कोसी प्रदेशका पूर्व मन्त्री अधिकारी पक्राउ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ। अधिकारीलाई जापानमा मानव तस्करीको गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनअघि जापानको टोकियो विमानस्थलबाट फिर्ता गरिएको थियो। उनलाई नेपाल फर्किएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको हो।
अधिकारीसँगै तीन जना अन्य व्यक्तिहरू पनि सोही मन्त्रालयको नक्कली परिचयपत्र बनाएर जापान उडेका थिए। उनीहरूलाई जापानी अधिकारीहरूले शंका गरेपछि रोक लगाई फर्काइएको हो। मानव तस्करीको गम्भीर आरोप लागेपछि अधिकारीमाथि थप अनुसन्धान अगाडि बढाइएको छ।
नेपाल फर्किएलगत्तै अधिकारीले कानुनमन्त्री पदबाट राजीनामा दिएका छन्। उनको राजनीतिक पार्टी, नेकपा एमाले, ले पनि शनिबार उनलाई पार्टीबाट निलम्बन गरेको छ। पार्टीले उनलाई न्यायिक प्रक्रियालाई साथ दिने बताएको छ भने मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भए कानुनी कारबाही गर्नुपर्ने अडान लिएको छ।
नेपाल प्रहरीका उच्च अधिकारीहरूले मानव तस्करीसँग सम्बन्धित यो मामिलामा गहन छानबिन गरिरहेको बताएका छन्। जापानमा रहेका अधिकारीको गतिविधि, उनीसँगै उड्ने अन्य व्यक्तिहरूको परिचय र अन्य संलग्नहरूको बारेमा विस्तृत जानकारी निकालिने बताइएको छ।








