८२ वर्षीया आमालाई ‘नर्थ क्यारोलाइनामा हिउँको पहिलो अनुभव’

कमल खनाल
१० जनवरी २०२५ को बेलुका नर्थ क्यारोलाइनामा हिउँ पर्यो। सिमलका भूवा हावामा उडे झैँ हिउँका हल्का पत्काहरू फुरुरुरु जमिनमा झरे। केही घण्टामा नै ती पत्काहरूले जमिन ढाकेर सेताम्मे बनायो। हामीले पनि ती झरेका पत्काहरूलाइ हातमा थाप्यौ शरीर भरी पार्यौ। त्यसै भित्र रमायौ। हिउँ परेको देख्यौ। हिउँ खेलेको देख्यौ र खेल्यौ।
यसै समयमा अमेरिकाका धेरै राज्यहरूमा हिउँ परेर करोडौँ मानिसहरू प्रभावित भइरहेको समाचार आइरहेको थियो। सरकारले ती राज्यहरूमा इमर्जेन्सी घोषणा गरिसकेको थियो। कति स्थानहरूमा सडक दुर्घटनाका सूचनाहरू आइरहेका थिए।सडकहरू हिउँले पुरै ढाकिएका थिए। घरहरू पनि हिउँले ढाके जस्तै देखिन्थे। घरबाहिर निस्कने सहज अवस्था देखिन्थिएन। ४/५ इन्च सम्म बाक्लो हिउँ पग्लेर जनजीवन सामान्य हुन कहिदिन लाग्न सक्ने थियो ।
स्कुल र कलेजहरू बन्द गरिएको थियो। सरकारी कामकाज सहित, कम्पनीहरू बन्द गरिएका थिए । मौसमी भविष्य कर्ताले मानिसहरूलाई सूचना सम्प्रेषण गरिरहेका थिए र गराइरहेको हुन्थ्यो। त्यसैले मानिसहरूले मौसमी भविष्य सँगै खानेकुराहरूको जोहो र बन्दोबस्त पहिले नै मिलाइ सकेका हुन्थे । तर लामो समय सम्म हिउँको प्रभाव परिरह्यो भने परिस्थिति अर्कै हुन सक्छ भनेर खाने बस्तुहरूको जोगाड गर्नु नै बुद्धिमानी हुन्थ्यो।
अर्को तिर अमेरिकाको महत्त्वपूर्ण र दोस्रो ठुलो राज्य क्यालिफोर्निया ठुलो र भयानक विपत्तिमा परिरहेको थियो। दर्जनौँ मानिसहरूको ज्यान जाने गरी लागेको आगोले दशौँ हजार घरहरू जलिसकेका थिए। अरबौँ अरब डलरको नोक्सानी भइरहेको थियो। यस पटकको आगोले पुराएको क्षति अमेरिकी इतिहास कै ठुलो क्षति थियो। चालिस हजार एकर्ड जमिनमा रहेका घर, जङ्गल र जङ्गली जनावरहरू लाई आगोले क्षति पुराएको थियो।
जुन क्षति जापानको हिरोसिमा र नागासाकीमा खसालिएको एटम बमले पुराएको क्षति भन्दा पनि ठुलो र धेरै थियो। आगो नियन्त्रण गर्न अमेरिका, क्यानडा र मेक्सिकोबाट आएका बाह्र हजार भन्दा बढी फायर फाइटरहरू परिचालन गरिएको थियो । तर पनि आगो नियन्त्रण आउन सकिरहेको थिएन। यो भयानक र अनपेक्षित क्षति अमेरिकी सरकारको कल्पना भन्दा बाहिर थियो।आगो नियन्त्रणमा लिन नसकिए बलिउडको पहाडतिर आगो बढेर अझै ठुलो क्षति हुन सक्ने आकलन गरिएको थियो।
नर्थ क्यारोलाइना हिउँ नपरेको तीन वर्ष पुरा भएर चार बर्स लागेको रहेछ। समय बितेको पनि पत्तै भएन। हामी नर्थ क्यारोलिना आएकै वर्ष २०२१ को जनवरीमा धेरै वर्ष पछि हिउँ परेको रहेछ। लामो समय नर्थ क्यारोलाइना बस्नेहरू लाई पनि यो वर्षको परेको हिउँले आश्चर्य र खुसी दुवै दिएको थियो। नर्थ क्यारोलाइना हिउँ परेको देख्दा स्वाभाविक आश्चर्य थियो मानिसहरूमा ।
आँगनमा असिना देखेका हाम्रा आँखालाई घर अगाडी सेताम्मे हिउँ देख्दा त्यति अनौठो नभए पनि हिउँ र असिनाको फरक पन र प्रभाव भने प्रस्टसँग छुट्टाउन पाइयो। हिउँमा टेकेर र खेलेर प्राप्त हुने आनन्द भने मजाले लिन लियौ र पायौ । १० जनवरी २०२५ को भन्दा बाक्लो हिउँ परेको थियो २०२१ को जनवरीमा यस पटकको हिउँमा भन्दा त्यति बेलाको हिउँमा धेरै रमाइलो किसिमले खेलिएको थियो। किन भने नर्थ क्यारोलाइना लागि त्यो वर्षको हिउँ दर्जनौँ वर्ष पछि परेको हिउँ थियो। हामी अमेरिका आएकै वर्ष हिउँले हामीलाई स्वागत गरेको थियो।

सन २०२१ देखि २०२४ सम्म नर्थ क्यारोलाइना नपरेको हिउँ २०२५ को प्रारम्भमा नै पर्यो। १० जनवरी २०२५ को साँझ आठ बजे नर्थ क्यारोलाइनाको जमिन हिउँले पुरै ढाक्यो। सेताम्मे भयो। नर्थ क्यारोलाइना बस्ने मानिसहरूलाई भने हिउँ परेको अनौठो अनुभूति भइरहेको थियो। कहिले काहीँ हिउँ पर्ने वर्षहरू आउँदा मानिसहरूमा उत्तेजना र उत्सुकता छाउने नै भयो। यो वर्ष पर्ने हिउँले पनि उत्तेजना र उत्सुकता लिएर आएको थियो। त्यही हिउँ छुन र खेल्न मानिसहरू घरबाहिर निस्केका थिए। वर्षौँदेखि नपरेको हिउँ पर्दा रमाइलो भइरहेको थियो। हिउँले पार्ने प्रभाव अन्य राज्यहरूमा भन्दा यहाँ सामान्य थियो। त्यसैले रमाइलो अनुभूति स्वाभाविक थियो र भयो।
१० जनवरी २०२५ को बेलुका देखि परेको हिउँ पछिल्लो दिन बिहान सम्म पनि कपास सुकाए जस्तै देखिने गरी सेताम्मे देखिन्थ्यो । जमिन पुरै सेताम्मे थियो। घरका छानाहरू सेताम्मे थिए। तर पनि हिउँले पार्ने प्रभाव भने त्यति कष्टकर थिएन।आधा देखि एक इन्च मात्र बाक्लो थियो होला हिउँको उचाइ। हिउँले गाडी कुँदाउन भने त्यति सहज थिएन। भोलि पल्ट बिहानको घामका किरणहरू कुरे जस्तै थियो हिउँले पनि। घामका किरणहरू हिउँमा पर्दा टल्केर सुनौला र चम्किला देखिन्थे। बिहानीको हिउँले अझै रमाइलो दिइरहेको थियो। अगिल्लो दिन बेलुका परेको हिउँ अर्को दिन बिहान सम्म जमेर आइस बनिसकेको थियो। हिउँ र घामको मिलनमा आमाले पनि अरू मानिसहरू ले जस्तै हिउँ माथि कुँदेर रमाइलो लिइरहनु भएको थियो।

खुलेको मौसममा घामको तापको तेज बढ्दै आइरहेको थियो तर पनि हिउँ टसमस भएको थिएन। एकले अर्कोलाई निस्तेज बनाउने प्रतिस्पर्धा चलिरहे जस्तै लागिरहन्थ्यो। यस्तो समयमा आमाले पनि हिउँसँग पूर्ण कदको तस्बिर खिचाउनु भयो। हिउँ माथि हिँडेर हिउँको अनुभव लिनु भयो। आमाको लागि यो हिउँको वर्षा पहिलो र रमाइलो थियो। अमेरिका र हिउँको पहिलो अनुभव थियो आमाको।अमेरिकामा हिउँ पर्छ भन्ने सुन्नु भएको तर नदेख्नु भएको अवस्थालाई साक्षात् अनुभव गर्नु भयो।
दिनको मध्यान्न तिर हिउँ पग्लेर हिउँको चिसो छरिएको थियो।अगिल्लो दिन हिउँ छरिए जसरी। मौसम खुल्न गाह्रो भइरहेको थियो। कहिले घाम कहिले बादल बीच प्रतिस्पर्धा चलिरहेको थियो। तर हिउँ पर्नु पहिलेका दिनहरूमा आइरहेको चिसो भन्दा हिउँ परेका दिनमा भने चिसो कम भएको अनुभव भयो। घरका छानाहरूमा भएका सेताम्मे हिउँहरू बिस्तारै पग्लेर पानी भएर झर्न सुरु भइरहेको थियो।
जमिनको हिउँ पानीमा रूपान्तरण भएर हिउँको स्वरूप जमिनमै बिलाउँदै थियो। प्रकृतिको समन्वय पनि गजबकै हुने रहेछ। हिउँको प्रभाव अर्को दिन देखि हट्दै गयो ।परेको हिउँ पग्लेर जमिन सुक्न भने अरू केही दिन लाग्ने रहेछ। हिउँको प्रभाव चार दिन सम्म रह्यो। सामान्य हिउँ पर्दा त यति लामो समय प्रभाव पर्ने रहेछ भने हिमपातले अस्त व्यस्त बनाएका राज्यहरूमा जनजीवन सामान्य हुन केही समय लाग्ने नै रहेछ। नर्थ क्यारोलाइना भने हिउँको प्रभाव सामान्य भए पछि स्कुल,कलेजहरू खुल्दै गए। मानिसहरूको दैनिकी सामान्य हुँदै गयो। कतै कतै सडकमा ब्ल्याक आइसको असर देखिए पनि समग्रमा सडकहरू सुख्खा भइसकेका थिए।
नर्थ क्यारोलाइनाले १० जनवरी २०२५ को हिमपातलाई पनि बिदाइ गर्यो । अब यसरी नै हिउँ परेको देख्न नर्थ क्यारोलाइनावासीले कति वर्ष कुर्न पर्ने हो? आउने वर्षहरू कसरी आउने हुन। आगामी वर्षहरूले मानिसहरूका लागि रमाइला क्षण र पलहरू बोकेर आउने छन् भन्ने आशा राखेर २०२४ लाई पनि बिदा गरी सकिएको थियो। केही समयका लागि त हिउँका दिनहरू पनि रमाइलै हुने रहेछ। तर लामो समयसम्म हिउँ भित्र बन्धक भएर बस्न भने अत्यास लाग्दो र गाह्रो नै हुन्छ होला ।
चार वर्षको अन्तरालमा परेको हिउँमा रमाएर हिउँ खेलिएको समयलाई पनि बिदाइ गरियो । मौसमी भविष्य पछि हिउँ प्रतिको उत्सुकता बढिरहेको थियो। सधैँ हिउँमा खेल्नेहरूलाई भन्दा पनि आमालाई ज्यादा उत्सुकता थियो। हिउँ कसरी पर्ने हो ? कति पर्ने हो? कति समय पर्ने हो? भन्ने जिज्ञासा थियो। त्यो सबै आमाले प्रत्यक्ष अनुभव गर्नु भयो। भोग्नु भयो।
आमा ८२ वर्षको उमेरमा अमेरिका आउनु भयो र प्रत्यक्ष हिउँ परेको देख्नु भयो। हिउँमा खेलेको अनुभव सँगाल्नु भयो। “लेखेको हुन्छ ,देखेको हुँदैन” भन्ने नेपाली उखानलाई सार्थकता दिनु भयो। यो संयोग आमा र हाम्रा लागि पनि अविस्मरणीय बनी रहनेछ। दुई दिन देखि परेको हिउँ पग्लिन थालिसकेका छन् । जमिनमा देखिएका सेताम्मे हिउँहरू पनि पानीमा रूपान्तरण भएर जमिनमा बिलाएर गइरहेको छ।
नर्थ क्यारोलिना
र यो पनि …