दोस्रो पुस्तालाई खेलकुद माध्यम बाट एनआरएनए अमेरिकामा जोड्ने दृष्टिकोण : अनुप खनाल

बाल्टिमोर, मेरिल्याण्ड/ प्रवास हामी आफूलाई व्यवस्थित गर्दै जाँदा र नेपाली डायस्पोराको हितको लागि संघ संस्थामा आफूले समय दिइरहँदा हामी पछिका दोस्रो युवा पुस्ताहरू लाई आफ्नो भाषा साहित्य, समाज र संघ संस्थाको सङ्गठनात्मक गतिविधिमा संलग्न गराउनु चुनौतीपूर्ण हुँदै गएको छ।
युवाहरूको जोश, उत्साह र सृजनशीलता लाई संगठनको दिगो सफलता र विकासको मूल शक्तिमा परिवर्तन गर्न र यस्तो ऊर्जा र क्षमता सङ्गठनमा उपयोग गर्न खेलकुद एउटा प्रभावकारी माध्यम बन्न सक्छ।
खेलकुदको माध्यमले युवालाई केवल शारीरिक रूपमा फिट राख्ने मात्र होइन, उनीहरूलाई नेतृत्व विकास, टिमको भावना र सामुदायिक एकताको भावना विकास गर्न पनि सहयोग पुर्याउँछ। यसले युवाहरूको आत्मविश्वास बढाउने र एक जिम्मेवार नागरिक बनाउन सशक्त भूमिका निर्वाह गर्दछ।
खेलकुदले अनुशासन, सहनशीलता, र आत्मनिर्भरता जस्ता उपयोगी गुणहरूको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यी गुणहरू केवल खेलकुदको मैदानको लागि मात्र होइन, व्यक्तिगत र व्यावसायिक जीवनको लागि पनि उपयोगी हुनसक्छ । खेलकुद मात्र एउटा यस्तो माध्यम हो जसले प्रवासमा रहेका दोस्रो पुस्ताका युवाहरूलाई सहज रूपमा आकर्षित गर्न सक्दछ । यसले प्रवासमामा रहेका संगठन र युवाहरूबिचको दुरी हटाई सहज सम्पर्कको वातावरण निर्माण गर्छ। खेलकुदको माध्यमले युवाहरूलाई सामुदायिक सम्बन्ध निर्माण गर्न र साझा लक्ष्य प्राप्त गर्नका लागि प्रेरित पनि गर्दछ।
स्थानीय संघ संगठनहरूले खेलकुदका माध्यमबाट युवालाई संलग्न गराउन विभिन्न तरिकाहरू अपनाउन सक्छन् त्यस मध्ये खेलकुद प्रतियोगिता आयोजना गर्नु एउटा प्रभावकारी तरिका माध्यम हो जहाँ युवाहरू आफ्नो प्रतिभा स्वतः स्वस्पुर्त रूपमा प्रदर्शन गर्न सक्छन्।
उदाहरणका लागि, फुटबल, बास्केटबल, क्रिकेट, वा ईस्पोर्ट्स जस्ता गतिविधिहरूले धेरै युवाहरूलाई आकर्षित गर्न सक्छ। यस्ता प्रतियोगितामा पुरस्कार, छात्रवृत्ति, वा ठुलो प्रतियोगितामा भाग लिन मात्र होइन प्रतियोगी छनोटको प्रक्रियामाको पनि मौका दिइने हो भने यसले अझ बढी उत्साह र सहभागिताको निर्माण गर्छ अझ भन्ने हो भने प्रतियोगिता मात्र होइन कि उनीहरूको नेतृत्व , टिमको भावना र सीपहरूको प्रशिक्षण सँग खेलकुदको संयोजन गर्न सकेमा युवाहरूलाई बहु आयामिक अनुभव बटुल्ने मौका दिन सकिन्छ।
खेलकुद कार्यक्रम द्वारा परामर्शदाता सँग सहकार्यका लागि पनि उपयोगी बनाउन सकिन्छ। युवाहरूले स्थानीय प्रशिक्षक, पूर्व खेलाडी वा व्यावसायिक व्यक्तित्वहरू बाट खेलकुद र जीवनको चुनौतीहरू सँग सामना गर्ने तरिका र अनुभवहरू सिक्न सक्छन् । यसले युवाहरूलाई आत्मविश्वासी र जिम्मेवार व्यक्तित्व बनाउन पनि सहयोग पुर्याउँछ।संस्थाले खेलकुद कार्यक्रमहरु आयोजना गर्दा युवाहरूलाई योजना र व्यवस्थापनमा संलग्न गराउनु अर्को महत्त्वपूर्ण काम हुन जान्छ। यसो गर्नाले उनीहरूलाई स्वामित्व र जिम्मेवारी भावनाको विकास गराउँछ। कार्यक्रम व्यवस्थापन, प्रचार-प्रसार र टिम व्यवस्थापन गर्ने जस्ता भूमिकाहरूमा युवाहरूलाई समावेश गर्ने हो भने उनीहरूको नेतृत्व क्षमताको विकास हुन जान्छ ।
कुरा के छ ? भने हरेक खेलकुद गतिविधि प्रतिस्पर्धात्मक हुनुपर्छ भन्ने छैन। मनोरञ्जनात्मक र अनौपचारिक गतिविधिहरूले परम्परागत खेलकुदमा रुचि नभएका युवाहरूलाई आकर्षित गर्न सक्छ। योगा, हाईकिंङ, म्याराथन जस्ता गतिविधिहरूले सहज र रमाइलो वातावरण सिर्जना गर्दै युवाहरूलाई एकताबद्ध हुन मद्दत गर्दछ।
सामाजिक परिवर्तन र प्रभावका लागि खेलकुद एक शक्तिशाली माध्यम हो। खेलकुद कार्यक्रमलाई स्वास्थ्य, शिक्षा, वा वातावरणीय अभियान सँग जोडेर युवालाई समाजप्रति उत्तरदायी बनाउने प्रयास गर्न सकिन्छ भने च्यारिटी, सामुदायिक कार्यक्रम वा स्वास्थ्य सम्बन्धी जागरूकता अभियान जस्ता गतिविधिहरूमा युवाहरूलाई सहभागी गराएर सामाजिक उत्तरदायित्वको विकास गर्न गर्नुपर्छ । अहिलेको २१ औ शताब्दीमा भएको डिजिटल प्रविधिको विकासहरू लाई उपयोग गर्दै खेलकुद कार्यक्रमहरु लाई धेरै अझ प्रभावकारी बनाउन सकिन्छ ।
कार्यक्रमहरूलाई अनलाइन मार्फत प्रत्यक्ष प्रसारण गरेर वा विभिन्न एप्सहरुको माध्यमबाट व्यवस्थापन गरेर युवाहरूलाई सङ्गठनसँग लामो समयसम्म जोड्न सकिन्छ।खेलकुद कार्यक्रमले समावेशिता र विविधताको प्रवर्द्धन गर्न पनि योगदान पुर्याउँछ। महिलाहरूका लागि पनि विशेष खेलकुद कार्यक्रम, शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि उनीहरूको अनुकूलता अनुसारको खेलकुद र बहु सांस्कृतिक परम्पराहरू झल्काउने गतिविधिहरूले सबै समुदायलाई समेट्न सहयोग पुर्याउँछ।
दीर्घकालीन संलग्नताको सुनिश्चित गर्न खेलकुद कार्यक्रमहरूको माध्यम द्वारा दोस्रो पुस्ताका युवाहरूको नेतृत्व विकास, स्वयंसेवा र नेटवर्किङका अवसरहरू सिर्जना गरी खेलकुदमा उत्कृष्ट प्रदर्शनको आधारमा संस्थाका अन्य गतिविधिहरूमा समावेश पनि गराउन सकिन्छ।
अन्तमा , खेलकुद केवल एउटा मनोरञ्जनको माध्यम मात्र होइन। यो त युवाहरूलाई सशक्त बनाउने र संस्था सँग जोड्ने एउटा बलियो माध्यम हो। खेलकुदको उत्साहलाई नेतृत्व विकास, सामाजिक प्रभाव र उपयोगी सीपहरूमा संयोजन गर्न सकेमा संघ संस्थाहरू सँग युवाहरूको दिगो सम्बन्ध रही रहन्छ भने खेलकुद मार्फत युवाहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा सशक्त बनाउँदै भविष्यमा सफल नागरिकको निर्माण पनि गर्न सकिन्छ।
(खनाल गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका युवा उपाध्यक्ष तथा विद्यार्थी र खेलकुद विभागका विभागीय प्रमुख हुन्।)
र यो पनि…