ओहायो मेडिकेड ठगी : १४ जनामाथि आरोप
कोलम्बस, ओहायो / अमेरिकी न्याय विभाग (डीओजी) द्वारा ओहायोमा मेडिकेड ठगी विरुद्ध व्यापक कारबाही सुरु गरिएको छ । विभागले ५० मिलियन (५ करोड) डलरको घोटाला योजनामा १४ जनामाथि आरोप लगाएको छ।
विभागले राज्यका दुई कर्मचारी र दुई सहयोगी पनि यो योजनामा संलग्न भएको बताएको छ । उनीहरुले सेवा प्रदान नै नगरिएकाहरूका लागि बिल बनाएको आरोप छ।
अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्च र एफबीआई निर्देशक काश पटेललगायत संघीय नेताहरूले कोलम्बास्थित डिफेन्स सप्लाई सेन्टरमा बिहीबार यस पहलको घोषणा गरेका हुन्।
अभियोग लागेका व्यक्तिहरू व्यवहारसम्बन्धी स्वास्थ्य सेवा ठगी, सरकारी कार्यक्रम ठगी र उपभोक्ता ठगी लगायतका अन्य योजनाहरूमा संलग्न रहेको आरोप छ।
“ओहायोले देशकै सबैभन्दा ठुला ठगी योजनाहरूको सामना गरिरहेको छ,” ब्लान्चले भने। “यस संकटको सामना गर्न हाम्रो प्रतिक्रिया आक्रामक र व्यापक रहेको छ र रहनेछ। हामी यो समस्या समाधान नगरेसम्म रोकिने छैनौँ।”
ब्लान्चले यस पहललाई “सबै संयन्त्रहरू पूर्ण रूपमा सक्रिय भएको एक एकीकृत, राज्य व्यापी ठगी विरुद्धको अभियान” भनेका छन्।
संघीय र राज्य अधिकारीहरूले ठगी पहिचान र अभियोजनमा सुधार गर्नका लागि एउटा राउन्ड टेबल पनि सुरु गरेका छन्, जसमा राज्यको कर्पोरेट दर्ता डेटामा पहुँच प्रदान गर्ने डेटा-सेयरिङ सम्झौता समेत समावेश छ।
एफबीआईले फरार ठगीकर्ताहरूलाई सार्वजनिक गर्न एक नयाँ “एफबीआई मस्ट वान्टेड फ्रडस्टर्स” सूची पनि स्थापना गरेको छ।
पटेलले यो सूचीले “करदाताको लाखौँ डलर चोर्ने केही सबैभन्दा खराब अपराधीहरू” लाई प्रतिनिधित्व गर्ने बताए।
ओहायोका गभर्नर माइक डिजाइनले यस घोषणाको बारेमा एक्समा पोस्ट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प, न्याय विभाग र अन्य संघीय नेताहरूलाई उनको प्रशासनसँग साझेदारी गरेकोमा धन्यवाद दिएका छन्:
“वर्षौँदेखि ओहायो मेडिकेड ठगीकर्ताहरूमाथि मुद्दा चलाउने र दोषी ठहर गर्ने सवालमा देशकै अग्रणी राज्यहरूमध्ये एक हो, जहाँ २०११ देखि २२ सय भन्दा बढी मुद्दाहरू दर्ता भएका छन्। आजको घोषणा हाम्रो निरन्तर कामको निरन्तरता र संघीय कानून कार्यान्वयन निकायसँग ओहायोको उत्कृष्ट साझेदारीको परिणाम हो,” पोस्टमा भनिएको छ।
विभागले ओहायोमा ठगीविरुद्धको लडाइँमा संघीय–राज्य सहकार्यको घोषणा गरेको छ।
‘यसमा ठगी पहिचान र अभियोजनलाई अझ प्रभावकारी बनाउन साझेदारी तथा डेटा साझेदारी सम्झौता, ४२ मिलियन डलरभन्दा बढीको ठगीमा संलग्न रहेको आरोपमा ९ जनाविरुद्ध संघीय तथा राज्य स्तरीय अभियोग, थप १५ मिलियन डलरको ठगी योजनासँग सम्बन्धित तीन जना प्रतिवादीको हिरासत आदेश, दुई जना प्रतिवादीको प्रत्यर्पण प्रक्रिया, तथा एफबीआईको “मोस्ट वान्टेड फ्रडस्टर्स” सूचीको सुरुवात समावेश छ।’ विभागको सूचनामा भनिएको छ ।
व्यवहारिक स्वास्थ्य सेवा ठगी
दक्षिणी ओहायोमा चार जनामाथि ३० मिलियन डलरभन्दा बढीको व्यवहारिक स्वास्थ्य सेवा ठगी गरेको आरोप लगाइएको छ।
प्रतिवादीहरूले समरक्याम्प, चर्च समूह र मनोरञ्जन कार्यक्रमहरूमा सहभागी बालबालिका तथा युवालाई उपचारात्मक व्यवहारिक सेवा र मनोचिकित्सा सेवा दिएको दाबी गर्दै मेडिकेडमा झुटा बिल पेश गरेको आरोप छ।
उनीहरूले चिकित्सकीय रूपमा आवश्यक नभएका तथा वास्तवमा नदिइएका सेवाको दाबी गरेको अभियोगमा उल्लेख छ।
विभागले ४६९ हजार डलर रहेको ३ बैंक खाता र ८ लाख डलर मूल्यका १४ सवारी साधन जफत
गरिएको जनाएको छ।
जफत गरिएका सवारी साधनहरूमा ६ वटा मर्सिडिज बेन्ज, ल्यान्ड रोभर दुई वटा र बेन्ट्ली, बीएमडब्लु, जगुआर, मासेराटी, ल्यान्ड रोभर, जीएमसी र १ म्याक्लारेन समावेश छन्।
सरकारी कार्यक्रम ठगी
दक्षिणी ओहायोमा चार जनामाथि कोविड–१९ राहत कोषअन्तर्गत १.४ मिलियन डलरभन्दा बढी रकम ठगी गरेको आरोप लगाइएको छ।
उनीहरूले विभिन्न व्यवसायको नाममा झुटा पेचेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) ऋण आवेदन तथा ऋण माफी आवेदन पेश गरी रकम प्राप्त गरेको आरोप छ।
उपभोक्ता ठगी
घानाका पाँच जनामाथि १५ मिलियन डलरभन्दा बढीको रोमान्स स्क्याम सञ्चालन गरेको आरोप लगाइएको छ।
अभियोग अनुसार जुलाई २०२४ देखि अप्रिल २०२६ सम्म उनीहरूले डेटिङ वेबसाइट र सामाजिक सञ्जालमार्फत वृद्ध अमेरिकीहरूलाई लक्षित गरी प्रेम सम्बन्धको झुटो कथा बनाएका थिए।
एआई आधारित भिडियो प्रविधि प्रयोग गरी उनीहरूले नक्कली महिला परिचयमार्फत पीडितहरूलाई विश्वास दिलाएका थिए।
घानामा गरिएको कारबाहीमा ३ मिलियन डलरभन्दा बढी मूल्यका सम्पत्ति जफत गरिएको छ ।
एफबीआईको “मोस्ट वान्टेड फ्रडस्टर्स” सूची
स्वास्थ्य सेवा, सरकारी कार्यक्रम तथा अन्य ठगी योजनाविरुद्धको अभियानलाई सशक्त बनाउन एफबीआईले “मोस्ट वान्टेड फ्रडस्टर्स” कार्यक्रम सुरु गरेको छ।
यस सूचीमार्फत फरार ठगी अभियुक्तहरूको सार्वजनिक विवरण प्रकाशित गरिनेछ र नागरिकको सहयोगमा उनीहरूलाई पक्राउ गरिनेछ।

















