प्रवासमा बसेका भूटानी अब शरणार्थी रहेनन्

ह्यारिसबर्ग, पेन्सिल्भेनिया / एक समय थियो, जब भूटानबाट विस्थापित भएका हजारौँ नेपाली भाषी पूर्वी नेपालका झापा र मोरङका शरणार्थी शिविरहरूमा आफ्नो भविष्यको प्रतीक्षा गरिरहेका थिए । अहिले पनि झण्डै आठ हजार त्यहीँ छन्।
उनीहरूको परिचय “भूटानी शरणार्थी” थियो र राखिएको छ अहिले पनि। त्यो परिचयमा पीडा थियो, छ र रहिरहन्छ पनि,विस्थापनको घाउ थियो, छ र रहिरहन्छ पनि।
आफ्नो जन्मभूमिबाट टाढा हुनुपरेको वेदना थियो । शरणार्थी शिविरमा बसिरहने र बसिरहेका ती आठ हजारको त आज पनि कि त स्वदेश फिर्ती होस् कि त नेपाली नागरिकता मिलोस् भन्ने आशा मरेको छैन।यसको धेय केही नभएर कुनै न कुनै देशको नागरिक भएर मानवअधिकारको सदुपयोग – अनुभूति गर्न पाइयोस् भन्ने हो।
आफ्नै पुर्खाको भूमिमा शरणार्थी हुनु परेको मुटुको घाउ कहिल्यै निको हुँदैन। तर समय सधैँ एउटै रहँदैन। इतिहासका पानाहरू पल्टिँदै जाँदा परिस्थितिहरू पनि परिवर्तन हुन्छन् र भयो पनि।
तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, नर्वे, डेनमार्क लगायतका देशमा पुगेका अधिकांश भूटानी शरणार्थीहरू आज ती देशका कानुनी नागरिक बनिसकेका छन्।
उनीहरू अब शरण खोज्ने अवस्थामा छैनन्। उनीहरूले आफ्नो परिश्रम, इमानदारी र सङ्घर्षबाट नयाँ समाजमा सम्मानजनक स्थान निर्माण गरेका छन्। भाषा,शिक्षा, स्वास्थ्य, व्यापार, राजनीति, साहित्य, संगीत, सेना र विभिन्न पेशागत क्षेत्रमा उनीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
आज उनीहरूलाई केवल “शरणार्थी” भनेर चिनाउनु वास्तविकताभन्दा धेरै टाढाको कुरा हो। शरणार्थी भन्ने शब्दले अस्थायी अवस्थालाई जनाउँछ, तर आप्रवासमा रहेकाहरूको जीवन अब स्थायी रूपमा नयाँ देशसँग जोडिएको छ। उनीहरूका छोराछोरीहरू त्यहीँ जन्मिएका छन्, त्यहीँको शिक्षा पाएका छन् र त्यहीँको भविष्य निर्माण गरिरहेका छन्। कानुनी रूपमा पनि उनीहरू जुन देशमा बसोबास गरिरहेका छन्, त्यही देशका नागरिक हुन्।
यसको अर्थ उनीहरूले आफ्नो इतिहास बिर्सिनुपर्छ र बिर्सन्छन् भन्ने होइन। भूटानको सम्झना, नेपालका शिविरहरूमा बिताएका घृणित र पीडित वर्षहरू, भाषा, संस्कृति र पुर्खाको विरासत उनीहरूको पहिचानको महत्त्वपूर्ण हिस्सा रहनेछ। तर वर्तमान यथार्थलाई स्वीकार गर्न पनि आवश्यक छ। नागरिकता, अधिकार र कर्तव्यका दृष्टिले उनीहरू अब भूटानका नागरिक होइनन्, नेपालका पनि होइनन्; उनीहरू आफू बसोबास गरिरहेको देशका नागरिक हुन्।
त्यसैले आजको पुस्ताले आफूलाई केवल विगतको पीडासँग मात्र बाँधेर राख्नु हुँदैन। संघर्षको इतिहासलाई सम्मान गर्दै, वर्तमानको अवसरलाई उपयोग गर्दै र भविष्यलाई उज्यालो बनाउँदै अघि बढ्नु आवश्यक छ। शरणार्थी शिविरका टहराहरूबाट सुरु भएको यात्रा आज विश्वका विकसित राष्ट्रहरूमा पुगेर नयाँ पहिचान निर्माण गर्ने यात्रामा रूपान्तरण भइसकेको छ।
कुनै पनि व्यक्ति, संस्था वा समूह जुन देशमा बस्छ, रहन्छ र आफ्नो गतिविधि सञ्चालन गर्छ, उसले त्यस देशको नियम, कानुन र संवैधानिक व्यवस्थाको सम्मान गर्नुपर्छ। यदि कसैले कानुन उल्लङ्घन गर्छ भने त्यसको अनुसन्धान, मूल्याङ्कन र कारबाही पनि कानुनअनुसार नै हुनुपर्छ र हुन्छ। विधिको शासन भएको समाजमा दोष र जिम्मेवारी व्यक्तिको काम र व्यवहारका आधारमा निर्धारण गरिन्छ, अनुमान वा भावनाका आधारमा होइन।
तर कुनै एक व्यक्तिको गल्तीका कारण सम्पूर्ण संस्था, समाज वा समुदायलाई दोषी ठहर गर्नु न्यायसंगत हुँदैन। त्यसै गरी कुनै संस्थाभित्र देखिएको अस्थिरता, विवाद वा कमजोरीका कारण त्यहाँ आबद्ध सबै व्यक्तिलाई दोषी भन्न मिल्दैन। जिम्मेवारी सधैँ तथ्य, प्रमाण र सम्बन्धित पक्षको भूमिकाका आधारमा निर्धारण हुनुपर्छ।
सभ्य समाजको विशेषता नै यही हो कि उसले व्यक्तिगत उत्तरदायित्व र सामूहिक सम्मानबिच सन्तुलन कायम गर्छ। एक जनाको कमजोरीलाई सम्पूर्ण समुदायको परिचय बनाउनु गलत हुन्छ। त्यसैले कानुनले दोषीलाई कारबाही गरोस्, तर निर्दोष व्यक्ति, संस्था वा समाजको प्रतिष्ठामाथि अनावश्यक आरोप नलागोस् भन्ने चेतना सबैमा आवश्यक छ।
भूटानी शरणार्थीहरूको कथा अब केवल शरणार्थी जीवनको कथा होइन; यो संघर्ष, पुनर्जन्म, आत्मविश्वास र नयाँ नागरिक पहिचानको कथा हो। उनीहरू अब शरणार्थी होइनन्—उनीहरू जुन देशमा बसेका छन्, त्यही देशका जिम्मेवार ,कानुनी र सम्मानित नागरिक हुन्।

















