पढ्न अमेरिका आउँदै हुनुहुन्छ? विद्यार्थी र अभिभावकले जान्ने पर्ने केही कुरा


अमेरिकामा उच्च शिक्षाको लागि आउँदै हुनुहुन्छ अथवा विचार गरिरहनु भएका विद्यार्थीहरू (एफ १ भिषा) र अभिभावकहरू लाई मेरो व्यक्तिगत सुझाव छन्।
अमेरिका भनेर सबै ठाउँमा सजिलो वातावरण र सार्वजनिक यातायात उपलब्ध हुन्छ भन्ने हुँदैन। जहाँ पढ्न जानुहुन्छ वा जाँदै हुनुहुन्छ, त्यहाँको मौसम, आवास, बसोबासको खर्च र यातायात सुविधाबारे पहिल्यै बुझ्नुहोला।
यदि तपाईँलाई उक्त क्षेत्रको अवस्था थाहा छैन भने पहिले त्यहाँ बसोबास गरिरहेका साथीभाइ वा आफन्तसँग सम्पर्क गर्नु होला। कसैसँग सम्पर्क नभएमा स्थानीय नेपाली सङ्घ-संस्था वा विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी विभागमामा पनि इमेल मार्फत जानकारी लिन सक्नुहुन्छ ।
कम्तीमा पहिलो सेमेस्टरको कलेज फी र बसोबास/खानपानको खर्च लिएर आउनु होला ।
भिसा लाग्यो, ऋण लिएर गएर तुरुन्तै काम गरेर तिरिहाल्छु भन्ने सोचेर नआउनु होला। अहिले पहिलाको जस्तो सजिलै काम पाउने अवस्था छैन। त्यसैले आर्थिक रूपमा योजना बनाएर आउनु होला ।
एफ १ भिसामा तपाईँहरूले कलेज-भित्र (अन क्याम्पस) मात्र त्यो पनि २० घण्टा प्रति हप्ता काम गर्न पाउनु हुन्छ । तर कलेजमा अनिवार्य रूपमा २० घण्टा काम पाइन्छ भन्ने निश्चित हुँदैन । त्यसैले कलेज बारेमा सम्बन्धित कन्सल्टेन्सी सँग अग्रिम जानकारी लिनुहोला। बाहिर (अफ क्याम्पस) काम गर्नु कानुनी रूपमा पाइँदैन, विशेष- परिस्थिति बाहेक ।
छोरा/छोरी गएर तुरुन्तै काम गर्छन् धेरै पैसा कमाएर घर पठाउँछन् अनि ऋण तिरी हाल्छन् अथवा घर बनाउँछन् भन्ने धारणा नराखिदिनु होला अभिभावकहरूमा विनम्र अनुरोध छ ।
यहाँ आएर अध्ययन र बसोबास मिलाउन समय लाग्छ अनावश्यक दबाब नदिनु होला बरु उनीहरूको सुरक्षित भविष्य र मानसिक स्वास्थ्यका लागि सहयोगी बनी सहयोग गरिदिनु होला ।
आवश्यक कागजात , आपत्कालीन सम्पर्क नम्बर, सहयोग गर्ने निकायहरूको सूची पहिला नै बनाएर आउनुहोला । मिल्छ भने आफ्नो स्वास्थ्य बीमा र सुरक्षासँग सम्बन्धित विषयहरू बारे पहिला नै बुझ्नु हुन अनुरोध पनि गर्दछु।
अहिलेको परिस्थिरमा अमेरिका आएर अध्ययन गर्ने सपना पुरा गर्ने डिग्री लिने मात्रै होइन, राम्रो योजना, पर्याप्त आर्थिक जोहो र सजगता पनि जरुरी छ त्यसैले स्पष्ट जानकारीले तपाईँको जीवनलाई यहाँ सफल र सुरक्षित बनाउन धेरै मदत गर्दछ।
यो मेरो व्यक्तिगत सुझाव मात्र हो।
(खनाल गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका युवा उपाध्यक्ष हुन्, उनी मेरिल्याण्डको बाल्टिमोरमा बस्छन् ।सं)