फिलाडेल्फिया विमानस्थलबाट पक्राउ परेका थिए मेकानिक्सबर्गका बालिका बलात्कार आरोपी देव पौडेल
फिलाडेल्फिया / पेन्सिल्भेनियाको मेकानिक्सबर्गमा बाल यौन अपराधसम्बन्धी गम्भीर फौजदारी अभियोग लागेका नेपाली भाषी ५० वर्षीय देव पौडेललाई अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अधिकारीहरूले फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको खुलेको छ ।
यस अगाडी अपर एलेन टाउनशिप प्रहरी विभागले सेप्टेम्बर १२ तारिख पक्राउ गरेको जनाएको थियो । बिहीबार सीबीपीले विज्ञप्ति जारी गर्दै पौडेल फिलाडेल्फिया विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।
सीबीपीका अनुसार पौडेललाई शनिबार दोहा, कतारबाट आएको अन्तर्राष्ट्रिय उडानबाट फिलाडेल्फिया विमानस्थलमा ओर्लिएपछि पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अपर एलेन टाउनसिप प्रहरी विभागका अनुसन्धान अधिकृतहरूको जिम्मा लगाइएको छ।
पौडेलमाथि बालिकामाथि बलात्कार, बालबालिकासँग जबरजस्ती यौन सम्बन्ध, यौन दुर्व्यवहार, बालिकामाथि गम्भीर अश्लील दुर्व्यवहार, १३ वर्षभन्दा कम उमेरका व्यक्तिमाथि अश्लील दुर्व्यवहार, १८ वर्ष वा सोभन्दा माथिको उमेरका अभियुक्तबाट नाबालिगलाई भ्रष्ट बनाएको, अभिभावक वा संरक्षकका रूपमा बालबालिकाको हित संरक्षणमा लापरबाही लगायतका अभियोगमा पक्राउ पुर्जी जारी भएको सीबीपीले जनाएको छ।
फिलाडेल्फियाका सीबीपी एरिया पोर्ट निर्देशक इलियट एन. अर्टिजले अभियोगहरू गम्भीर रहेको उल्लेख गर्दै कानुन कार्यान्वयन गर्ने अन्य निकायसँग सहकार्य गरी फरार अभियुक्तहरूलाई न्यायको दायरामा ल्याउन सीबीपी प्रतिबद्ध रहेको बताए।
सीबीपीका अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रु तथा कार्गोको विवरण विभिन्न कानुन कार्यान्वयनसम्बन्धी डेटाबेससँग जाँच गर्ने गर्छन्। यस क्रममा एफबीआईको नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) लगायतका डेटाबेस प्रयोग गरी पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू पहिचान गरिन्छ।
सीबीपीका अनुसार अमेरिकी विमानस्थल, समुद्री बन्दरगाह तथा स्थलसीमा नाकाबाट दैनिक औसत १० लाखभन्दा बढी यात्रु प्रवेश गर्ने गरेका छन् भने त्यही क्रममा पक्राउ पुर्जी भएका औसत ३७ जना व्यक्ति पक्राउ पर्ने गरेका छन्।















