अहिलेसम्म संसारले नदेखेका भुटानका खतरनाक जेलहरू


पुनाखा जोङको दुईतर्फबाट दुई नदीहरू बग्छन् । बायाँतर्फ मो छु र दायाँतर्फ फो छु । पुनाखाको जोङबाट केही तल यी दुई नदीहरू एक आपसमा संगम भएर एउटै बन्छन् । जसलाई पुनाचाङ्ग छु भनिन्छ । पुनाचाङ्ग छु पुनाखाबाट बगेर करिब २०-२५ किलोमिटर दक्षिणतर्फ वाङ्दी फोड्राङ जिल्ला हुँदै दक्षिण तर्फ झर्छ ।
पुनाचाङ्ग छुमा उत्तरतर्फबाट बगेको दाङ्ग छु आएर मिसिन्छ। पुनाचाङ्ग छु दक्षिणतर्फ निरन्तर बग्छ । यही दाङ्गछुको बायाँपट्टि वाङ्दी जोङ्ग पर्छ। वाङ्दी जोङ्गबाट केही उत्तरतर्फ टोंङ्गसा रोड छ । यो रोडबाट अलिक तल वाङ्दी बजार छ । जसलाई गाङ्गथाङ्ग भनिन्छ । त्यसबाट केही तल वाङ्दी हाई स्कुल र आर्मी अस्पताल रहेको छ । त्यस ठाउँलाई बाजोथाङ्ग भनिन्छ ।
बाजोथाङ मुनिको भिरको फेदीमा केही समतल जमिन छ । जहाँ आर्मीका बस्ने घरहरू छन् । यी घरहरूले घेरेको ठाउँको भिरको फेदीमा कहीँ कतैबाट नदेखिने ठाउँमा रबुना जेल निर्माण गरिएको छ। यो वाङ्दीफोड्राङ जिल्लाको फाँयुल ब्लकमा पर्दछ । रबुना जेल छेउको खोलो दाङ्ग छु तरेर पारिपट्टि पुग्दा निजा गाङ्ग ब्लक पर्दछ ।
निजा गाङ्ग ब्लकको फेदी दाङ्ग छु खोलाबाट लगभग आधा किलोमिटर माथिल्लो भागबाट टोङ्गसा रोडको डिलबाट तल चट्टानी भिरको फेदीतर्फ हेर्दा खोलापारी रबुना जेल देखिन्छ। टोङ्गसा रोडको डिलबाट यो जेलको बाहिरी ढोका र पूरा बिल्डिङ्ग देखिन्छ तर त्यो रोडको किनाराबाट उँधो फर्किएर रमिता हेर्न समेत निषेध गरिएको छ । त्यो हिँडडुल गर्न नपाइने निषेधित क्षेत्र मानिन्छ ।
यदि कसैले झुक्किएर त्यहाँबाट उँधो रबुना तर्फ रमिता हेरिहाल्यो भने तलबाट आर्मीहरूले सिटी बजाएर चेतावनी दिने गर्छन् भनिन्छ । कसैले अटेर गरी हेरिहाल्यो भने त्यो व्यक्ति आर्मीको फन्दामा पर्दछ । यो जेल एक यस्तो जेल हो जसको नियन्त्रण भुटानी राजा र वाङ्दीफोड्राङ्ग सेना कमान्डको र रोयल भुटान बडिगीडका एक जना हाकिमका पकडमा छ । जहाँबाट अहिलेसम्ममा धेरै निर्दोष भोटेहरू र लोछाम्पाहरूको जीवन समाप्त गरिसकिएको छ र गरिन्छ।
रबुना भुटानको एक यस्तो कठोर जेल हो, जसको सही स्थान र त्यहाँ हुने निर्दयी यातनाको बारेमा केवल भुटानी राजा, गृहमन्त्री र आर्मीका केही उच्च अधिकारीहरूले मात्र थाहा पाउँछन्। स्रोतका अनुसार यो जेलमा मुख्यतः आर्मी, पुलिस र विभिन्न मुद्दामा भुटानको एक पक्षीय न्याय प्रणालीबाट दोषी ठहरिएका तथा आजीवन कारावासको सजाय भोगिरहेका अनि राजद्रोह र राष्ट्र द्रोह ङोलोपको आरोप लागेका बन्दीहरूलाई राखेर चरम यातना दिने गरिन्छ । रबुना जेलमा पस्ने दुई वटा फलाने ढोकाहरू छन् ।
पहिलो ढोकाबाट भित्र पस्दा जेलको परिसरभित्र पसिन्छ । त्यस पछि दोस्रो फलामे ढोकाबाट भित्र पसेपछि जेलको भवनले छलिएको सानो आँगनमा पुगिन्छ र त्यसपछि कोठाका ढोकाहरू देखिन्छन् । रबुना जेलमा जम्मा बाईसवटा कोठाहरू छन् । ती सबै कोठाहरू पूर्णरुपमा बन्द र अँध्यारा छन् । उज्यालो र हावाका निम्ति होला प्रत्येक कोठामा ४/६ इन्चका फलाम लगाएका झ्याल छन् र कोठा न० चारमा चाही १४/८ इन्चको फलाम लगाएको अलि ठुलो झ्याल छ । त्यही चार न० कोठामा टेकनाथ रिजाललाई थुनेको थियो । त्यस कोठामा चर्पी पनि त्यही छ र त्यस कोठामा थुनिएकाले अरू बन्दीहरूलाई कहिल्यै देख्न र भेट्न पाउँदैन । तर अरू कोठामा भने चर्पी छैन र कोठा बाहिर चर्पी भएकाले कुनै न कुनै बेला कोही न कोही बन्दी साथीसँग देखादेख हुने गर्छ । रबुना जेलको दाङ्ग छु तर्फको भवन दुई तलाको छ भने अरू तीनतिरको भवन एक तले छ । जसमा त्यो दोस्रो तलामा त्यहीँ डिउटीमा खटिएका आर्मीहरू बस्ने गर्दछन् ।
भुटानमा कुनै पनि प्रस्ट लिखित कानुन नै छैन । २१ औँ शताब्दीमा पनि बिना लिखित राजाको ओठे कानुनमा चलाएको देश हो भुटान । न्याय प्रणालीमा बिलकुलै खडेरी परेकाले त्यहाँ एकै जना पनि न्यायको व्याख्याता छैनन् । आरोपितलाई विभिन्न शारीरिक र मानसिक यातना दिएर स्वीकार गर्न बाध्य बनाइएका बयानहरू बन्दीहरूको जीवन खुल्ला हुने वा जेलमा नै सडिनुपर्ने हो त्यसको निर्णायक बन्दछ । राजाबाट नियुक्ति पाएका केही न्यायमूर्तिहरू राजाबाट निर्देशित दोष वा निर्दोषको सुगा रटान पढेर सुनाउँछन् ।
आरोपितहरूका तर्फबाट कुनै पनि बहस गर्ने नियम त्यहाँ छैन । सरकारी वकिलहरूले पढेर सुनाएको निर्णयमा पक्ष र विपक्षबिच कानुनी तर्कको प्रणाली नै छैन । कुनै नागरिकले राजाको वा कुनै मन्त्रीको काममा चित्त नबुझेको कुरा गरे वा विमति राखे त्यो व्यक्ति राजद्रोही, देशद्रोही वा जनता द्रोही ठहरिन्छ । चावासुम (राजा , राष्ट्र र जनता )विरुद्धको अभियोग लगाएर उसलाई जेलमा कोचिन्छ । यसको एउटा ज्वलन्त उदाहरण हुन् भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल ।
रिजालले सन् १९८८ को जनगणनाले मानिसहरू त्रसित भएको र जनगणना नीतिमा सुधार गरियोस् भनेर सभ्य भाषामा निवेदन खेलेकै कारण भुटानी राजाले उनलाई राष्ट्र द्रोहको अपराधी ठहर गरेर लामो समयसम्म जेलमा बन्दी बनाएर चरम यातना दिएको थियो । यदि अन्तर्राष्ट्रिय जगतले रिजालको विषयमा भुटानलाई दबाब श्रृजना नगरेको भए आजसम्ममा उनको हालत के हुने थियो होला ? यो सजिलै आकलन गर्न सकिन्छ । तर रिजाल सबै भुटानीहरूका लागि परिचित नाम थियो । तर नचिनिएका र कहीँ कतै नाम नचलेका कति निर्दोष भुटानीहरू आज पनि रबुना जेलमा आफ्नो जीवनको अन्तिम घडीको प्रतीक्षामा तड्पी रहेका छन् । यस कारण पनि भुटानको रबुना जस्ता अनकन्टारमा लुकाएर नागरिकहरूलाई मार्न निर्माण गरिएका जेलहरूमा अन्तर्राष्ट्रिय सरोकारवालाको दृष्टि पुग्न नितान्त जरुरी छ ।
अन्तर्राष्ट्रिय समुदायको नजरबाट टाढा रहेको रबुना नामको यो जेल आधुनिक फुच्चे हिट्लरको ग्यास चेम्बरको क्रूर र आततायीको नमुना हो। यहाँ बन्दीहरूलाई लामो समयसम्म चरम यातना दिएर तड्पाउने, अन्ततः उनीहरूको जीवन समाप्त गर्ने र मृत शरीरसमेत कसैलाई नदेखाउने वा यसको जानकारी नदिने जस्ता अमानवीय अभ्यास भुटानले आजसम्म कायम राखेको छ । यो अपराधको पराकाष्ठा भुटानी राजाले कहिलेसम्म जारी राख्ने हुन् ? त्यो त उनीहरूको कुरा हो।
यस लेखमा रबुना जेलको स्थान पत्ता लगाउन सक्दो प्रयास गरिएको छ। यसको उद्देश्य भनेको संसारभरका मानव अधिकारवादी संस्था, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र एमनेस्टी इन्टरनेसनल जस्ता सङ्घ-संस्थाहरूको ध्यान तान्नु हो ताकि उनीहरूलाई यसको सही स्थान पत्ता लगाउन सजिलो होस र त्यहाँको अवस्थालाई नियाल्न उनीहरुले सकुन् भन्ने हो । कुनै व्यक्तिले गरेको अपराधमा मृत्युदण्डको वा आजीवन कारावास योग्य नै किन नहोस्, उसको पनि मानव अधिकारको सुनिश्चितता गर्ने दायित्व अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूको हो। रबुना जेलमा रहेका बन्दीहरू, चाहे दोषी हुन् उनीहरूले आफ्नो मृत्यु कम्तिमा यातनारहित र सम्मानजनक ढङ्गले स्वीकार गर्न पाउनुपर्छ। यो लेखको मुख्य आशय मृत्युदण्डको समर्थन गर्नु वा नगर्नु होइन तर तानाशाही शासनले परिकल्पना गरेको क्रूर मृत्युदण्डको अभ्यासलाई चुनौती दिँदै बन्दी जीवन र मृत्यु सहज र मानवीय बनाउनुपर्ने माग गर्नु हो।
भुटानमा कानुनको सही व्याख्या गर्ने प्रणाली छ कि छैन ? यो भुटान सरकारकै जिम्मेवारी हो। तर यो यस्तो अमानवीय अभ्यासलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु आवश्यक छ ।
भुटानका राजाको मुखबाट माफी दिनु भन्ने वचन निस्कियो भने मात्र कुनै पनि बन्दीको प्राण बच्ने सम्भावना रहन्छ। तर यस्तो आज्ञा नआएको खण्डमा ती बन्दीहरू अनेकौँ दिन वा वर्षसम्म तड्पाएर मारिन्छन्। उनीहरूको शरीरका हड्डी भाँचेर, छाला चिथोरेर, अन्ततः जीवनको एक मुठी प्राणसमेत कष्टपूर्ण तरिकाले समाप्त गरिन्छ। यसरी भुटानमा राजबन्दीहरूदेखि सामान्य बन्दीहरुकोसम्म हत्या हुने मानव वधशाला बनेको छ रबुना जेल।
सन् १९८९ मा नेपालको बिर्तामोडबाट अपहरण गरिएका आस्थाका बन्दी टेकनाथ रिजाल र उनीसँगै अपहरणमा परेका जोगेन गजमेर र सुशील पोखरेलले यसै जेलमा भोगेको चरम यातनाको उल्लेख टेकनाथ रिजालले आफ्नो पुस्तकमा वर्णन गरेका छन्। यदि अन्तर्राष्ट्रिय समुदायको दबाब नआएको भए, सायद भुटानी राजाले उनीहरूको प्राण पनि रबुना कै जेलमा समाप्त गराउने थियो । तर अन्तर्राष्ट्रिय समुदायको दबाब भुटानलाई अत्यन्त महँगो परेपछि टेकनाथ रिजाल र अन्य केही राजबन्दीहरूलाई रिहा गर्न भुटान बाध्य भयो। यसरी उनीहरूको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदायको भूमिका निर्णायक रह्यो।
तर आज पनि रबुना जेलमा दर्जनौँ राजबन्दीहरू कठोर यातनाका साथ बन्दी जीवन बिताउन बाध्य छन्। ती बन्दीहरू कहाँबाट कसरी र कहिले भुटानको शासनको फन्दामा परे, त्यो बाहिर कसैलाई थाहा हुँदैन। न त यो पत्ता लगाउन सकिन्छ कि कति व्यक्तिहरू त्यहाँ मृत्युका दिन पर्खेर बसेका छन्। यसैले रबुना जेलभित्रका वास्तविकता, बन्दीहरूको संख्या, र उनीहरूमाथि लगाइएका अपराधका प्रकृतिहरू अन्तर्राष्ट्रिय जगतले खोजबिन गर्ने विषय हुनुपर्दछ।
यसमा मानव अधिकारवादी सङ्घ संस्थाहरू एमनेस्टी इन्टरनेसनल , इन्टरनेसनल रेडक्रस सोसाइटी , ह्युमन राइस्टस वाच जस्ता सरोकारवाला संस्थाहरूले निगरानी बढाउनै पर्छ। अन्यथा, भुटानमा कुन जेलमा कहिले र कसलाई मारिन्छ, यसको कुनै पत्तो बाहिर निस्कनेछैन।सबै भन्दा दुःख लाग्दो विषय ता भुटान रेडक्रस सोसाइटीको स्थापना सन् २०१८ मा भएको हो । यसको स्थापना कालदेखि नै संस्थाको सभापति जस्तो गरिमामय पदमा भुटानकी रानी जेटसन पेम (Jetsun Pema ) छन् । रेडक्रस सोसाइटी जस्तो मानवीय संस्थाको गरिमामय जिम्मेवारीमा रहेर पनि उनले बन्दीहरूको जीवन रक्षाका लागि सही भूमिका निर्वाह गरेको पाइँदैन । बन्दीहरूलाई अनावश्यक यातना दिने सरकारको आततायी प्रवृत्तिमा उहाँको कुनै पनि विमति आजसम्म पाइएको छैन । भुटानमा रानीको नेतृत्व रेडक्रस सोसाइटी जस्तो मानवीय संस्थाको निम्ति अपमान र दुरुपयोग मात्र भएको छ ।
यति मात्र होइन, भुटानमा रबुना जेलभन्दा खतरनाक र सुन्दै आङ जिरिङ्ग हुने अर्को जेलको नाम हो दोब्जी । उत्तरबाट बगेका पारो छु र थिम्फु छु मिसिएर वाङ्छु हुन्छ। फुन्छोलिङ्ग – थिम्पु रोड , जहाँबाट पारो र हा जाने रोडहरू छुटिन्छन् त्यसको करिवन पाँच किलोमिटर दक्षिणमा थिम्फु – फुन्छोलिङ्ग रोड र वाङ छु को किनारमा एउटा डाँडो वा थुम्को छ त्यही थुम्कोमा खोलापट्टि दोब्जी जेल छ । दोब्जी जेल एउटा अनकन्टार भिर र जङ्गलको बिचमा छ । यो पनि भुटानी शासनको एक क्रूरताको प्रतीक हो, जहाँ नागरिकहरूलाई अमानवीय तरिकाले मृत्युवरण गर्न बाध्य पारिन्छ।
यी जेलहरूको वास्तविकता बाहिर ल्याउन र भुटानी तानाशाहीको क्रूरता र अघोषित मृत्युदण्डको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रियता अपरिहार्य छ। अर्को कुरा यस लेखमा समावेश गरिएका सबै सूचना र केही तस्बिरहरू भुटान भित्रबाटै प्राप्त सामग्रीहरू हुन । यस कारण यस लेखमा स्रोतलाई सुरक्षित राख्न यहाँ उल्लेख गरिएका छैनन् , जसका लागि म क्षमा प्रार्थी छु ।
र यो पनि…