अमेरिकाद्वारा चीन, युरोपेली सङ्घसहित १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क प्रस्ताव
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकाले चीन र युरोपेली सङ्घसहित आफ्ना १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेको छ।
अमेरिकाले सार्वजनिक गरिएको प्रस्तावअनुसार अमेरिकी सरकारले आफ्नो देशको औद्योगिक उत्पादन क्षमताभन्दा बढी उत्पादन भइरहेको र त्यसले अन्तर्राष्ट्रिय व्यापारमा असन्तुलन सिर्जना गरेको दाबी गर्दै नयाँ शुल्क लगाउन खोजेको हो।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार प्रस्तावित शुल्कले विभिन्न देशबाट अमेरिका भित्रिने वस्तुको आयातमा प्रभाव पार्नेछ।
नयाँ प्रस्तावमा चीनका सामानमा सबैभन्दा बढी २० प्रतिशतसम्म भन्सार शुल्क लगाउने व्यवस्था गरिएको छ। केही देशका लागि भने अमेरिकासँग हुने व्यापार सम्झौताको प्रगतिअनुसार शुल्कको दर फरक हुनेछ।
चीनको व्यापारिक वस्तु निर्यातबाट हुने बचत यस वर्षको पहिलो १० महिनामै एक ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको छ। यसैलाई आधार बनाउँदै अमेरिकाले चिनियाँ वस्तुमा नयाँ प्रस्तावअनुसार २० प्रतिशत भन्सार शुल्क लगाउने जनाएको छ।
अमेरिकी सरकारले यसअघि गत जुलाईमा श्रमसम्बन्धी समस्या समाधान नगरेको आरोप लगाउँदै लगाएको अतिरिक्त शुल्कमाथि नयाँ शुल्क थपेर दोहोरो भार नपर्ने व्यवस्था गरेको छ।
यद्यपि, अमेरिका र चीनबिचको व्यापारिक युद्ध विराम सम्झौता थप लम्ब्याउन नसकिए चिनियाँ वस्तुमा शुल्क बढेर ४० प्रतिशतसम्म पुग्न सक्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताएका छन्। हालको व्यापारिक युद्ध विराम सम्झौताको अवधि जनवरी १० मा समाप्त हुँदैछ।
चीनले नयाँ अमेरिकी भन्सार शुल्कको विरोध गर्दै आवश्यक प्रतिकारात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ। साथै, व्यापारिक युद्ध विराम सम्झौता थप लम्ब्याउने विषयमा दुवै देशबिच निरन्तर संवाद भइरहेको चीनको भनाइ छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच डिसेम्बरमा हुने अपेक्षा गरिएको शिखर बैठकमा व्यापारसम्बन्धी विषय प्रमुख एजेन्डा बन्न सक्नेछ। यस वर्ष दुवै नेताबिच हुन लागेको यो चौथो भेट हुनेछ।
त्यस्तै, अमेरिकाले नयाँ भन्सार शुल्क प्रस्ताव गर्दा चीनलाई मात्र नभई भारत र भियतनामजस्ता प्रमुख व्यापारिक साझेदारलाई पनि समेटेको छ।
भारतले राष्ट्रपति ट्रम्प प्रशासनसँग अहिलेसम्म व्यापार सम्झौता गर्न सकेको छैन। प्रस्तावअनुसार सम्झौता सम्पन्न भए भारतीय सामानमा १७ प्रतिशत शुल्क लाग्नेछ भने वार्ता असफल भए शुल्क २५ प्रतिशतसम्म पुग्नेछ।
त्यस्तै, भियतनामले अमेरिकासँग व्यापार सम्झौता गर्न सकेमा त्यहाँबाट आयात हुने वस्तुमा अधिकतम २० प्रतिशत शुल्क लाग्नेछ। सम्झौता हुन नसकेमा यो दर बढेर ३५ प्रतिशत पुग्ने प्रस्ताव गरिएको छ।
यसै गरी, अमेरिकाले ब्राजिलबाट आयात हुने वस्तुमा पनि नयाँ शुल्क प्रस्ताव गरेको छ। ब्राजिलले अमेरिकाले अनुचित ठहर गरेका व्यापारिक अभ्यास सुधार नगरेको आरोप लगाउँदै तयार विमानमा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ।
अमेरिकाले कम्बोडिया, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र बङ्गलादेशबाट आयात हुने वस्तुमा अधिकतम १८ प्रतिशत भन्सार शुल्क प्रस्ताव गरेको छ।
त्यस्तै, जापान, दक्षिण कोरिया, ताइवान, युरोपेली सङ्घ र स्विट्जरल्यान्डबाट आयात हुने वस्तुमा हाल कायम सबैभन्दा अनुकूल व्यापारिक साझेदारसम्बन्धी शुल्कसमेत समावेश गरी अधिकतम १५ प्रतिशतको सीमा प्रस्ताव गरिएको छ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार प्रस्तावित शुल्कका सीमाहरू गत वर्ष विभिन्न देशसँग भएका व्यापार सम्झौतासँग मेल खाने बताएका छन्। ती सम्झौताले अमेरिकी निर्यातमाथिका अवरोधसमेत कम गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले नयाँ भन्सार शुल्क प्रस्ताव गर्नुको एउटा प्रमुख उद्देश्य सर्वोच्च अदालतको निर्णयपछि आफ्नो व्यापारिक दबाब कायम राख्नु रहेको छ।
गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रिय आपत्कालीन अवस्थासम्बन्धी कानुन प्रयोग गरेर ट्रम्प प्रशासनले लगाएका व्यापक विश्वव्यापी भन्सार शुल्क खारेज गरेको थियो।
त्यसपछि प्रशासनले सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत नयाँ शुल्क लगाउने प्रक्रिया अघि बढाएको हो। यस कानुनी व्यवस्थामार्फत नयाँ शुल्कलाई थप बलियो कानुनी आधारमा कार्यान्वयन गर्ने प्रशासनको प्रयास रहेको छ।
अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठुलो राजनीतिक क्षति व्यहोरे पनि ट्रम्प प्रशासन आफ्नो व्यापक भन्सार शुल्क नीतिलाई निरन्तरता दिन प्रतिबद्ध देखिएको छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार नयाँ प्रस्तावित शुल्क जनवरी २५ मा हुने सार्वजनिक सुनुवाइपछि मात्र कार्यान्वयनमा आउनेछन्।
अमेरिकाको नयाँ भन्सार शुल्क प्रस्ताव सार्वजनिक भएपछि बिहीवार युरोपेली तथा एसियाली सेयर बजारमा सामान्य वृद्धि देखिएको छ।
विश्लेषकहरूका अनुसार नयाँ शुल्कसम्बन्धी सम्भावित निर्णयबारे बजारले पहिले नै अनुमान गरिसकेकाले तत्काल ठुलो प्रभाव परेको छैन।
‘एचएसबीसी’का प्रमुख एसिया अर्थशास्त्री फ्रेड न्युम्यानले नयाँ भन्सार शुल्कसम्बन्धी समाचारले अहिलेसम्म बजारमा ठुलो हलचल सिर्जना नगरेको बताएका छन्। उनका अनुसार लगानीकर्ताले यसअघि नै यस्तो निर्णयको सम्भावना अनुमान गरिसकेका थिए।
नयाँ प्रस्ताव कार्यान्वयन भए अमेरिका र उसका प्रमुख व्यापारिक साझेदारबिचको व्यापार सम्बन्धमा थप दबाब सिर्जना हुन सक्नेछ। साथै, अन्तर्राष्ट्रिय बजार आयात निर्यात वस्तुको मूल्य तथा विश्वव्यापी आपूर्ति प्रणालीमा समेत यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।



















