प्रवासमा नेपाली र निर्माण पेसासँगको दुरी हेर्ने दृष्टिकोण, सम्मान र हराइरहेको सम्भावना
अनुप खनाल
विदेश पुगेका नेपालीहरूको एउटा साझा परिचय छ, मेहनती, लगनशील र परिवारमुखी। हामी जहाँ पुगे पनि काम खोज्छौ, आफ्नो जीवन स्थिर बनाउन प्रयास गछौ । तर एउटा रोचक यथार्थ के छ भने, हामीले रोज्ने कामको दायरा प्रायः उही हुन्छ।
ग्यास स्टेशन, ग्रोसरी स्टोर, आईटी कम्पनी, वेयरहाउस, बैंकिङ, डाक्टर, इन्जिनियर, रेस्टुरेन्ट वा होटल, अहिले यी क्षेत्रहरूमा नेपालीहरूको उपस्थिति बाक्लो छ। यी सबै पेशा सम्माननीय छन् तर हाम्रो सामूहिक सोचले यिनलाई “राम्रो र सफा काम” को प्रतीक बनाएको छ।
यही सोचले निर्माणकार्य जस्तो सिपमूलक, उद्यमशील र सम्भावनायुक्त क्षेत्रबाट हामीलाई टाढा बनाइरहेको छ। नेपालमै सानैदेखि हाम्रो समाजले पढाइ लाई “कपडा सेतो हुने पेशा” सँग जोडेर बुझाउने गरेको थियो विद्यालयमा प्राविधिक शिक्षा (vocational training) भन्दा अफिसको कुर्सीमा बस्ने पेशालाई बढी मूल्य र मान्यता दिइन्छ र त्यही सोच प्रवासमा पनि साथ आउँने रहेछ ।
जब हामी अमेरिका वा अन्य देशमा पुग्छौ हाम्रो मनमा एउटा सोच र रहर जन्मन्छ, सफा कपडा र एसी भएको कोठामा बस्ने काम नै सफलता हो तर यथार्थ के हो भने, ती सफा कोठा, अफिस भवन र शहरहरु धुलो र माटो सँगै पसिना बगाउने कामदारहरूको हातले ठड्याइएका हुन्।त्यो धुलो अपमान होइन, गौरवको प्रतीक पनि हो ।
अमेरिकामा अहिले निर्माण उद्योग विशाल अवसरको मैदान बनेको छ।करिब ८ देखि ११ मिलियन मानिस यस क्षेत्रमा काम गर्छन्, जसमा मध्ये झन्डै २५ प्रतिशत विदेशी मुलुकका छन्।
यीमध्ये धेरै जना ल्याटिन अमेरिकी वा एशियाली समुदायका छन् तर नेपाली समुदायको उपस्थिति भने अझै पनि धेरै न्यून छ। हामी आईटी, ग्यास स्टेशन वा रेस्टुरेन्ट सञ्चालनमा गर्व गछौ, जुन बिलकुल गलत होइन, तर त्यो सीमिततामा हामीले अर्को ठूलो सम्भावना छुटाइरहेका छौ।
नेपालमा मैले निर्माण पेसाबाट नै आफ्नो यात्रा सुरु गरेको थिएँ सिमेन्ट, ढुंगा, फलाम र पसिनाको संसारमा। त्यो पेशाले मलाई केवल आम्दानी होइन, गौरव र आत्मसम्मान पनि दियो।अमेरिका आएपछि पनि मैले यही सीपलाई ढिलो चाँडो निरन्तरता दिएँ।मेरो लागि सुरुका दिनहरू सहज थिएनन् — लाइसेन्स, उपकरण, बीमा, ग्राहकको विश्वास सबै परीक्षण जस्तै थिए। अझै पनि सहज छैनन्, धेरै सिके , धेरै गुमाए पनि अझ धेरै सिक्नु बाँकी छ ।
तर मैले बुझेँ, सीप र इमान भएका मानिसलाई संसारको कुनै पनि ठाउँमा रोक्न सकिँदैन । नेपालमा सिकेको सिप बानीले यहाँ पनि सफलताको भाषामा रूपान्तरण भयो। बुझ्नु के जरुरी छ भने – निर्माण पेशा कुनै सामान्य मजदुरी होइन।यो व्यावसायिक र प्राविधिक क्षेत्र हो — जसमा कामदार देखि ठेकेदार र ठेकेदार देखि कम्पनी मालिक बन्न सकिने प्रशस्त सम्भावना छ।सत्य के हो भने, एक कुशल निर्माण व्यवसायी वा ठेकेदारको आम्दानी धेरैजसो अफिसको पेशाभन्दा बढी हुन सक्छ तर हाम्रो समाज अझै पनि यसलाई ” ब्लु-कलर” ( तलको तहको काम ) काम हो भन्ने सोचले हामीलाई सीमित बनाइरहेको छ।
निर्माण पेशा त्यस्तो क्षेत्र हो, जहाँ सीप, अनुशासन र इमानको मापन पैसाभन्दा ठुलो हुन्छ।यो उद्यमशीलताको आत्मसम्मान हो कसैको सपना जगमा राख्नु, त्यो केवल काम होइन — योगदान हो। नेपालमा सिकेको सीपले मलाई सधैँ सम्झाइरहन्छ —“इँटा र सिमेन्टले घर बन्छ तर इमान र पसिनाले सम्मान” । आज जब म प्रवासमा हाम्रो समुदायलाई हेर्छु, मनमा एउटै भावना उठ्छ —हामी सबैले आफ्नो सोच विस्तार गर्नुपर्छ।
ग्यास स्टेशन, ग्रोसरी, होटल, रेस्टुरेन्ट वा सफा कोठाको जागिर मात्र होइन, कुनै पनि पेशा राम्रो हुन्छ, जब त्यसमा गर्व र इमान मिसिन्छ।समाजले निर्माणजस्तो सिपमूलक क्षेत्रमा दृष्टिकोण परिवर्तन गर्न सकेको दिन — जब हामीले यसलाई केवल शारीरिक श्रम होइन, उद्यमशीलता, सृजनशीलता र पहिचानको प्रतीकका रूपमा लिन थाल्छौँ- त्यो दिन नेपाली नाम केवल पसल र व्यवसायमा होइन, भवन र सहरहरूको जगमा पनि गर्वका साथ अंकित हुनेछ।
मेरो लागि निर्माण पेशा केवल रोजगारी होइन, जीवनको दृष्टिकोण हो।नेपालमा सुरु भएको त्यो यात्रा विदेशमा पनि निरन्तरता दिई रहेको छु— माटो फरक, तर भावना उही , शायद यही हो, प्रवासमा नेपालीहरूको अर्को अध्याय जहाँ पसिनाले पहिचान लेखिन्छ र सीपले सम्मान कमाइन्छ।
(खनाल गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाका निवर्तमान उपाध्यक्ष हुन् । हाल उनी माउन्ट मकालु कन्स्ट्रक्सनका संचालक हुन् ।सं.)

















