नेपाल संवत् मौलिक संवत् हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको मौलिक संवत् भएको बताएका छन्।
नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा आज पाटन मंगलबजारमा आयोजित ‘न्हूदँ ने.सं. ११४५’ सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् विदेशी प्रभावबाट नभई नेपाली मौलिकतामा आधारित भएको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति विश्वकै मौलिक संस्कृति हो। यो संवत् ऋणमोचनको अवसरमा सुरु भएको हाम्रो आफ्नै मौलिक संवत् हो। नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छन्, त्यसैले हाम्रा सबै भाषा र संस्कृतिलाई बचाउनुपर्छ।’
२०२७ सालमा काठमाडौं आएका प्रधानमन्त्री ओलीले आफूलाई काठमाडौंकै बासिन्दा ठानेको बताए। उनले यहाँको भाषा र संस्कृतिप्रति विशेष प्रेम रहेको उल्लेख गरे। ओलीले भने, ‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आउँदैन। नेपाल भाषा बोल्न नसक्दा पनि यसप्रति मेरो प्रेम छ। हामीले सबै भाषा र संस्कृति बचाउनुपर्छ।’
ओलीले माध्यमिक तहमा ऐच्छिक विषयको रूपमा मातृभाषा पाठ्यक्रमको मागमा सरकार सकारात्मक रहेको बताए। उनले भाषा र संस्कृतिको प्रवर्द्धन तथा संरक्षण गर्नुपर्नेमा जोड दिँदै हाम्रा परम्परालाई ऐतिहासिक रूपमा कायम राख्नुपर्नेमा जोड दिए।
सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय स्तरमा ऐच्छिक भाषाका रूपमा देशभर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरे।
बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जनले सरकारी कामकाजमा नेपाल भाषा प्रभावकारी बनाउन तीनै तहका सरकारहरूले समन्वयमा काम गर्नुपर्ने बताए।
कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले नेपाल मण्डलका विपन्न जनतालाई ऋणमुक्त गराएको सम्झनामा नेपाल संवत् सुरु गरिएको बताए।
वि.सं. २०५६ मंसिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा तत्कालीन सरकारले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको थियो। पछि, पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याइएको थियो।