मोन्टगोमरी काउन्टीले बालबालिकाका लागि ‘ट्राफिक गार्डेन’ सञ्चालनमा ल्याउँदै
नोरिस्टाउन, पेन्सिलभेनिया / पेन्सिल्भेनियाको मोन्टगोमरी काउन्टीको स्वास्थ्य तथा मानव सेवा विभाग ( एचएचएस) अन्तर्गतको जनस्वास्थ्य कार्यालय (ओपीएच ) र चेल्तेनहम टाउनसिपले थॉमस विलियम्स पार्कमा एक नयाँ ‘ट्राफिक गार्डेन’ सञ्चालनमा ल्याउँदैछन्। यसले बालबालिकाहरूलाई सुरक्षित र व्यावहारिक रूपमा सडक सुरक्षाका नियमहरू सिक्ने अवसर प्रदान गर्नेछ।
नयाँ पार्क क्षेत्रले बालबालिकाहरूलाई खेलकै माध्यमबाट सडक सुरक्षा सिक्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यस ट्राफिक गार्डेनमा बालबालिका अनुकूल पार्कको वातावरण भित्र वास्तविक संसारका ट्राफिक तत्त्वहरू समावेश गरिएका छन्।
यस कार्यक्रमको भव्य उद्घाटनमा सहभागी हुन समुदायका सबैलाई आमन्त्रित गरिएको छ। काउन्टीका अनुसार उद्घाटन कार्यक्रम जुन ७ तारिख आइतवार दिउँसो ४:०० बजेदेखि ५:०० बजेसम्म थॉमस विलियम्स पार्कमा हुने छ ।
‘यस अवसरमा जनस्वास्थ्य कार्यालयले नि:शुल्क साइकल हेल्मेट वितरण गर्नुका साथै साइकल चलाउने, पैदल हिँड्ने, कारको बाल सिट र किशोर-किशोरीहरूको सवारी चालक सुरक्षा सम्बन्धी जानकारीमूलक सामग्रीहरू उपलब्ध गराउने छ।’ काउन्टीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
उद्घाटन कार्यक्रम लगत्तै साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म ‘ब्रायन पार ट्रायो’ को सांगीतिक कन्सर्ट पनि आयोजना गरिनेछ।
यस ट्राफिक गार्डेनमा बालबालिकाहरूको आकार अनुकूल सानो सडक सञ्जाल बनाइएको छ, जसमा रंगाइएका सडकहरू, चोकहरू, स्टप साइनहरू र एउटा राउन्डअबाउट रहेका छन्।
यो क्षेत्र पूर्ण रूपमा गाडीहरू निषेधित छ र बालबालिकाहरूलाई सडकमा आफ्नो आत्मविश्वास बढाउँदै सुरक्षित रूपमा साइकल चलाउन र पैदल हिँड्ने अभ्यास गर्न मद्दत गर्ने गरी डिजाइन गरिएको छ।
‘यस गार्डेनमा आगामी दिनहरूमा सुरक्षा शिक्षा सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ र यो पार्कको नियमित समयमा सर्वसाधारणका लागि खुला रहनेछ।’ काउन्टीको विज्ञप्तीमा भनिएको छ ।
यो परियोजना पेन्सिलभेनिया यातायात विभाग ( पेनडट) को ‘कम्युनिटी ट्राफिक सेफ्टी प्रोजेक्ट’ अनुदानद्वारा निर्वाण भएको काउन्टीले जनाएको छ ।

















