मेयर हर्क साम्पाङ: प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउ
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृतको अभावले स्थानीय जनताको काम प्रभावित भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्। आइतबार एक औपचारिक पत्रमार्फत उनले प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्तै पठाउन अनुरोध गरेका हुन्।
समाजिक सञ्जालमा पनि सार्वजनिक गरिएको उक्त पत्रमा मेयर साम्पाङले जनताको काम अड्किएर कठिन अवस्था सिर्जना भएको कुरा उल्लेख गर्दै मन्त्रालयलाई सम्बोधन गरेका छन्। उनले लेखेका छन्, “प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो। लौ न तुरुन्तै पठाइदिन पर्यो। धराने जनता पनि नेपाली नागरिक नै हुन्।”
धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण विकास निर्माण, प्रशासनिक कार्य, र जनसरोकारका विषयहरूमा अवरोध आएको छ। यसले गर्दा स्थानीय जनतामा असन्तुष्टि बढ्दै गएको छ। साम्पाङले यो विषयलाई गम्भीर रूपमा लिएर तत्काल व्यवस्थापन गर्न मन्त्रालयलाई आग्रह गरेका छन्।
धरान उपमहानगरपालिकाको प्रशासनिक कामकाज ठप्प जस्तै रहेको र स्थानीय सरकारको नेतृत्वले सीमित स्रोतसाधनबाट समस्या समाधानको प्रयास गरिरहेको अवस्थामा, प्रमुख प्रशासकीय अधिकृतको आवश्यकता झन् महत्त्वपूर्ण भएको मेयर साम्पाङको भनाइ छ।
धरानका स्थानीयहरूले पनि यस विषयमा असन्तोष व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, सरकारी सेवाहरू समयमा उपलब्ध नभएको र धेरै काम लामो समयदेखि अड्किएको छ।
साम्पाङको पत्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिकाप्रति समेत प्रश्न उठाएको छ। किनकि प्रमुख प्रशासकीय अधिकृतको नियमित नियुक्ति र पठाउने प्रक्रिया मन्त्रालयको जिम्मेवारीभित्र पर्छ।