कोरोना कालमा चर्चित झापाको टावर प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका छन् ।
मुलुक कोरोना महामारीमै रहेका बेला ओलीकै योजनामा दमक नगरपालिका–३, दापगाछीमा २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरबारे अत्यधिक चर्चा पनि भएको थियो ।
ओलीले पाँच वर्षअघि यो टावरको शिलान्यास गरेका थिए । उक्त टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन्।
यो टावरको निर्माण कार्य एक वर्षअघि सकिएको हो । निर्माण सकिएको करिब एक वर्षपछि झापाको दमकस्थित भ्युटवार सञ्चालनमा आउन लागेको छ। प्रधानमन्त्री ओलीले आइतबार भ्युटवारको विधिवत् उद्घाटन गरेपछि व्यावसायिक रूपमा भ्युटवार सञ्चालनमा आउने सहरी विकास मन्त्रालय मातहत सघन सहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिंगले बताए।
मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा अवस्थित यो १८ तले भव्य संरचना नेपालको व्यापारिक तथा पर्यटन विकासको दृष्टिले एक महत्त्वपूर्ण परियोजना हो। रु. १ अर्ब ६३ करोड ५४ लाख ४६ हजारको लागतमा बनेको यो कम्प्लेक्स ४ बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको छ।
यस कम्प्लेक्सलाई नेपालकै अग्लो व्यापारिक टावरको रूपमा चिनाइएको छ। साथै, सरकारले यसलाई घरेलु र विदेशी पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउन विशेष योजना बनाएको छ। आधुनिक प्रविधिसँग सुसज्जित यो कम्प्लेक्समा व्यापारिक कार्यालय, शपिङ मल्ल, होटल, रेस्टुरेन्ट, सभाहल र अन्य अत्याधुनिक सेवाहरू उपलब्ध गराइनेछ।