अमेरिकीहरूबाट वार्षिक १५ मिलियन डलर ठगी गर्ने ‘सिम फार्म’ नेटवर्क ध्वस्त
अमेरिकामा ठूलो साइबर ठगी नेटवर्क ध्वस्त: ५ लाखभन्दा बढी सिमकार्ड र १९ सय सिम बक्स जफत, चिनियाँ आपराधिक गिरोहको संलग्ना
वासिङ्टन डीसी / अमेरिकामा ठूलो मात्रामा साइवर ठगीको नेटवर्क ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । सुरक्षा निकायहरूले देशव्यापी रूपमा चलाएको एक विशेष अपरेशनका क्रममा करोडौँ डलर ठगी गर्ने उद्देश्यले सञ्चालित अवैध ‘सिम फार्म’ हरूको विशाल नेटवर्कलाई ध्वस्त पारेका छन्।
अमेरिकी होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स (एचएसआइ ) र साइबर अपराध केन्द्रको संयुक्त नेतृत्वमा सञ्चालित “अपरेशन सिग्नल ब्रेक” मार्फत यो सफलता हात परेको हो।
सुरक्षा अधिकारीहरूका अनुसार यो कारबाहीमा चिनियाँ अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूको संलग्नता रहेको खुलेको छ।
यू.एस. इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट आइसले मंगलवार जारी गरेको विज्ञप्तीमा पाँचवटा राज्यहरूमा सञ्चालित साइबर अपराध केन्द्रको संयुक्त अपरेशनले अमेरिकी नागरिकहरूबाट वार्षिक रूपमा करिब १५ मिलियन डलर ठगी गर्न प्रयोग गरिने आपराधिक “सिम फार्महरू” लाई पूर्ण रूपमा ध्वस्त पार्ने काम जारी राखेको छ भनिएको छ ।
‘यी “फार्महरू” भित्र शर्ट मेसेज सर्भिस गेटवेहरू राखिएका हुन्छन्, जसलाई “सिम बक्सहरू” भनिन्छ। यी प्रत्येक सिम बक्समा सयौँदेखि हजारौँसम्म मोबाइल सिम कार्डहरू हुन्छन्। यिनीहरूले अवैध ठगी कलहरू, फिसिङ मेसेजहरू र अन्य जालसाजी योजनाहरूका लागि पहिचान लुकाएर ठूलो संख्यामा कल र टेक्स्ट मेसेजहरू पठाउने काम गर्छन्।’ विज्ञप्तीमा भनिएको छ ।
आइसका अनुसार यो अपरेशनमा ११ वटा एचइसआइ फिल्ड कार्यालयहरूका विशेष एजेन्ट र विश्लेषकहरूलाई उच्च जोखिमयुक्त क्षेत्रहरूमा खटाइएको थियो, जसमा लस एन्जलस, मियामी, टम्पा, ह्युस्टन, बोस्टन, न्यूयोर्क र न्यू जर्सी समावेश थिए ।
‘अवैध दूरसञ्चार पूर्वाधार ध्वस्त पार्न हाम्रा विशेष एजेन्टहरूले देखाएको उत्कृष्ट समर्पण र टिमवर्कको म प्रशंसा गर्दछु। न्यायको निरन्तर खोजी र हाम्रो सञ्चार नेटवर्कको अखण्डता जोगाउने उनीहरूको प्रतिबद्धताले हाम्रा समुदायहरूलाई सुरक्षित बनाएको छ। साथै, अमेरिकीहरूलाई ठग्न हाम्रा प्रणालीहरूको दुरुपयोग गर्न खोज्नेहरूलाई यसले स्पष्ट सन्देश दिएको छ,” एचएसआइ का कार्यवाहक कार्यकारी एसोसिएट निर्देशक जोन कन्डनले भने, ‘यो सफलता हाम्रो एचएसआइ टिमको सीप र दृढ संकल्पको प्रमाण हो ।’
एचएसआइ लस एन्जलसले काउन्टर थ्रेट फाइनान्स युनिट र क्रस बोर्डर फाइनान्सियल क्राइम्स सेन्टरसँगको साझेदारीमा जफत गरिएका सिम डेटा र नेटवर्क प्रमाणहरूको अनुसन्धान गर्ने जनाइएको छ ।
‘यसको उद्देश्य पीडितहरूको पहिचान गर्ने, ठगीको कुल नोक्सानी पत्ता लगाउने र चिनियाँ अन्तर्राष्ट्रिय आपराधिक संगठनहरू तथा तिनीहरूको वितरण नेटवर्कसँग जोडिएको अवैध रकमको खोजी गर्ने रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘यी अनुसन्धानका नतिजाहरूले थप आपराधिक अभियोगहरू दर्ता गर्न, सम्पत्ति जफत गर्न र देशभित्र तथा विदेशमा रहेका पूर्वाधारहरूमाथि प्रतिबन्ध लगाउन मद्दत पुर्याउनेछन् ।’
अमेरिकामा पछिल्लो समय सर्वसाधारण नागरिकहरूलाई बैंक, सरकारी अधिकारी वा वित्तीय संस्थाको नक्कली पहिचान बनाएर फिसिङ मेसेज र ठगी कलहरू आउने क्रम अत्यधिक बढेको थियो।
फोटो : आइस















