अमेरिकाको पहिलो महिला चिफ अफ स्टाफ बन्दै सुसि वाइल्स
पेन्सिल्भेनिया । अमेरिकी इतिहासमा पहिलो पटक डोनाल्ड ट्रम्पले आफ्नो ह्वाइट हाउसको चिफ अफ स्टाफको जिम्मेवारी महिला सहयोगी सुसि वाइल्सलाई दिएका छन्। वाइल्सले ट्रम्पको तेस्रो राष्ट्रपतीय अभियान (निर्वाचित दोस्रो)लाई सफल बनाउन पर्दा पछाडिबाट महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।
सुसि वाइल्स ६७ वर्षकी छन् र उनी एक शांत, प्रभावशाली र योजनाबद्ध रणनीतिकारको रूपमा परिचित छिन्। वाइल्स लामो समयदेखि ट्रम्पको निकट सहयोगी रहँदै आइरहेकी छिन्, र उनको कार्यशैलीले ट्रम्पको राजनीतिक अभियानमा अनुशासन र स्थिरता ल्याएको विश्वास गरिएको छ। यसैले उनलाई ‘आइस मेडेन’ को उपनाम दिइएको छ। वाइल्सलाई ट्रम्पको राजनीतिक संयन्त्रलाई व्यवस्थित बनाउने र आदेश दिने क्षमताका कारण सम्मान र डरले हेरिन्छ।
सुसि वाइल्सको राजनीतिक यात्रा निकै लामो र विविध छ। खेलकुदको क्षेत्रमा प्रशिद्ध रहेकी वाइल्सका बुबा प्याट समरअल पूर्व एनएफएल खेलकुद उद्घोषक थिए। वाइल्सले आफ्नो राजनीतिक यात्रा अमेरिकी कांग्रेस सदस्य ज्याक केम्पसँग सहायकको रूपमा सुरु गरेकी थिइन्। उनी यस अघि पूर्व राष्ट्रपति रोनाल्ड रेगनको सन् १९८० को राष्ट्रपतीय अभियानमा र पछि उनको प्रशासनमा समेत काम गरेकी थिइन्।
वाइल्सले फ्लोरिडामा राज्यपाल रिक स्कटको राजनीतिक अभियानलाई समेत सफलतासाथ अघि बढाएकी थिइन्। तर, उनले डोनाल्ड ट्रम्पसँगको सहकार्यलाई आफ्नो राजनीतिक करियरको सबैभन्दा प्रभावशाली समयका रूपमा लिएकी छिन्। सन् २०१६ मा ट्रम्पको राष्ट्रपतीय अभियानका लागि उनले फ्लोरिडामा ट्रम्पको अभियानलाई बलियो बनाएकी थिइन् र ट्रम्पलाई जिताउन भूमिका खेलेकी थिइन्। यो सफलताले उनलाई ‘सनशाइन स्टेट’ मा राजनीतिक रणनीतिकारका रूपमा उच्च स्थानमा पुर्यायो।
तर, यो सहकार्य सधैं सहज भने थिएन। ट्रम्पको अस्थिर व्यवहारका कारण केही समयमा उनले सहयोगीको रूपमा चुनौतीको सामना गरेकी थिइन्। चुनावको अन्तिम समयमा ट्रम्पले फ्लोरिडामा हार्ने सम्भावनाका लागि वाइल्सलाई दोष दिएपछि उनले उक्त भूमिका छोड्ने निर्णयसमेत गरेकी थिइन्। तर, ट्रम्पले चुनाव जितेपछि उनले वाइल्सलाई फेरि आफ्नो नजिकै राखेका थिए।
अब सुसि वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफको रूपमा ट्रम्पलाई सहयोग गर्नेछिन्। यो पदले उनलाई ट्रम्पको सबैभन्दा विश्वस्त सल्लाहकारको रूपमा स्थापित गरेको छ। उनलाई यो भूमिकामा चयन गर्नुले ट्रम्पको प्रशासनिक शैलीमा केही परिवर्तन आउने संकेत दिएको छ। वाइल्सको नेतृत्वले ट्रम्पको कार्यालयमा अनुशासन ल्याउने अपेक्षा गरिएको छ। फ्लोरिडाका सांसद जारेड मोस्कोविट्ज जस्ता डेमोक्र्याटिक नेताहरूले समेत उनलाई “चतुर, कडा र रणनीतिक” भनेका छन्।
उनको कार्यशैलीले उनलाई ट्रम्पको नजिक बनाएको छ। उनी धेरै हदसम्म ट्रम्पको भावनालाई बुझ्न र उनको विचारसँग तालमेल मिलाउन सक्षम भएकी छिन्। यद्यपि, वाइल्स आफ्नो भूमिकामा परम्परागत चिफ अफ स्टाफभन्दा फरक रहिरहनेछिन्। उनी ह्वाइट हाउसमा आफ्नो पहुँचलाई कडाइका साथ व्यवस्थापन गर्नेछिन् र ट्रम्पलाई अनावश्यक सल्लाहकार र अन्य प्रभावहरूबाट जोगाउने प्रयास गर्नेछिन्।
यस भूमिकामा सुसि वाइल्सलाई धेरै ठूलो चुनौतीको सामना गर्नु पर्नेछ। ट्रम्पको पूर्व कार्यकालमा चिफ अफ स्टाफहरूले धेरै कठिन समय भोगेका थिए, जहाँ परिवारका सदस्यहरू र अन्य अनौपचारिक सल्लाहकारहरूले उनलाई प्रभावित गर्न प्रयास गरेका थिए। यसपटक, वाइल्सलाई आफ्नो पावर प्रयोग गरेर यो चुनौतीलाई नियन्त्रणमा राख्नुपर्नेछ।
तर, इतिहासले देखाएको छ कि ट्रम्पको प्रशासनमा चिफ अफ स्टाफहरूको कार्यकाल लामो हुँदैन। यो चुनौतीपूर्ण भूमिकामा उनी कति समय टिक्छिन् भन्ने कुरा भने भविष्यले देखाउनेछ।
सुसि वाइल्सको राजनीतिक यात्रा र उनको शान्त तर प्रभावशाली कार्यशैलीले उनलाई ट्रम्पको सबैभन्दा भरोसालाग्दो सहयोगीका रूपमा उभ्याएको छ। अब ह्वाइट हाउसमा पनि यो विश्वासलाई कायम राख्न र आफ्नो भूमिकामा सफल रहन उनले आफ्ना रणनीतिहरूलाई अझ मजबुत बनाउनु पर्नेछ। सीएनएनबाट