नेपालको क्रेडिट रेटिङ बीबी माइनसले सरकार उत्साहित
काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको बताए ।
उनले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको बताउँदै यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतमदेखि अधिकतमसम्म रेटिङ प्रदान गर्ने गरिन्छ ।
रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषण गरिएको थियो ।
त्यसका साथै गुणात्मक मूल्याङ्कनको चरणअन्तर्गत नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारसँग परामर्श र छलफल गरेको थियो ।
साथै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरिएको थियो । नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालिन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमूनाका रुपमा नागढुङ्गा सुरुङमार्गको अवलोकन समेत गरेको थियो ।
सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनका आधारका रुपमा लिने मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । त्यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्याउने उनको भनाइ छ ।
यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीका रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने बताए ।
के हो क्रेडिट रेटिङ
क्रेडिट रेटिङले कुनै आसामीको ऋण तिर्न सक्ने क्षमता मूल्याङ्कन गर्दछ । क्रेडिट रेटिङ एजेन्सीले व्यवसाय वा सरकारको ऋण तिर्न सक्ने क्षमता वा टाट पल्टिन सक्ने सम्भावनाको अध्ययन र मूल्याङ्कन गर्दछ । यस्ता एजेन्सीहरूले कम्पनी र सरकारका गुणात्मक तथा सङ्ख्यात्मक सूचनाका आधारमा तिनीहरूको साख रेटिङ गरिन्छ । रेटिङ एजेन्सीहरूले सर्वसाधारण, सम्बन्धित कम्पनी वा सरकारबाट प्राप्त सूचना र जानकारीका आधारमा मूल्याङ्कन गर्दछन् ।
क्रेडिट रेटिङ पूर्णरूपमा गणितीय सूत्रका आधारमा मूल्याङ्कन गरिँदैन । रेटिङ एजेन्सीहरूले अनुमान, मूल्याङ्कनसम्बन्धी कम्पनी, सरकार तथा सर्वसाधारणबाट प्राप्त सूचनाका आधारमा रेटिङ गरिन्छ ।
क्रेडिट रेटिङ एजेन्सीद्वारा गरिएको रेटिङले व्यक्तिगत वा संस्थागत लगानीकर्तालाई कुनै कम्पनीद्वारा जारी गरिएको धितोपत्र वा सरकारद्वारा जारी गरेको ऋणपत्र किन र कत्तिको लाभदायक छ भनेर सुसूचित गर्दछ । यस्ता रेटिङले कुनै कम्पनी वा सरकार पनि टाट पल्टिन सक्ने वा दायित्व वहन गर्न नसक्ने अवस्थामा पुग्न सक्ने सम्भावनाबारे स्पष्ट रूपले लगानीकर्तालाई सङ्केत गर्दछ ।
क्रेडिट रेटिङ एजेन्सीहरूले कम्पनीको इतिहास र लामो अवधिको आर्थिक अवसरका आधारमा विश्लेषण गर्दा खराब रेटिङ देखिएमा त्यस्ता कम्पनी वा सरकार टाट पल्टिने अवस्थामा पूर्ण जोखीम रूपले (हाई रिक्स अफ डिफल्टिङ) पुगेको मानिन्छ ।
रेटिङ एजेन्सीले छोटो अवधिको कम्पनीको पनि रेटिङ गर्दछ । छोटा अवधिका रेटिङले कुनै कम्पनी १ वर्षको अवधिभित्र टाट पल्टिन सक्ने सम्भावनाको विश्लेषण गर्दछ । विगतमा संस्थागत लगानीकर्ताहरू लामो अवधिका लागि गरिएको रेटिङलाई ध्यान दिने गर्दथे । तर, हाल कम्पनीको छोटो अवधिलाई गरिएको रेटिङलाई नै प्राथमिकता दिने गरिएको पाइन्छ ।
सर्वप्रथम बैङ्कको रेटिङ अपरिहार्यता ‘बासेल–टू’ लागू भएपछि शुरू भएको हो । ‘बासेल–थ्री’ मापदण्डअनुसार पूँजी पर्याप्तताका लागि बैङ्कले आफ्नो रेटिङ गराउन सक्छ । यस्तै, रेटिङ प्रतिवेदनले धेरै सङ्गठित लगानीकर्तालाई आफ्नो पोर्टफोलियोमा बैङ्क कर्जा तथा ऋणपत्र (बण्ड) को हिस्सा मासिक वा त्रैमासिक रूपमा समायोजन गर्न पनि सहयोग गर्दछ । त्यसैले, रेटिङ एजेन्सीहरूले साधारणतया कम्पनीका छोटो अवधिको रेटिङ गर्ने गर्छन् ।
क्रेडिट रेटिङले ‘पोटेन्सियल’ लगानीकर्ताहरूलाई ऋणपत्रमा लगानी गर्न कुनै पनि संस्थाको वित्तीय परिसूचकका रूपमा प्रयोग गर्न सक्दछ । क्रेडिट रेटिङमा कुनै पनि सङ्गठनको रेटिङ नभएर उक्त सङ्गठनद्वारा जारी गरिएका वित्तीय साधनको मात्र मूल्याङ्कन गरिन्छ । विश्वका प्रतिष्ठित रेटिङ एजेन्सीहरूमा स्ट्याण्डर्ड एण्ड पुअर्स, मुडिज, फिच्च, एएम वेष्ट तथा डन एण्ड ब्राण्डस्ट्रिटहरू पर्दछन् ।