विश्वकप फुटबल : एक्लो विनिसियसको भरमा ब्राजिल कहिलेसम्म ?
मोरक्कोविरुद्ध ब्राजिल फिक्का
कार्लाल, पेन्सिलभेनिया / ब्राजिलियन स्टार खेलाडी विनिसियस जुनियरले जारी विश्वकप फुटबलमा उत्कृष्ट खेलाडी बन्न नआएको बताएका छन् ।
उनले प्रतियोगिताको पहिलो खेलको पूर्व सन्ध्यामा बोल्दै ब्राजिललाई फेरि विश्व फुटबलको शिखरमा पुर्याउन आएको प्रतिक्रिया दिएका थिए । साथै, उनले आफ्नो भनाइलाई मैदानमा प्रमाणित समेत गरे।
न्यू जर्सी–न्युयोर्क स्टेडियममा भएको खेलमा मोरक्कोविरुद्ध ब्राजिल १–० ले पछाडि परेको अवस्थामा विनिसियसले अद्भुत गोल गर्दै टोलीलाई बराबरी दिलाए।
ब्रुनो गुइमाराएसको पास पाएपछि पेनाल्टी क्षेत्रको बायाँ भागबाट बल नियन्त्रण गरेका विनिसियसले भित्रतिर कट गर्दै दायाँ खुट्टाले शक्तिशाली प्रहार गरे। बल जालीको माथिल्लो कुनामा पुग्यो र ब्राजिललाई खेलमा फर्कायो।
यो गोल विश्वकपकै स्तरअनुसारको उत्कृष्ट क्षण थियो । जसले ब्राजिललाई सन् १९३४ पछि पहिलो पटक उद्घाटन खेल हार्ने स्थितिबाट बचाएको थियो ।त्यसपछि पनि ब्राजिलले विजयी गोल गर्न सकेन र खेल १–१ को बराबरीमा समाप्त भयो।
दुवै टोलीले खेल बराबरी खेल्दै समान १-१ अंक बाडेपछि ब्राजिलका खेल समर्थकहरु निराश भएका थिए । सन् २०२२ मा अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भए पनि अन्ततः विश्वकप जित्न सफल भएको उदाहरण अझै ताजा छ।
सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्य राखेको ब्राजिल अझै पनि नकआउट चरणमा पुग्ने बलियो दाबेदार मानिन्छ। समूह चरणमा अब ब्राजिलले फिलाडेल्फियामा हैटी र मियामीमा स्कटल्यान्डसँग खेल्नेछ।
मोरक्कोविरुद्ध लामो समयसम्म ब्राजिल दोस्रो दर्जाको टोली जस्तो देखिएको तथ्य चिन्ताजनक रह्यो। पेले, रोनाल्डो, रोनाल्डिन्हो र जिको जस्ता महान खेलाडी उत्पादन गरेको देशबाट अपेक्षित आकर्षक खेल देखिएन।
टोलीमा विंगरहरूको सङ्ख्या धेरै भए पनि मिडफिल्ड कमजोर देखिएको छ। ३४ वर्षीय कासेमिरो गर्मीका कारण सङ्घर्षरत देखिए र हाफ टाइममै प्रतिस्थापित भए। मोरक्कोले इस्माइल सैबारीको गोलमार्फत अग्रता लिएपछि खेल नियन्त्रणमा राखेको थियो।
पूर्व उरुग्वे तथा चेल्सीका मिडफिल्डर गस पोयेटले भने, ‘हामीले ब्राजिलबाट अझ राम्रो प्रदर्शनको अपेक्षा गरेका थियौँ। उनीहरू प्राविधिक रूपमा निकै कमजोर देखिए। साधारण पासहरू समेत सही रूपमा दिन सकेनन्।’
एन्सेलोट्टीको पहिलो विश्वकप खेल निराशाजनक
६७ वर्षीय कार्लो एन्सेलोट्टीका लागि यो मुख्य प्रशिक्षकका रूपमा पहिलो विश्वकप खेल थियो।
खेलअघि उनले यसलाई, ‘मेरो जीवनको सुन्दर क्षण भनेका थिए। तर, खेलपछि भने टोलीको प्रदर्शनका लागि माफी माग्नुपर्यो। ‘हामीले आशा गरेजस्तो राम्रो खेल्न सकेनौं, त्यसका लागि म क्षमा चाहन्छु’. एन्सेलोट्टीले भने।
ब्राजिलको कमजोर छनोट अभियानपछि उनलाई टोलीको जिम्मेवारी दिइएको थियो। दक्षिण अमेरिकी छनोटमा ब्राजिलले १८ खेलमध्ये ६ खेल हारेको थियो र पाँचौँ स्थानमा रहेर मात्रै विश्वकपमा स्थान बनाएको थियो।
एन्सेलोट्टीले भने,’यो विश्वकपको पहिलो खेल हो। नतिजा खराब होइन, तर हामीले अझ सुधार गर्नुपर्छ। टोली सन्तुलित हुनुपर्छ र अझ आक्रामक खेल्नुपर्छ।’
विनिसियसले खेलअघि भनेका थिए, ‘यो मेरो जीवन र करियरकै सबैभन्दा महत्वपूर्ण समय हो। एन्सेलोट्टीले मलाई पूर्ण विश्वास दिएको छ। म राष्ट्रिय टोलीका लागि पनि रियल म्याड्रिडमा जस्तै योगदान दिन चाहन्छु।’
यद्यपि मोरक्कोविरुद्ध ब्राजिल अपेक्षाअनुसार सफल हुन सकेन। २४ वर्ष लामो उपाधि खडेरी यस पटक पनि अन्त्य भएन भने, विश्व फुटबलको सबैभन्दा सफल राष्ट्रले आफ्नो भविष्यबारे गम्भीर प्रश्नहरूको सामना गर्नुपर्नेछ।
तस्विर सौजन्य : फिफा

















