रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ ।
लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि विहीबार पोखराबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याउदा त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलमा लामिछानेका समर्थकहरुले नारावाजी गरेका छन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनलाई बयानका लागि यसअघि पोखराबाट रुपन्देही लगेर पुनः पोखरा नै लगिएको थियो ।
जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ ।