‘पूर्ण बहादुरको सारङ्गी’ले देशबाहिर पनि बनायो रेकर्ड
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केट अर्थात देश बाहिर पनि नयाँ नयाँ रेकर्ड बनाएको छ ।
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र सबैभन्दा धेरै दैनिक र साप्ताहिक शो पाउने सिनेमा, अधिकांश शो शोल्डआउट हुने सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाइसकेको छ ।
नेपाली बक्सअफिसमा यी रेकर्ड बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ले देश बाहिर पनि रेकर्ड बनाउन सुरु गरेको हो ।
विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।
यस्तै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ । अहिले विश्वका विभिन्न सहरमा चलचित्र प्रदर्शन भइरहेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले १४ दिनमो नेपाली बक्सअफिसमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
यसैबीच, चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका २० वटा हलबाट उतारिने भएको छ । मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।
ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै निर्माणपक्षले २० वटा हलमा भोलिबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नगर्ने जनाएको छ । हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनी सेभेन सिस सिनेमाले जनाएको छ ।
अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, द्वारिका हल, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा भोलि (शनिबार)देखि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नहुने निर्माणपक्षले जनाएको छ ।