अमेरिका-क्यानडा जोड्ने ‘गोर्डी होवे अन्तर्राष्ट्रिय पुल’ संचालनमा, सीबीपीद्वारा ट्राभल एड्भाइजरी जारी
डेट्रोइट, अमेरिका / अमेरिकाको मिसिगन राज्यस्थित डेट्रोइट र क्यानडाको ओन्टारियोस्थित विन्डसर सहरलाई जोड्ने बहुप्रतिक्षित ‘गोर्डी होवे अन्तर्राष्ट्रिय पुल’ सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
दुई देशबीचको व्यापारिक तथा मानवीय आउजाउलाई थप सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो ६-लेनको आधुनिक पुल सोमबार दिउँसो ठिक १२:०० बजेदेखि सर्वसाधारण तथा व्यावसायिक सवारी साधनका लागि खुला गरिएको हो।
खेल जगतका क्यानेडियन पौराणिक नायक गोर्डी होवेको सम्झनामा नामाकरण गरिएको यो पुल अमेरिका र क्यानडाबीचको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय व्यापारिक नाकामध्ये एक हो।
गोर्डी होवे आइस हकी खेलका इतिहासकै सबैभन्दा चर्चित र महान् खेलाडी हुन । उनैको सम्मानमा अन्तर्राष्ट्रिय पुलको नामाकरण गरिएको हो ।
यो ऐतिहासिक पुल सञ्चालनमा आएसँगै यू.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन्स (सीबीसी ) को फिल्ड अपरेसन कार्यालयले सोमवार नै एक विशेष ट्राभल एड्भाइजरी जारी गरेको छ।
नयाँ नाकामा सुरुवाती दिनहरूमा सवारी साधनको अत्यधिक चाप बढ्न सक्ने अनुमान गर्दै सीबीपीले यात्रीहरूलाई सीमा पार गर्नुअघि नै पूर्ण तयारी गर्न आग्रह गरेको छ।
जारी विज्ञप्तिमा प्रवेश विन्दुमा हुनसक्ने सम्भावित ढिलाइलाई कम गर्न र जाँच प्रक्रियालाई तीव्र बनाउन यात्रीहरूले आफ्ना वैध यात्रा कागजातहरू सजिलै उपलब्ध हुने गरी साथमा राख्नुपर्ने स्पष्ट पारिएको छ।
सीबीपीले आज जारी गरेको विज्ञप्तिमा गैर-अमेरिकी यात्रीहरू, विशेष गरी क्यानडाको मार्ग हुँदै गाडी चढेर अमेरिका प्रवेश गर्ने पर्यटक तथा विद्यार्थीहरूलाई सीमामा पुग्नु अगावै अनलाइन वा ‘सीबीपी वान’ मोबाइल एपमार्फत आफ्नो आई-९४ आवेदन भर्न विशेष प्रोत्साहन गरेको छ।
पहिले नै आवेदन दिने यात्रीहरूको कागजी प्रक्रिया छिटो टुङ्गिने हुँदा सीमा पार गर्न सहज हुने सीबीपीले जनाएको छ। यसका साथै भिसा छुट कार्यक्रम अन्तर्गत यात्रा गर्नेहरूले पनि प्रवेश विन्दुमा आउनुअघि नै ‘इएसटीए’ बाट पूर्व-स्वीकृति लिनु अनिवार्य गरिएको छ।
नाकामा हुनसक्ने कानुनी झमेला र जरिवानाबाट बच्नका लागि सीबीपीले कडा कानुनी नियमहरू पनि स्मरण गराएको छ।
जसअनुसार यात्रीहरूले आफूसँग भएका सम्पूर्ण सामान, मदिरा र कृषिजन्य वस्तुहरूको सही घोषणा गर्नुपर्नेछ भने दश हजार अमेरिकी डलरभन्दा बढी नगद वा सो सरहको चेक भएमा अनिवार्य रूपमा जानकारी दिनुपर्नेछ।
अमेरिकाका केही राज्यहरूमा गाँजा वैधानिक भए तापनि संघीय कानुन अनुसार यो अझै अवैध रहेकाले सीमा पार गर्दा गाडीमा गाँजाजन्य वस्तु बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
अमेरिका तर्फको यो नयाँ प्रवेश विन्दुमा २० वटा यात्रुवाहक लेन, १५ वटा व्यावसायिक लेन र एउटा छुट्टै बस लेनको व्यवस्था गरिएको छ।
गाडीहरूका लागि सोमवार देखि पुल खुला भए पनि यस पुलमा निर्माण गरिएको पैदलयात्री तथा साइकल मार्ग भने आगामी अगस्त ५ देखि मात्र सञ्चालनमा आउनेछ।
पैदल वा साइकल जुनसुकै माध्यमबाट सीमा पार गर्दा पनि वैध राहदानी र यात्रा कागजात अनिवार्य हुने जनाइएको छ ।
अमेरिकाको मिसिगन र क्यानडाको ओन्टारियो राज्यबीच विगत ६० वर्षभन्दा बढी समयपछि बनेको यो नै पहिलो नयाँ सीमा नाका हो । यो उत्तर अमेरिकाकै सबैभन्दा लामो केबलमा आधारित पुल हो ।
यो आठ वर्ष लगाएर बनाइएको हो । यसको निर्माण कार्य सन् २०१८ को जुलाई मा सुरु भएको थियो । यस पुलको कुल निर्माण खर्च ४.७ अर्ब अमेरिकी डलर लागेको छ । यो पुलको लगभग खर्च क्यानडा सरकारले बेहोरेको हो, अमेरिका तर्फको भाग बनाउँदा लागेको खर्च पनि क्यानडाले नै बुझाएको छ । र पुलबाट उठ्ने टोल शुल्कबाट क्यानडाले यो लगानी बिस्तारै उठाउनेछ ।
खेलाडीको नाममा किन नामाकरण गरियो?
गोर्डी होवेको जन्म क्यानडामा भएको थियो । क्यानेडियन नागरिक होवेले आफ्नो खेल जीवनको २५ वर्षभन्दा बढी समय अमेरिकाको डेट्रोइट सहरमा बिताए ।
उनलाई अमेरिका र क्यानडा दुवै देशका नागरिकले उत्तिकै सम्मान र माया गर्थे । त्यसैले पुलको नाम दुवै देशका साझा नायकको नाममा राखियो । सन् २०१५ मा यो नाम जुराइएको हो ।
गोर्डी होवे आइस हकी खेलमा उनको योगदान अतुलनीय छ, जसका कारण उनलाई “मिस्टर हकी“ भनिन्छ । उनी आइस हकीको इतिहासमा ६ वटा फरक दशक व्यावसायिक रूपमा आइस हकी खेल्ने एक मात्र खेलाडी हुन् । सन् १९४० देखि १९९० को दशकसम्म उनले ५२ वर्षको उमेरसम्म खेल खेलेका थिए ।
उनले डेट्रोइट रेड विङ्ग्स टिमलाई ४ पटक हकी खेलको सबैभन्दा ठूलो उपाधि ‘स्ट्यान्ली कप’ दिलाए । उनी ६ पटक लिगकै ‘मोस्ट भ्यालुअबल प्लेयर’ घोषित भए र ६ पटक नै शीर्ष स्कोरर बने ।
खेल जीवनबाट सन्यास लिँदा उनको नाममा ८०१ गोल र १,८५० पोइन्टको कीर्तिमान थियो, जसलाई पछि वेन ग्रेट्स्कीले मात्र तोड्न सके ।
फोटो : सीबीपी















