बानाको कथा वाचन पहिलो दिन ४४ हजार अमेरिकी डलर बढी संकलन
बाल्टिमोर, मेरिल्याण्ड / बाल्टिमोर नेप्लीज एसोसिएसन इन अमेरिका (बाना) को आयोजनामा भइरहेको कथा वाचनको पहिलो दिन शनिवार ४४ हजार अमेरिकी डलर भन्दा धेरै रकम संकलन भएको आयोजकले जनाएको छ ।
बाल्टिमोरमा समुदायको आफ्नै फ्युनरल होम (शव दाह गृह) तथा क्रियापुत्री भवन बनाउने उद्देश्य सहित बानाले कथा वाचनको आयोजना गरेको हो ।
नेपालको काभ्रेमा जन्मिएर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकी देवी प्रतिभाद्वारा कथा वाचन भइरहेको छ ।
बानाका वरिष्ठ उपाध्यक्ष तथा आर्थिक समिति संयोजक जनक थापाले दुई दिने कथा वाचनको पहिलो दिन ४४ हजार अमेरिकी डलर भन्दा धेरै रकम संकलन भएको बताए ।
‘२२ हजार एक सय ९० डलर नगद आज संकलन भयो ‘ समाज टाइम्स सँग थापाले भने,’यो कलश बाहेक हो ।’ उनका अनुसार कलशबाट पनि २२ हजार डलर भन्दा धेरै संकलन हुने छ।
थापाले यस पटकको कथा वाचनबाट दुई लाख डलर उठाउने लक्ष्य राखिएको छ ।
बाल्टिमोरको एडजवुड (1700 van bibber rd edgewood md ) कथा वाचन भएको छ ।
कथा वाचन अगाडि बाल्टिमोरमा रहेको हिन्दु बौद्ध मन्दिरमा कलश यात्रा गरिएको थियो । कथा वाचिका देवी प्रतिभा स्वयम पनि कलश यात्रामा सहभागि भएकी थिइन् ।
बाना अध्यक्ष जीतेन्द्र गुरुङका अनुसार आइतबार बिहान दश बजे देखि कथा वाचन हुने छ । उनले पहिलो दिनको तुलनामा दोस्रो दिन भक्तजनहरूको सहभागिता बढ्ने विश्वास गरे ।
‘आज पहिलो दिन दुई ठाउँमा कार्यक्रम भयो भोली अब कथा वाचन मात्र हुने हो ‘ अध्यक्ष गुरुङले भने ‘सहभागिता बढ्छ ।’
उनले आफूहरूको उद्देश्य बृहत् भएको र त्यसका लागि पाइला चालिएको बताए।
‘मेरिल्याण्डमा हाम्रो समुदायको बसोबास दिनदिनै बढ्दो छ, म आफै कयौँको घरमा जाँदा सबैको एउटै माग छ अब समुदायको क्रियापुत्री भवन बनाउन पर्छ, त्यही भएर हामीले शुरु गरेका हौ।’ अध्यक्ष गुरुङले भने।

















