रास्वापा दिनभर विरोध राति प्रधानमन्त्रीको शरणमा : रिजाल
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न आग्रह गरेको दाबी गरेका छन्।
उनले आफ्नो फेसबुकमा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सार्वजनिक रूपमा प्रधानमन्त्रीको आलोचना गर्ने तर राति बालुवाटार पुगेर लामिछानेको मुद्दा फिर्ता गर्न आग्रह गरेको भन्दै प्रश्न उठाएका छन्।
रिजालले फेसबुकमा लेखेका छन्, “दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति-राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो लौ न’भनेर हारगुहार गर्दा हुन्?”
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको रवैयाप्रति प्रश्न उठाउँदै राजनीति र आचरणमा दोहोरो मापदण्ड देखिएको बताएका छन्। रिजालले उक्त घटनालाई राजनीतिक मञ्चमा नैतिकताको संकटको रूपमा पनि व्याख्या गरेका छन्। प्रधानमन्त्री ओलीलाई खुलेआम गाली गर्ने तर आफ्ना स्वार्थका लागि प्रधानमन्त्रीकै शरणमा पुगेर लामिछानेको पक्षमा पैरवी गर्न खोज्ने प्रवृत्तिप्रति उनले असन्तोष प्रकट गरेका छन्।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबीचको सम्बन्धमा पछिल्लो समय चिसोपना देखिएको छ भने रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दाले राजनीतिक वृत्तमा ठूलो चर्चा पाएको छ।