म्यासाचुयोट्समा केप कडमा मनाइयो ‘साकेला उभौली’
केप कड, म्यासाच्युसेट्स/ केप कड नेपाली समाजको आयोजनामा किरात वर्ष ५०८६ को साकेला-उभौली पर्व म्यासाच्युसेट्स राज्यको केप कडस्थित सेन्टरभिल सहरमा भव्यताका साथ सम्पन्न भएको छ।
स्थानीय फर्टर्नल लजको प्राङ्गणमा जुन महिनाको ६ तारिखका दिन यो सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
केप कड नेपाली समाजका अध्यक्ष विष्णुमान प्रधानको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न विशिष्ट पाहुनाहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा ‘युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका’ (युक्रो) न्यू इङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण राई, युक्रोका सल्लाहकार तथा नाक्छोङ (पुजारी) विष्णु राई, र युक्रोका उपाध्यक्ष मुक्ति राईको सहभागिता थियो।
यसैगरी ‘नेवा अर्गनाइजेसन अफ न्यू इङ्गल्याण्ड’ का अध्यक्ष विजेन्द्र प्रधानका साथै न्यू ह्याम्पशायर र बोस्टनबाट आएका अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। पाहुनाहरूको सक्रिय सहभागिताले आयोजकहरूलाई थप हौसला प्रदान गरेको थियो।
कार्यक्रम केप कड नेपाली समाजको उपाध्यक्ष इच्छा खड्का, महासचिव सरस्वती खनाल र सचिव हर्कुलस कन्दंगवाद्वारा संयुक्त रूपमा सञ्चालन गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण तिमल्सिनाले कार्यक्रममा उपस्थितलाई साकेला-उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै स्वागत गरेका थिए ।
समाजका सदस्य तथा साकेला – उभौली कार्यक्रमका मुख्य संयोजक आदर्श राईले साकेला उभौली पर्वको बारेमा प्रस्टाएका थिए ।
‘साकेला किरात समुदायको मुख्य चाड हो र यसैको मार्फतबाट वर्षको दुई पटक विशेष गरि खेती बाली लगाउने बेला (उभौली) बालीनाली भित्राउने बेला (उँधौली) प्रकृतिको पूजा तथा विशेष खालको नाचगानद्वारा पुर्खाहरूलाई सम्मान र धन्यवाद व्यक्त गर्ने प्रचलन रहिआएको छ ।’ उनले भने।
कार्यक्रमको प्रमुख आकर्षण र महत्त्वपूर्ण पक्ष “साकेला- उभौली पूजा” साथै “चण्डी नाच नाकछोगं बिष्णु राई, सिली मोपा (सीताराम राई), सिली मोमा (अर्पणा राई) र ढोलेहरू (दिल बारेलुंग र नुरूहांग राई) बाट शुभारम्भ गरिएको थियो।


















