उपत्यकामा ‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई ट्राफिक प्रहरीले थप कडाईका साथ अघि बढाएको छ। २०७४ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएपछि यस अभियानलाई पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम र ‘नो हर्न’ स्टिकर टाँस गर्ने जस्ता विभिन्न कार्यक्रममार्फत कार्यान्वयन गरिएको थियो।
हाल भने हर्नको अनावश्यक प्रयोगमा पुनः वृद्धि भएपछि ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) भरत बहादुर बोहराका अनुसार, अनावश्यक हर्न बजाउने प्रवृत्तिलाई निरुत्साहित गर्न कडाईका साथ कारबाही भइरहेको छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखेर कदम उठाइएको हो।
आर्थिक वर्ष ०८०/८१ मा अनावश्यक रूपमा हर्न बजाउने १०,१२३ सवारी साधनलाई कारबाही गरिएको थियो, भने यस आर्थिक वर्षको हालसम्म ९,८३० सवारी साधनलाई कारबाही गरिएको छ।
विशेष परिस्थितिमा, जस्तै घुम्तीमा वा दुर्घटना हुने जोखिमयुक्त स्थानमा मात्रै हर्न बजाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। यस्ता स्थानहरूमा पनि छोटो हर्नको प्रयोग मात्र गर्न सुझाइएको छ।
ध्वनि प्रदूषणले मानिसको श्रवण क्षमता घटाउनुका साथै रक्तचाप, हृदयघात, पक्षघात, स्मरण शक्ति कम हुने, र श्वासप्रश्वास प्रणालीमा असर पुर्याउने जोखिम रहन्छ। साइलेन्सर मोडिफाई गरेर, फिल्टर हटाएर वा प्रेसर हर्न बजाउने सवारी साधनहरूले बढी ध्वनि प्रदूषण फैलाउने गरेको देखिएको छ। ट्राफिक प्रहरीले यस विषयमा थप कडाई गर्ने प्रतिबद्धता जनाएको छ।