थ्याङ्क्सगिभिङ डे : अमेरिकी संस्कृतिको महत्वपूर्ण चाड
पेन्सिल्भेनिया । थ्याङ्क्सगिभिङ डे संयुक्त राज्य अमेरिकामा मनाइने एक प्रमुख चाड हो। यो प्रत्येक वर्ष नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाइन्छ। यस दिनमा परिवार, साथीभाइ, र समाजलाई धन्यवाद दिने विशेष अवसरको रूपमा मनाइन्छ।
यस चाडको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व छ, जसले अमेरिकामा मानिसहरूको जीवनशैली र परम्परामा गहिरो प्रभाव पारेको छ। मानिसहरू आफ्नो जीवनमा परिवार, साथीभाइ, र अन्य सहयात्रीप्रति आभार व्यक्त गर्छन्। चर्चमा विशेष प्रार्थना गरिन्छ।
थ्याङ्क्सगिभिङको इतिहास सन् १६२१ मा पुग्छ। त्यस समयमा पिल्ग्रिम भनिने आप्रवासीहरूको समूह म्यासाचुसेट्सको प्लाइमाउथमा आइपुग्यो। पहिलो वर्षको कडा जाडो झेलेपछि उनीहरूले अमेरिकाका आदिवासी वाम्पानोग समुदायसँग सहकार्य गर्दै अन्न उत्पादनमा सफलता प्राप्त गरे।
यस सफलताको खुसीयाली मनाउन पिल्ग्रिम र वाम्पानोगहरूले मिलेर एउटा भोज आयोजना गरे, जसलाई थ्याङ्क्सगिभिङको सुरुवात मानिन्छ। यसलाई औपचारिक चाडको रूपमा घोषणा भने अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले सन् १८६३ मा गरेका थिए ।
थ्याङ्क्सगिभिङ परिवार र समुदायसँग समय बिताउने, कृतज्ञता व्यक्त गर्ने र विशेष भोजनको आनन्द उठाउने समय हो।
थ्याङ्क्सगिभिङमा परिवारका सदस्यहरू जहाँसुकै भए पनि एक ठाउँमा भेला हुन्छन्। परिवारको जमघटले यो पर्वलाई अझ विशेष बनाउँछ।
थ्याङ्क्सगिभिङ भोज विशेष हुन्छ। परम्परागत रूपमा टर्की, मकैको रोटी, म्याक एन्ड चीज, मस्य पोटाटो, फर्सीको पाई, र क्र्यानबेरी सस यस दिनको विशेष परिकार हुन्।
थ्याङ्क्सगिभिङ परेड र अमेरिकी फुटबल खेल हेर्ने चलन पनि विशेष रूपमा लोकप्रिय छ। न्युयोर्कको मेसीज थ्याङ्क्सगिभिङ डे परेड विश्वप्रसिद्ध छ।
हालका वर्षहरूमा थ्याङ्क्सगिभिङ डेले सांस्कृतिक रूपान्तरणको अनुभव गरिरहेको छ। भोलिपल्ट पर्ने ब्ल्याक फ्राइडेले अमेरिकनहरूमा शपिङ परम्परालाई विशेष बनाएको छ। व्यापारिहरूले विशेष छट पनि दिने भएकाले यस दिन किनमेल गर्नका लागि सपिङ सेन्टरमा घुँइचो नै लाग्ने गरेको छ ।
यसैगरी अमेरिकामा रहेका नेपालीहरूले पनि थ्याङ्क्सगिभिङलाई आफ्नै शैलीमा मनाउन थालेका छन्। नेपाली भान्सामा टर्कीलाई परम्परागत मसला हालेर पकाउने चलन विकसित भएको छ भने साथीभाइ र परिवारसँग समय बिताउने गरिएको हुन्छ ।
ब्ल्याक फ्राइडे भनेको के हो?
ब्ल्याक फ्राइडे संयुक्त राज्य अमेरिकामा धन्यवाद दिने पर्व (थ्याङ्क्सगिभिङ डे) को भोलिपल्ट पर्ने एक महत्वपूर्ण शपिङ पर्व हो। यो दिन अमेरिकामा मात्र नभई विश्वभरका व्यवसायिक क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
ब्ल्याक फ्राइडेलाई विशेष रूपमा ठूलो छुट (डिस्काउन्ट) र अफरका लागि चिनिन्छ। यो दिनले क्रिसमस शपिङ सिजनको सुरुवात पनि जनाउँछ, जसमा खरिदकर्ताले सस्तो मूल्यमा वस्तुहरू किन्न सक्छन्।
ब्ल्याक फ्राइडेको इतिहास
ब्ल्याक फ्राइडे १९५० को दशकमा सुरु भएको मानिन्छ। थ्याङ्क्सगिभिङको भोलिपल्टका दिन मानिसहरूले छुट्टी मनाउँदै बजारमा जमघट गर्न थाले। यस समयमा व्यापारीले उच्च गतिमा बिक्री गर्न थाल्यो, जसका कारण व्यवसायिक क्षेत्रले यस दिनलाई विशेष मान्न थाल्यो।
“ब्ल्याक फ्राइडे” नामको प्रयोग पहिलो पटक फिलाडेल्फिया शहरमा भएको थियो। त्यो समयमा थ्याङ्क्सगिभिङपछि बजारमा भीडभाड र ट्राफिक व्यवस्थापन गर्न पुलिसले यो शब्द प्रयोग गरेका थिए।
व्यापार व्यवसायले घाटा (रेड इंक) बाट नाफा (ब्ल्याक इंक) मा परिवर्तन हुने दिनलाई ब्ल्याक फ्राइडे मानिएको छ।
ब्ल्याक फ्राइडे मुख्य रूपमा ठूलो छुट र अफरका लागि परिचित छ। यस दिन व्यवसायीहरूले विशेष छूट र प्रचारात्मक अफर दिन्छन्।