मार्केट अफ स्वीटहर्ट र रुमानी यादहरू !
गण्डकीपुत्र
अमेरिकामा कोरोनाको हाहाकार मच्चिरहेको समय । आफै पनि सङ्क्रमित भइयो कि भन्ने डर । फेसबुकमा पोष्ट गरिएका समाचार हेरेर कहाँ के भैरहेको होला भन्ने खुलदुली र जिज्ञासा लागिरहने । यही बेला कोरोनाका बिचमा काम गरिरहेको समाचार सहितको एउटा पोष्टमा मेरो ध्यान गयो । कोरोना सङ्ग कसरी बच्ने वा लागेमा के गर्ने भनेर नेपालीमा लेखिएको पोष्ट देखेपछि म त्यो पेज गएर नियमित हेर्न थालेँ ।
एक दिन म रुघाले असह्य पीडा भएर त्यही पेजको मेसेन्जरमा एउटा मेसेज गरेँ । तु उताबाट फेसबुक मेसेन्जरमा फोन आयो । कुनै परिचितले बोले जस्तो आवाजमा यदि कोरोनाको शङ्का लागे फ्रीमा टेष्ट गर्छ जँचाउन जानू राम्रो, भन्ने सल्लाह पाएँ र त्यसै गरेँ ।
रिपोर्ट के आयो थाह पाइन । रिपोर्ट ज्वाइँको मोबाइलमा आयो होला कि के गर्यो । म काममा जान छोडिन ४/५ दिनपछि रुघा खोकी आफैँ कम भयो । त्यसपछि नै म नियमित फेसबुकको त्यो पेजमा जोडिए । त्यस पेजमा धेरै कुराहरू पोष्ट गरिएका हुन्थे । स्वास्थ्य सम्बन्धी जानकारी , कविता र कहिलेकाहीँ अनलाइन पत्रीकामा छापिएका लामा लामा लेखहरू । भाषाको प्रयोग र लेखन शैली आकर्षक थिए । म अब नियमित पाठक जस्तै थिएँ तर मैले यो कुरा उनलाई भन्न चाहिन ।
म आफै अलमलमा थिए । यस्तो कुरा भन्यो भने राम्रो या नराम्रो के हुने हो । उनका लेख पढ्दा उनी प्रशंसा रुचाउलिन् जस्तो पनि लागेन । अरू पनि केही कुरा थिए सायद मेरो मनमा । कि उनलाई म तिम्रो नियमित पाठक हुँ भन्न इच्छा राखौँ । उनी थिइन नेपाली आर तारा । उनका लेखहरू फेसबुकमा पोष्ट गरेको भेटेँ भने एक सासमा पढेर सिद्ध्याउँछु । अहिले पनि म नियमित जस्तै हेर्ने गर्छु । लेख पढ्दै गएपछि उनी पत्रकार होलिन् भन्ने अनुमान लगाए ।
अहिले सम्मको समय हेर्ने हो भने तारासँग सम्पर्क भएको चार बर्षजती भयो होला । यो समय सम्म आउँदा मैले उनी सङ्ग त्यस्तै चार या पाँच पटक फोन सम्पर्क गरेँ हुँला । प्रत्यक्ष भेटेको देखेको छैन । फेसबुकबाट जति जानकारी पाएँ परिचय त्यही हो । तर उनी राम्रो लेख्छिन् त्यो चाहिँ थाह छ । कोभिडको सल्लाह लिएको झन्डै दुई वर्ष पछि एक पटक फोन गरेको थिएँ ।
ह्यारिसबर्गमा एउटा साहित्यिक कार्यक्रमका लागि निम्तो गर्न। ह्यारिसबर्गमा साहित्यलाई माया गर्ने, लेख्ने थुप्रै स्रष्टा भएपनी उनीहरूको बाहिर सम्पर्क त्यति नभएको हो कि झैँ लाग्थ्यो । अर्को तर्फ पत्रकारिता गरिरहेकी तारालाई ह्यारिसबर्गको साहित्यिक जमघटमा उभ्याउन पाए पत्रपत्रिकामा चर्चा हुन्थ्यो कि भन्ने विश्वास पनि लागेको थियो । तर उनी आउन नपाउने भनेपछि कुरा यहीँ टुङ्गियो ।
यो मेरो स्वभाव भनौँ या कमजोरी ? नयाँ नयाँ मानिसलाई कार्यक्रममा बोलाउनु र उनीहरूका बिचार सुन्नु, उनीहरू सङ्ग परिचय गर्नु साहित्यका विभिन्न विषयमा बहस गर्नु मेरो सोख जस्तै हो । अहिलेपनि कार्यक्रम गर्ने भन्यो भने कोही नयाँ मानिस बोलाए हुन्थ्यो जस्तो लाग्छ ।
उनै फेसबुक कि मित्र नेपाली आर ताराको पुस्तक मेरो हातमा आइपुग्यो मार्केट अफ स्वीटहर्ट । लेखिका तारा भट्टराईको नाममा । करिब पाँच सात घण्टामा पुस्तक पढी सिद्ध्याएँ । उदेक लाग्दा पात्र र घटनाको संयोजनले गर्दा पुस्तक पढ्न थालेपछि छोड्न मन नलाग्ने । उनले पुस्तकको आरम्भ आफैँबाट गरेकी छिन। आफ्नै बालापन, जन्म र यौँवनावस्थाको कथा, अन्धविश्वास व्याप्त सामाजिक परिवेश, सुदूर पूर्वी पहाडी जीवनको विविधता यस लेखमा समेटेकी छन् । बाहिरी सुन्दरता खोज्ने सामाजिक आँखामा आफू नपरेको, कसैले काली भई भनेको, कसैले मोटी भई भनेको । यस्तै कुराले विवाहको कुरा नमिले पनि कतै पनि गुनासो वा दुख मनाउ गरेकी छैनन् ।
उनी आफूमा आत्मविश्वास भएको र जसले जे भनुन् वास्ता नभएको कुरा निर्धक्क भन्छिन् । स्वतन्त्र जीवन यिनलाई प्रिय लाग्छ । उनी पटक पटक विन्दास बाच्न पाउनुलाई अहोभाग्य भन्छिन् । प्रेमको चाहना या लालसा रहेको तर त्यो निर्बन्ध होस भन्ने कामना गर्छिन् । यिनको जीवन सङ्घर्षले भरिएको छ । यिनी आफू बाचेको विगत तिर त्यति फर्कन मन गर्दिनन् तर पनि उनले आफूलाई साथ र सहयोग गरेका विगतका पात्रहरूप्रति कृतज्ञ हुन भने भुल्दिनन् । उनको अमेरिका आगमन र त्यसपछि उनले भेटेका पात्रहरू कुनै न कुनै कुराले पीडित छन् । तर तिनको अतीत भने लोभ लाग्दो पनि छ ।
नेपालका यौनवादी लेखिका भनेर प्रेमा शाह र सीता पाण्डेको उदाहरण नेपाली साहित्यका समालोचकहरूले बारम्बार लिने नाम हो । प्रेमा शाहलाई पढेको थिए तर अहिले सम्झन सकिरहेको छैन तर सीता पाण्डेको उपन्यास र त्यसमा व्यक्त कतिपय यौनका सन्दर्भ भने पढेको सम्झन्छु । महिलाले यौनको कुरा गर्नु त खतरा नै मानिन्थ्यो नेपाली समाजमा । त्यस परम्परालाई धान्दै अनुपम रोशीले उपन्यास लेखिन भने कथामा मन्दिरा मधुश्रीले केही कथा लेखेकी छन् । त्यस पछि मैले पढेको यौनको चर्चा गरिएको नारी हस्ताक्षर तारा भट्टराई नै हुन । अरू भएपनी पढ्ने मौका मिलेको छैन ।
ताराले आफ्नो कतै संस्मरण जस्तो लाग्ने, कतै कथा जस्तो लाग्ने पुस्तकमा यौनको बारेमा खुलेर चर्चा गरेकी छिन उनका पात्रहरूको माध्यमबाट । मानिसलाई उमेरले प्रेम गर्न र सेक्स गर्न नरोक्ने तर्कहरू प्रशस्त भेटिन्छ। कतै इच्छाएर यौन सम्पर्क गरिएका छन् भने कतै कफी, गाजा र आवश्यकता अन्य चाहना पूरा गर्न यौन सम्पर्क गरिएको छ ।
ताराले निर्माण गरेको परिवेश वा उनी पुगेको परिवेश खुला र स्वतन्त्र छ । उनी कतिपय पात्रका बारेमा आफै जिज्ञासु भएर पुगेकी छन् भने कोही यात्राका क्रममा आइलागेका पात्रहरू छन् । धेरै जसो रिटायर्ड जीवन बाँचिरहेका रोगी र पीडित छन् । कोही आफन्त कोही नभएका निःसहाय र एक्ला छन् भने कोही आफन्त भएपनी तिनीहरूबाट टाढिएका छन् । उनले नेपालको सामाजिक परिवेश र अमेरिकी जीवनको तुलना गरेर यी दुई देशको जनजीवनको भिन्नता देखाउने प्रयास गरेकी छन् । केमो थेरापीको पिडाले ग्रस्त र मिर्गौला डाइग्लोसिसबाट आजित भएकाहरू र अनेक प्रकारका दुखाई बाट छुटकारा पाउन गाजा तान्न लत बसेकाहरू र गाजाको औषधीय महत्त्व बुझाउन आफ्नो लेखनमा निक्कै कोसिस गरेकी ताराले आफूलाई गाजाको धुवाँले वाकवाकी लाग्ने कुरा भन्न भने छुटाउँदिनन् ।
अमेरिकामा अनेक सोख र बिचारका मानिस भेटिन्छन् । उनका यी दुई पात्र र तिनको कथा अचम्मको छ । ट्रसी हेवर्थ र मिस्टर सररे । ट्रसी लाई आफ्नो व्यक्तित्वले प्रभावित गरेर कसरी त्यो पुरुषले ट्रसीका स्तन काटेर कुकुरलाई ख्वाउँछ र ट्रसीलाई हस्पिटल लगेर प्लाष्टिकका नक्कली स्तन इन्प्लान्ट गरी दिन्छ भन्ने कथा पड्दा दिमाग हल्लिन्छ । यसै प्रसङ्गमा अमेरिकी महिलाहरू ब्रेस्ट इन्प्लान्ट गरेर आफ्ना झोल्लिएका स्तन कसरी आकर्षक बनाउँछन् भन्ने कुराले सोच मग्न बनाऊ छ । चाहे समोसाको कथा होस, चाहे डेटिङ र डिभोर्सको कुरा होस पढ्दा मनमा कौतुहलता पैदा गर्न सक्षम छ पुस्तक ।
उनका पात्रहरू कुनै न कुनै रूपमा बेड सेयर गर्न पुगिहाल्छन् । कतै यौन भोकले तड्पिएका पात्र छन् । कतै फोनमा फेस टाइम कल गरेर चुम्बन साटिरहेका प्रेमी छन् । कतै महँगो डेटिङको चर्चा छ । कतै सजिलै यौन सम्पर्क भएको चर्चा छ । उनी आफै पनि घरजम र व्यवहारिक समस्यामा परेको कथा भन्न निर्धक्क छन् । अचम्म लाग्ने कुरा र कुनै नेपाली लेखक पुरुष या महिलाले भन्न नसक्ने कुरा उनले यस पुस्तक मार्फत सहजै भनेकी छन् ।
अमेरिका आएर एक ठाउँमा काम गर्दै थिइन । त्यो घरमा काम गर्न नजानेपछि घर मालिकले घरबाट निकालिदियो। उनी एउटा झोला बोकेर रातभर ट्रेन स्टेसनमा भौँतारिन पुगिन । कतै कुनै सहारा नपाएको बेला एउटा बङ्गाली केटो भेट भयो र त्यही केटाको साथ लागेर उ सङ्ग गइन र रात बिताइन । एउटै बेडमा सुते पनि उनी संयमित हुन खोजिन तर यौन इच्छा तीव्र भएर त्यो पुरुषसँग समर्पित भएको र त्यो पुरुषबाट आफ्नो पहिलेको लोग्ने भन्दा बढी आत्मीय प्रेम र सेक्समा आनन्द अनुभव गरेको कुरा निःसङ्कोच लेखेकी छन् । आफूलाई आदर्श ठान्ने र भित्र भित्रै अनेक पुरुषसँग नाजायज नाता गाँस्ने महिलालाई यिनले अहङ्कारी र आडम्बरकीको ट्याग भिराएकी छन् आफ्नो लेखन बाट । उनी सेक्सलाई नेचुरल निज मान्छिन् ।
मार्क्सवादीहरू भोकको प्रेरणाले मानिस चलायमान हुन्छ भन्छन् भने फ्रायडबादीहरु यौन इच्छाले मानिस गतिशील हुन्छ भन्छन् । ताराले फ्रायडबादको जिकिर गरेकी छन् । लेखिका सीता पाण्डे पछि यौनको विहङ्गम प्रसङ्ग तारा नै मैले भेटेको वा पढेको लेखिका हुन नेपाली साहित्यमा । उनी जहाँ जान्छिन्, त्यो ठाउँ र परिवेशको लोभ लाग्दो वर्णन गर्छिन् । बरमुढा ट्र्याङ्लको उनको क्रुज यात्रा अति रोमाञ्चित बनाउने खालको छ । उनको यो नियात्रा पढेपछि मलाई पनि क्रुजको यात्रा गर्ने रहर लागेको छ । यदि यात्रा गर्ने अवसर जुर्यो भने यात्रामा लेखिका तारालाई पक्कै सम्झिने छु । उता घरमा खाएको चियाको कुरा होस अथवा अमेरिकामा खाएको कफी होस । पुस्तक पढ्दा कफीको बास्ना ह्वास्स नाकमा ठोकिन आइपुग्छ । स्टार बक्सको कफी र कफी सङ्गको डेटिङ या प्रेमी या प्रेमिकाको याद गरिरहेका कफीका पारखीको कथा हेर्दा आफ्नी पनि कुनै गल्सफ्रेण्ड भए कुनै कफिसप तिर बरालिन आनन्द हुन्थ्यो होला जस्तो लाग्छ।
लेखहरूमा पुरुषसत्ता र त्यसले उत्पादन गरेको विकृत प्रेम सम्बन्धका बारेमा पनि चर्चा गरिएको छ । पुस्तकले अन्य धेरै कुराको उजागर गरेको छ । यो पाठकिय टिप्पणीमा सबै कुरा पर्गेल्न गाह्रो हुने रहेछ । अमेरिकाको पनि न्यु योर्कलाई केन्द्रमा राखेर यहाँको जनजीवन, मानवीय समस्या, रोग र पीडाहरू, यहाँको दौडधुप, यहाँको यौन बजार, यौन बजारका ग्राहकहरू तिनको मनोदशाका बारेमा वारपार देखिने चर्चा छ पुस्तकमा ।
तारा भट्टराईले यस प्रकारको पुस्तक प्रकाशित गरेर जोखिम त उठाएकै हुन भन्नू पर्छ । नेपाली पाठकको मनोदशा कस्तो छ भने महिलाले यौन कथा लेखिन भने या यौनको चर्चा गरिन भने उनलाई लुज केटी या सजिलो यौनक्रिडाको पाटनर बनाउन सकिन्छ भनेझैँ गर्छ । यो पितृसत्तात्मक चिन्तनबाट माथि उठ्न नसकेको नेपाली साहित्यको पाठकले मार्केट अफ स्वीटहर्टलाई कसरी ग्रहण गर्लान् सोच मग्न छु।
पुस्तकमा विभिन्न प्रसङ्गमा डाटाहरू प्रस्तुत गरिएको छ । लेखक आफै पत्रकार भएर होला या यो लेखन आफै पत्रकारिताको नियम सङ्ग बाँधिएर आएको म भन्न सक्तिन । म आफू साहित्यको पाठक र पत्रकारिताको ज्ञान नभएको भएर होला यस्तो लागेको । यो पढ्नै पर्ने पुस्तकको सुचीमा पर्ने पुस्तक हो मेरा लागि । आशा छ पाठकले पढेर आफ्नो प्रतिक्रिया अवश्य दिने नै छन् । लेखक तारा भट्टराईको कलम चलिरहोस् ।
शुभकामना !!
गण्डकीपुत्र
झोराहाट-२मोरङ
हाल अमेरिका
र यो पनि…
कला र विचारको फ्युजन: अलबिदा बेलडाँगी
November 28, 2024 @ 8:45 am
[…] मार्केट अफ स्वीटहर्ट र रुमानी यादहरू ! 0SHARESShareTweet […]
पुस्तकमा स्वरसम्राट नारायण गोपाल
December 2, 2024 @ 10:16 am
[…] मार्केट अफ स्वीटहर्ट र रुमानी यादहरू ! 0SHARESShareTweet […]