। नेपाली दूतावास, गैर आवासीय नेपाली संघ (एनआरएनए) , बाना र अन्य सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै सेवा प्रवाह गर्ने रणनीति बनाइएको छ।
कार्यसमितिबाट नेपाली समुदायभित्र सामाजिक सद्भाव, पारस्परिक सहयोग र आपसी सम्मानको भावना अझ प्रगाढ हुने अपेक्षा गरिएको छ। जनसमुदायका लागि आवश्यक सहयोग, जानकारी तथा संलग्नताको माध्यमबाट संस्था अझ प्रभावकारी र भरपर्दो बन्ने विश्वास गरिएको छ।
कार्यसमितिले सम्पूर्ण नेपाली समुदायलाई एकता र सहकार्यमा जोड दिएको छ। सबैको साझा प्रयासले मात्र समुन्नत र गौरवपूर्ण समुदाय निर्माण सम्भव हुने बताइएको छ।
समाजले सल्लाहकार समिति पनि चयन गरेको छ। समितिको संयोजकमा राजन सुनार रहेका छन्। अन्य सदस्यहरू वासुदेव पोखरेल,उत्तम गौली,हिक्मत बिक,राज बोहोरा,प्रशाराम देवकोटा, शंकर ओली,कन्हैया सिंह परियार,श्याम गुरुङ,बाबुराम भट्टराई,दीपेश रावत,नेत्र अधिकारी, लक्ष्मीराम शाह,शोभा गौतम , जस्विर कुमाल र दामोदर पोखरेल रहेका छन्।