बाना निर्वाचन : पर्वतबाट अध्यक्षमा दुई उम्मेदवार, सुदूरपश्चिमका तीन वटै प्यानलमा
बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार अध्यक्षमा चार जनाले उम्मेदवारी मनोनयन गरेका छन्। त्यस मध्ये दुई जना पर्वत जिल्लाबाट छन्।
बानाको निर्वाचन अप्रिल ६ तारिख हुँदै छ। १४ पदका लागि आइतबार ३० जनाले मनोनयन दर्ता गरेका छन्।
अध्यक्ष पदमा जितेन्द्र गुरुङ, लक्ष्मी भारती, कोसिस भण्डारी र हिरा गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। जितेन्द्र र कोसिस दुवै जना पर्वत जिल्लाका हुन्।
कोसिस नेपाली मुलका पहिलो अमेरिकन डेलिगेट ह्यारी भण्डारीका सहोदर भाइ हुन्।
पर्वत जिल्लाका दुई जना एउटै पदमा भिड्न तयार हुँदा सुदूरपश्चिमका भने तीन वटै प्यानलबाट उम्मेदवार बनेका छन्।
बाजुराका जनक थापा जितेन गुरुङको प्यानलमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार छन्। यस्तै अत्तरियाका गणेश भट्टराई कोसिस भण्डारी प्यानलबाट उपाध्यक्ष उम्मेदवार भएका छन्।
डोटीका दमन शाह लक्ष्मी भारती प्यानलबाट महासचिवका उम्मेदवार छन्। यस्तै सुदूरपश्चिमका भूपेन्द्र जङ शाही बोर्ड सदस्यका उम्मेदवार छन्।
सुदुरपश्चिम समाज अमेरिकाका अध्यक्ष विक्रम शाहीले फरक फरक प्यानलबाट उम्मेदवार हुँदैमा आफूहरू बिचमा खटपट भएको भन्न नमिल्ने बताए। उनले आपसी सल्लाहमा नै फरक फरक प्यानलबाट उम्मेदवारी दिएको बताए।
‘एउटै पदमा सुदूरपश्चिमको व्यक्ति उम्मेदवार हुनु हुँदैन भन्ने थियो, फरक फरक पदमा उम्मेदवार हुँदा सबैलाई जिताउने मेरो भूमिका हुन्छ।’ शाही समाज टाइम्स सँग भने।
उनले संस्थाको कार्यसमितिको बैठकले नै यस बारेमा निर्णय गरेको बताए।
‘मेरिल्यान्डमा रहेका कुनै पनि संघ संस्थामा सुदूरपश्चिमका व्यक्ति उम्मेदवार हुँदा उनीहरूलाई सघाउने भन्ने त कार्यसमितिले नै निर्णय गरेको छ।‘शाहीले भने।
उता पर्वत समाज अमेरिकाका अध्यक्ष रवीन शर्माले आफ्नो जिल्लाबाट एकै पदमा दुई उम्मेदवार नबनाउने प्रयास सफल हुन नसकेकोमा दुख व्यक्त गरे।
‘हामीले धेरै नै प्रयास गरेका हौ तर सकेनौ।‘समाज टाइम्स सँग शर्माले भने।
स्रोतका अनुसार पर्वत समाजको चुनाव पछि जितेन र कोसिस बीचको सम्बन्धमा समस्या आएको हो।
कोसिसका भाइ प्रवीण पर्वत समाज अमेरिकामा अध्यक्ष हुन चाहेका थिए तर त्यसमा व्यापक विरोधका कारण सफल भएन। त्यस पछि भण्डारी दाजुभाइ बाना चुनावमा होमिएका हुन्।
र यो पनि…