पिट्सबर्ग भेट्रान्स र सिनसि राइनो दशौँ कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पिट्सबर्ग भेट्रान्स र सिनसि राइनो दशौँ कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन् ।
पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित स्वातारा टाउनसिपमा रहेको म्याकनटन फ्यामिली पार्कको मैदानमा आइतबार भएको लिगका दुई-दुई खेलमा जित हात पार्दै समूह चरणको अन्तिम खेल अगाडी नै पिट्सबर्ग भेट्रान्स र सिनसि राइनोले अन्तिम चारमा स्थान पक्का पारेका हुन् ।
भुटानी राष्ट्रिय टिमका सदस्य स्वर्गीय कालुसिंह तामाङको स्मृतिमा आयोजित च्याम्पियनसिपको दशौँ संस्करणको उद्घाटन खेलमा ह्यारिसबर्ग एफसीलाई एक शून्य गोल अन्तरले हराएको पिट्सबर्गले समूहको दोस्रो खेलमा लगातार दुई पटकको विजेता युनाइटेड ब्रदर्स स्पोर्टिङ क्लब (यूबीएससी) ४-३ गोल अन्तरले हरायो ।
कोलम्बसले अब समूह बी को अन्तिम खेल सोमबार बिहान कोलम्बस ड्रुक युनाइटेड सँग खेल्ने छ ।
समूह ए बाट अन्तिम खेल खेल्नु अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा सिनसि राइनोले आइतबार एफसी रिभाइवललाई १-० गोल र मिडलाइफ किकरलाई ३-० गोलले हरायो ।
सिनसि राइनोले समूहको अन्तिम खेल सोमबार पिच स्टेट सँग खेल्ने छ । सोमवार नै एफसी रिभाइवल र मेडलाइफ किकर बीच पनि समूह चरणको खेल हुने छ । सोमबारको लिग चरणको तीन खेल पछि सेमिफाइनल समीकरण पुरा हुने छ ।
आयोजक समितिले च्याम्पियनसिपका सेमिफाइनल फाइनल खेल सोमबार नै खेलाउने जनाएको छ । फाइनल खेल करिब चार बजेबाट शुरु हुने समय निर्धारण गरिएको छ ।
च्याम्पियनसिपमा विभिन्न राज्यबाट आठ टिमले भाग लिएका छ । यो च्याम्पियनसिप सन् २०१७ देखि हुँदै आएको छ ।
यस अगाडि आइतबार बिहान च्याम्पियनसिपको एक समारोहका बीच उद्घाटन गरिएको थियो ।
दशौँ कालुसिंह मेमोरियल फुटबल च्याम्पियनसिप आयोजक कमिटी सल्लाहाकार विनय लुइँटेल उद्घाटन कार्यक्रमको सहजीकरण गरेका थिए ।
च्याम्पियनसिपको उद्घाटन स्वातारा टाउनसिपका कमिश्नर टम कोलोनी र सामाजिक अभियन्ता डा. खेम अधिकारी गरे संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा स्वर्गीय कालु सिंहको स्मृतिमा एक मिनेछ मौन धारण गरिएको थियो ।














