ह्यारिसबर्गमा सडक दुर्घटनामा पक्राउ परेका चन्द्र बस्नेत जेल चलान
ह्यारिसबर्ग पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सडक दुर्घटनामा पक्राउ गरेका चन्द्र बहादुर बस्नेत एक लाख डलर धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्।
बस्नेतलाई तीव्र गतिमा गाडी चलाएर सडक दुर्घटना गराएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई मादक पदार्थ सेवन गरि (डियूआई) गाडी चलाएको आरोप पनि लागेको छ ।
२९ वर्षीय बस्नेतलाई डाउपीन काउन्टी जेल चलान गरिएको प्रहरीले जनाएको छ।
बस्नेत माथि अत्यधिक तीव्र गतिमा र मापसे गरेर गम्भीर दुर्घटना गराएको आरोप लागेको छ। लोअर प्याक्सटन टाउनसिप प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनासाथ उनलाई जुन ३ मा पक्राउ गरिएको थियो ।
दुर्घटना पेन्सिलभेनिया राज्यको डाउपीन काउन्टी स्थित लिङ्गलसटाउन रोडमा मे ३० तारिख भएको प्रहरीले जनाएको छ । साँझ करिब ६:३० बजे दुर्घटना भएको थियो । बस्नेतको लापरबाहीपूर्ण ड्राइभिङका कारण भएको दुर्घटनामा परेर अर्को गाडीमा सवार एक महिला र १४ वर्षीय किशोर गम्भीर रूपमा घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त सडकमा ४५ को स्पिड लिमिट भएकोमा बस्नेतले एक सय माइलका दरले गाडी चलाएको प्रहरीको भनाई छ ।
प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणका क्रममा बस्नेतको शरीरमा अल्कोहलको मात्रा कानुनी रूपमा तोकिएको सीमा भन्दा ३ गुणा बढी पाइएको थियो। यसका साथै उनको शरीरमा प्रतिबन्धित लागु औषध समेत फेला परेको प्रहरीले पुष्टि गरेको छ।
बस्नेतसहित तिनै जनालाई उपचारका लागि हर्सि मेडिकल सेन्टर पुर्याइएको थियो । प्रहरीले बस्नेतको फोटो सार्वजनिक गर्दै उनी विरुद्ध कुल ११ वटा कानुनी धाराहरू अन्तर्गत मुद्दा दायर गरेको छ।
डियुवाई र र लागु औषध सेवन गरी गाडी चलाएर अङ्गभङ्ग गराएको, लाइसेन्स बिना वा निलम्बन भएको अवस्थामा गाडी चलाएको र सर्वसाधारणको ज्यान जोखिममा पारेको लगायतका मुद्दा लगाइएको छ ।
जेलमा रहेका बस्नेतको पहिलो अदालती सुनुवाइ जुन २५ मा हुने जनाइएको छ ।
फक्स ४३ न्युजका अनुसार बस्नेत यस अगाडि ओहायोमा बस्दै आएका थिए । उनको ड्राइभिङ लाइसेन्स ओहायो राज्यको रहेको र अहिले निलम्बनको अवस्थामा थियो।
यस्तै बस्नेतले प्रहरीलाई दिएको बयान अनुसार उनी ओहायोमा डियुआई मुद्दामा १४ महिनाको जेल सजाय काटेर गत वर्ष मात्रै जेलबाट छुटेका थिए।

















