अमेरिकी सर्वोच्च अदालतका महत्त्वपूर्ण फैसला आउन बाँकी, जन्मसिद्ध नागरिकतादेखि आप्रवासनसम्मका मुद्दामा चासो
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी सर्वोच्च अदालतलेको चालु कार्यकाल अन्तिम चरणमा पुगेको छ।
अदालतले अझै २३ वटा महत्त्वपूर्ण मुद्दामा फैसला सुनाउन बाँकी रहेको छ । जसमा जन्मसिद्ध नागरिकता, आप्रवासन, ट्रान्सजेन्डर खेलाडीको सहभागिता, हतियार अधिकार तथा राष्ट्रपतिको अधिकारसम्बन्धी विषयहरू समावेश रहेका छन्।
सबैभन्दा चर्चित मुद्दामध्ये एक जन्मसिद्ध नागरिकता सम्बन्धी छ। यसमा कागजातविहीन आप्रवासीका सन्तान अमेरिकामा जन्मिएपछि स्वतः अमेरिकी नागरिक हुने कि नहुने भन्ने विषयमा अदालतले निर्णय गर्नेछ।
ट्रम्प प्रशासनले यस्ता बालबालिकाले स्वतः नागरिकता पाउनु नहुने तर्क राख्दै आइरहेका छन् । अमेरिकी नागरिक स्वतन्त्रता संघ ‘एसीएलयू’ ले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै नागरिकता नदिइए ती बालबालिका कानुनी अनिश्चितताको अवस्थामा पर्ने जनाएको छ।
त्यस्तै, अर्को महत्त्वपूर्ण मुद्दा ट्रान्सजेन्डर महिला तथा किशोरीहरूको खेलकुद सहभागिता सम्बन्धी छ। अदालतले ट्रान्सजेन्डर खेलाडीहरू, विशेषगरी महिला र किशोरीहरूलाई महिला टोलीमा प्रतिस्पर्धा गर्न दिने वा नदिने विषयमा निर्णय गर्नेछ।
यसका विरोधीहरूले ट्रान्सजेन्डर खेलाडीहरूलाई महिला प्रतिस्पर्धामा सहभागी गराउँदा अन्य खेलाडीमाथि असमान प्रतिस्पर्धात्मक लाभ हुने दाबी गरेका छन्। वेस्ट भर्जिनियाकी एक ट्रान्सजेन्डर छात्राले आफ्नो विद्यालयको ट्र्याक एन्ड फिल्ड टोलीमा खेल्न पाउनुपर्ने मागसहित राज्यविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
आप्रवासनसँग सम्बन्धित अर्को मुद्दामा अदालतले हिंसा र प्राकृतिक विपद्बाट प्रभावित देशका नागरिकलाई अमेरिकामा अस्थायी रूपमा बस्न अनुमति दिने टेम्पोररी प्रोटेक्टेड स्टाटस ‘टिपिएस’ कार्यक्रम खारेज गर्न ट्रम्प प्रशासनलाई अधिकार छ कि छैन भन्ने विषयमा फैसला दिनेछ।
ट्रम्प प्रशासनले यो कार्यक्रम अस्थायी प्रयोजनका लागि मात्र ल्याइएको दाबी गरेको छ। हैटीमा जन्मिएकी तथा बाल्यकालमै अमेरिका आएकी मार्लेन नोबलले आफूलाई पुनः हैटी फर्किन कल्पना गर्नसमेत कठिन हुने बताएकी छन्।
उनका अनुसार उनी अब हैटीको भाषा बोल्न सक्दिनन्, त्यहाँ आफ्ना परिवारका सदस्यलाई चिन्दिनन् र देशमा अझै जारी हिंसाका कारण फर्किनु मृत्युदण्ड सरह हुने बताएकी छिन् ।
त्यस्तै, सर्वोच्च अदालतले हतियार अधिकार सम्बन्धी एक महत्त्वपूर्ण मुद्दामा पनि निर्णय गर्नेछ। यसमा अवैध रूपमा लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई हतियार राख्न अनुमति दिन मिल्ने वा नमिल्ने भन्ने प्रश्नको टुङ्गो लगाइनेछ।
त्यसैगरी अदालतले राष्ट्रपतीय अधिकारको सीमा सम्बन्धी अर्को चर्चित मुद्दामा पनि फैसला सुनाउने तयारी गरेको छ। उक्त मुद्दामा राष्ट्रपति ट्रम्पलाई अमेरिकी संघीय रिजर्भको गभर्नर बोर्डका सदस्यलाई पदबाट हटाउने अधिकार छ कि छैन भन्ने विषयको व्याख्या गरिनेछ।
यी सबै मुद्दाका फैसला आगामी केही साताभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। अदालतको निर्णयले अमेरिकी राजनीति, आप्रवासन नीति, नागरिक अधिकार तथा संघीय शासन प्रणालीमा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

















