हाम्रा साथीहरूलाई मुद्दा लाग्दा कहिल्यै होहल्ला गरेनौं : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गरेका छन्।
आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमा कुनै समस्या नरहेको र यो सरकारले पूरै कार्यकाल सञ्चालन गर्ने विश्वास व्यक्त गरेका हुन् ।
देउवाले सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा आफ्नो धारणा राख्दै भने, “हाम्रा साथीहरूलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं। यो विषय अदालती प्रक्रियामा रहेको छ।”
सभापति देउवा आफ्नै गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी पुगेका हुन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला र गन्यापधुरा गाउँपालिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।