बाना निर्वाचन : उम्मेदवार मनोनयनबाट ५० हजार डलर सङ्कलन
बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनबाट ५० हजार अमेरिकी डलर सङ्कलन भएको छ।
बानामा १४ पदका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।
प्रमुख निर्वाचन आयुक्त डा. कृष्ण ढकालका अनुसार उम्मेदवारहरूले जिलोबाट १८ हजार र नगद ३२ हजार गरी कुल पचास हजार रकम बुझाएका छन्।
निर्वाचन आयोगले अघिल्लो पटकको निर्वाचन भन्दा यस पटक मनोनयन शुल्कमा दोब्बर भन्दा धेरै शुल्क बढाएको थियो।
निर्वाचन आयोगले अध्यक्ष पदका लागि तीन हजार पाँच सय डलर, वरिष्ठ उपाध्यक्षका लागि दुई हजार पाँच सय डलर, उपाध्यक्ष र महासचिवका लागि दुई हजार डलर शुल्क तोकेको थियो।
यस्तै सचिव र कोषाध्यक्षका लागि एक हजार पाँच सय र बोर्ड सदस्यका लागि सात सय पचास डलर तोकेको थियो।
निर्वाचन शुल्क भारी बढाइएको भन्दै आलोचना समेत भएको थियो। तर प्रमुख निर्वाचन आयुक्त ढकालले यस अगाडिको भन्दा निर्वाचन खर्च बढ्ने भएकाले संस्थालाई कम आर्थिक भार पार्न उम्मेदवारको मनोनयन शुल्क बढाइएको बताए।
र यो पनि..