कला र विचारको फ्युजन: अलबिदा बेलडाँगी
अलबिदा बेलडाँगी पढ्दै गर्दा लेखक शिवलाल दाहालको अध्ययनशीलताको विविध पाटोले मेरो दिमागलाई हिर्काइ रह्यो । शिवलाल दाहालको कवि पाटो । संस्मरण लेखकको पाटो । नियात्राकारको पाटो। पुस्तक समीक्षकको पाटो र विश्व विद्यालयका प्राध्यापकले गर्ने प्राध्यापकिय समालोचकको पाटो । कार्यपत्र तयार गर्ने क्रममा आवश्यक पर्ने सामग्री जुटाउने अन्वेषकको पाटो । यी विविधता भित्र शिवलाल दाहाललाई तत: विषयमा फरक फरक कोणबाट पर्गेल्न सकिने आधार निर्माण गरेको पुस्तक अलबिदा बेलडाँगी हो भन्ने निचोड यस पुस्तकको अध्ययनले दिन्छ । उनी लेखक कवि मात्र होइनन् । निन्तनशिल पाठक तथा विश्लेषणात्मक अध्येता पनि हुन भन्ने लाग्छ ।
सुरुमा जुन उत्साही मन लिएर पुस्तक भित्र प्रवेश गरेँ । पुस्तकबाट निस्कँदा भने पढ्ने विद्यार्थीको दिमाग बोकेर निस्किए । माटाको कोसेली देखि पुर्खाका पाइला टेकेर सम्मका आठ विभिन्न शीर्षकमा लेखिएका लेख पढुन्जेल लेखकले हामीलाई भुटानको जनजीवन , हावापानी , चाडपर्व , संघर्ष र बलिदानको सेरोफेरोमा घुमाउँछन् । भुटानको गाउँ बस्ती , पहाड , बन जङ्गल , पाखा भित्ता , नदी र खोल्सा खोल्सीको दृश्य ऐनामा झैँ छर्लङ्ग देखाउँछन् । बाल्यकालको स्मृति , साथीहरूसँगको आत्मीयताको वर्णन पढ्दा मन फुरुङ्ग हुन्छ ।
अमेरिका पुनर्वास हुने सालको दशैं र त्यो दशैंमा भुटान प्रवेश गरेको कथा र आफन्तसँगको अन्तिम भेट र माटाको कोशेली पढ्दा जो कोही पाठक भक्कानिन्छ । जन्मभूमिको प्रेम र छोड्नु पर्दाको वियोगान्त कथाले मन विचलित बनाउँछ । अहिले पनि मानिस मृत्यु अघिको अन्तिम सास आफू जन्मिएको धर्तीमा लिन चाहना गर्नेहरू थुप्रै भेटिन्छन् ।
भुटानमा भएको प्रजातान्त्रिक आन्दोलन त्यसलाई निस्तेज पार्न शासकले मच्चाएको उद्दण्डता , अनेक नामका पार्टी , ती पार्टीका नेताहरूले चलाएको असङ्गठित आन्दोलन र त्यसले पारेको प्रभावको सटिक विश्लेषण पुस्तकले राम्ररी गरेको छ । शिविरको अस्तव्यस्त जीवन , अभावको शृङ्खला , रोग , धुलो , धुवाँ , घाम पानीको भुक्त मान पढ्दा यस्तो पनि भयो होला र जस्तो लाग्छ ।
यो पुस्तकले पाठकलाई भुटानका अनगन्ती घाउ र पीडा उधिनेर देखाउँछ । एकातिर निर्वासित जीवन अर्को तर्फ नेपालका रैथानेहरूको हेपाहा प्रवृत्ति । घरी के घरी के गरेर निर्वासित भएका आफ्ना बन्धुहरूलाई अपमान गर्ने केही अबुझ र मानवता नभएका नेपालका नेपालीको व्यवहारले मन दुखेको कुरा पढ्दा भने मन कुँढिन्छ । अर्कातिर रातदिन खटिएर माइबगरमा अलपत्र शरणार्थी को व्यवस्थापनमा जुट्ने स्थानीय स्वयंसेवकहरूको बन्धुत्वपूर्ण व्यवहारको चर्चा पनि पुस्तकले गरेको छ ।
समाज विभिन्न बिचार र व्यवहार भएका मानिसबाट निर्माण हुने हुँदा असल र खराबको भेद खोट्याउन पनि समय लाग्ने रहेछ । पैसालाई सवथोक झैँ ठान्ने लोभी पापी मन भएका मानिस आफ्नै परिवारभित्र त होचो अर्घेलो गर्छन् भने अरूको दुख पीडा त्यसले बुझ्ला भन्नू बेकार हुन्छ । शिविरका मानिसलाई होच्याउने , ज्यालामा ठग्ने , बोर्डिङ स्कुलमा शिक्षक नराख्ने, राखे पनि थोरै तलब दिने यी सब गर्नेहरू यसै कोटिका मानवता नभएका मानिसको भित्र पर्छन् ।
शिविर भित्रै पनि चोरी र लुटपाटका घटनाले राती जागा बस्नुपर्ने , अलिकति भएको सुन चाँदी र गरगहना लुकाउनु पर्ने अवस्थाका बारेमा पनि पुस्तकले चर्चा गरेको छ । यसरी अपमान र भक्तमानका बिचमा लेखकले अध्ययनको आफ्नो यात्रा भने निरन्तर अगाडि बढाएका छन् भने साहित्यमा पनि आफ्नो उपस्थिति सशक्त बनाएका छन् । पुस्तक पढ्दा सुरुमा भुटान र त्यसमाथि आइलागेको विपत्तिले मन दुखी बनाउँछ । साँच्चै भन्ने हो भने लेखक सङ्गै पाठकपनि भक्कानिन्छ र रुन्छ । उनले केही पुस्तकका समीक्षा र लामो समालोचना गरेका छन् । उनमा पठन संस्कृति निक्कै उर्वर र गतिशील छ ।
माटाको कोशेली र पुर्खाको पाइला टेकेर , अनुभूतिको क्यानभासमा दार्जिलिङ , कालेबुङको सम्झना : एक अधुरो चित्र यी लेख नियात्रा हुन । यी लेखहरूमा ठाउँ विशेषको वर्णन छन् । कवितामय शैलीमा लेखिएका यी लेखहरू पढ्दा पाठक लेखक सङै घुमिरहेको भान हुन्छ ।
बाल्यकालका स्मृतिमय दिनहरू,सेङ्तेन कादोकी हजुरआमा र म ,शरणार्थी जीवनका आदिम दिनहरू, विश्वविद्यालय यात्रा , शरणार्थी जीवन : एक पराधीन अस्तित्व , मेची पुलमा लतपतिएको रगत , प्राज्ञ दान खालिङसङ्गको भेट जस्ता लेखहरू संस्मरणात्मक लेख हुन । धनेहरू निरन्तर हिँडिरहे ! हिडिरहेछन ,बिदाइको बेला अन्तर्निहित पीडाको एक आत्म प्रकाशन , मृग विलाप , लगायतका लेखहरूमा भने कुनै संक्षिप्त र कुनै परिष्कृत समालोचनाहरू समेटिएका छन् । यहाँ समालोचना गरिएका पुस्तक मध्ये वाइ एन चौलागाईंको साक्षीचै मैले पढेको मध्ये एक पुस्तक हो । सम्भवतः भुटानबाट अलि अगाडि नै नेपाल आएर बसेका वाइ एन चौलागाईको घर दमक गएको बेला उनले यो पुस्तक मलाई दिएका थिए निःशुल्क ।
शिवलाल दाहाललाई मैले कविको रूपमा पहिले चिने, त्यसपछि मात्र आख्यान मा । जो स्मृतिमा बाँचिदिएका छन् ! शीर्षक यो कविता सङ्ग्रह आज भन्दा लगभग तीन वर्ष अगाडि सन् २०२२ मा प्रकाशित भएको थियो । कविता सङ्ग्रह भन्दा झन्डै सार वर्ष जेठो पुस्तक अलबिदा बेलडाँगी भने भर्खर पढ्न पाएँ । उनका कविता केही चैँ निक्कै क्लिष्ट जस्ता लागे पनि अरू कविता सुन्दर र बोधगम्य छन् । अलबिदा बेलडाँगीको यो पाठक प्रतिक्रिया मात्र हो । यो पुस्तकमा समेटिएका समालोचना पाटोलाई अलग र संस्मरण पाटोलाई अलग प्रकाशन गर्न सकेको भए या पुनः प्रकाशन गर्दा त्यसो गरे राम्रो होला भन्ने लाग्छ । भुटानलाई बुझ्न , चिन्न र यसको इतिहासको जानकारी दिन पुस्तक सफल छ । अन्त्यमा शिवलालकी कै कविताको एक अंश ।
यी रुखका पातहरू
म सँगालेर राखौँला भन्दै थिएँ
अब त धेरै टाढासम्म पुगिसकेछन ।
……………………!
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
र यो पनि…