बाना निर्वाचन : १४ पदका लागि ३० जनाको उम्मेदवारी, अध्यक्षमा चार जना
बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको १४ पदका लागि ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
बाल्टिमोरमा रहेको बानाको मुख्यालयमा आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। बानाको निर्वाचन अप्रिल ६ तारिख हुँदै छ। बानामा यस पटक पाँच हजार भन्दा धेरै सदस्य छन्।
निर्वाचन कमिटीका प्रमुख आयुक्त डा. कृष्ण ढकालका अनुसार बानाको भावी अध्यक्षको एक पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। बानाका सल्लाहकार जितेन गुरुङ, बाना वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, आजीवन सदस्य कोशिस भण्डारी र पूर्व वरिष्ठ उपाध्यक्ष हिरालाल गुरुङले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन्।
बाना निर्वाचन कमिटीले आइतबार दिउसो १२ बजे देखि पाँच बजे सम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकेको थियो।
अध्यक्ष पदकमा सबै भन्दा पहिला जितेन गुरुङले उम्मेदवारी दर्ता गराएका थिए। त्यसो त अध्यक्षकी अर्की उम्मेदवार लक्ष्मी भारती सबै भन्दा पहिला हलमा पुगेकी थिइन्। जितेन पछि मात्र लक्ष्मीले पनि उम्मेदवारी दर्ता गराएकी थिइन।
त्यस पछि कोशिस र हिराले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए।
यस पटक अध्यक्षमा उम्मेदवारी दिने जितेन बाहेक तीनै जना यस अगाडिको निर्वाचनमा संस्थापन इतरका हुन्।
हिरा गुरुङ आफै अध्यक्षमा सुबोध विलास पन्त सँग पराजित भएका थिए। लक्ष्मी भारती हिरा गुरुङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विजयी भएकी थिएन्। कोशिस भण्डारी हिरा गुरुङको पक्षमा देखिएका थिए।
जितेन गुरुङले भने अघिल्लो निर्वाचनमा सुबोध विलास पन्तलाई समर्थन गरेका थिए। सोही बापत उनी सल्लाहकारमा मनोनीत भएका थिए। जितेनले एक वर्ष अगाडि देखि नै भावी अध्यक्षको लागि भन्दै तयारी गरेका थिए। संस्थापन पक्षले यस पटक अध्यक्षमा कुन उम्मेदवारलाई समर्थन गर्ने भनेर औपचारिक रुपमा मुख खोलेको छैन। उनीहरूले परिस्थिति हेरेर लक्ष्मी र हिरा मध्ये एक जनालाई समर्थन गर्ने जनाइएको छ।
त्यसो त आइतबार उम्मेदवारी दर्ता गर्दा हिरा एक्लै देखिएका थिए। अन्य तीन जनाले भने पदाधिकारीमा टिम सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा एक-एक पदका लागि तीन-तीन जनाले उम्मेदवारी मनोनयन गरेका छन्।
जितेन प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जनक बहादुर थापाले उम्मेदवारी दिएका छन्। लक्ष्मी प्यानलको वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव सागर घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै कोसिस प्यानलको वरिष्ठ उपाध्यक्षमा डा. एकता कोइराला रहेकी छिन्।
उपाध्यक्षमा बज्रेस् महर्जनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। कोसिस निकट रहेका भनिएका गणेश भट्टराई र प्रेम कमलीले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।
महासचिवमा जितेन प्यानलबाट सलिन बस्नेतले उम्मेदवारी दिएका छन्। लक्ष्मी प्यानलबाट दमन विक्रम शाह र कोसिस प्यानलबाट तारा खरेल न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
सचिवमा एक पदका लागि वसन्त बस्नेत, सुशील खत्री र जनक पुन मगरले मनोनयन दर्ता गराएका छन्। कोषाध्यक्ष एक पदका लागि सञ्जु डङ्गोल, राजेन्द्र बहादुर रेग्मी, करुणा खड्काले मनोनयन दर्ता गराएका छन्।
बोर्ड अफ डाइरेक्टरको आठ पदमा ११ जनाको उम्मेदवारी परेको छ। सदस्य पदमा सोनीका चुनरा, लक्ष्मी राम शाह, राजु सुवेदी, भुपेश जङ्ग शाह, हृदय केसी, डम्बर बहादुर बस्नेत, नीमाया प्रधान, अर्जुन क्षेत्री, प्रवीण लामा, कृष्ण के बिस्ट र राजीव क्षेत्रीले मनोनयन दर्ता गराएका छन्।
र यो पनि…